गुल्मीमा मनाइयो मगर संघ स्थापना दिवस

गुल्मी ।
गुल्मीमा नेपाल मगर महिला संघको आयोजनामा ४२ औँ मगर संघ स्थापना दिवस एवं मगर एकता दिवस मनाइएको छ । ‘संस्कृति संरक्षण सम्बद्र्धनमा मगरहरूको मूलतन्त्र, मगरात पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने नाराका साथ दिवस मनाईएको थियो ।

सदरमुकाम तम्घासमा आयोजना गरिएको कार्यक्रममा मगर परिकारहरु बिरम्ला, हुरहुरे जाँड, सुँगुरको मासु, ढीडो, कोदोको रक्सी, सिस्नो, बटुक रोटी, सेलरोटी, आलुको अचार, कोदोको रोटी, मकैको आटो, फापरको फुरौला, कुखुराको मासु प्रर्दशनीमा राखिएको थियो ।

कार्यक्रममा धुर्कोट गाउँपालिका –१ स्थित जनजाती नौमती बाजा महिला समुहले नौमती बाजा बजाएको थियो भने रेसुंगा नगरपालिका–११ को प्रख्यात कालिका नाँच समेत देखाइएको थियो । कार्यक्रमको अवसरमा मगर एकता जिन्दवाद, भाषिक समानता कायम गर् जस्ता प्ले कार्ड लिएर मगर समुदायले तम्घास बजारको परिक्रमा समेत गरेका थिए ।

कार्यक्रममा संविधानसभा सदस्य दिलशोभा पुन, गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरी प्रसाद गैरे लगायत सुरक्षा निकायका प्रमुखहरु, विभिन्न वडाका प्रतिनिधिहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै रेसुङ्गा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष निरञ्जन काउछा र समाजसेवी श्रीप्रसाद भलामीले मगर दिवसको अवसरमा बिदा नदिएकोमा रेसुङ्गा नगरपालिकाप्रति आपत्ती जनाएका थिए ।

राष्ट्रिय मगर दिवसको अवसरमा जिल्लाका पाँच पालिकाले मंगलबार सार्वजनिक बिदा दिएका थिए । जिल्लाका मालिका, कालीगण्डकी, चन्द्रकोट, सत्यवती, र गुल्मीदरबार गाउँपालिकाले बिदा दिएका हुन् । खिमा काउछाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शारदा भलामी र मिना घर्तीले गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा