गुल्मी, ११ चैत
गुल्मीमा योग शिक्षाका विद्यार्थी दिक्षित भएका छन् । आइतबार गुल्मी सदरमुकाम तम्घासमा ‘सह–योग शिक्षक प्रमाण पत्र वितरण दीक्षान्त समारोह’को आयोजना गरी पतञ्जली योग समितिले विद्यार्थीहरुलाई दीक्षित गरेको हो । तम्घासको बालमन्दिरमा गत असौज ६ देखि २२ गतेसम्म १२६ घण्टा योगा गराइएको थियो ।
कुल ६२ जना सहभागि रहेकोमा उनीहरुलाई आइतबार दीक्षित गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले स्वास्थ्य संदेशनशिल बिषय भएकोले योगाले मानव विकासमा सहयोग पुग्ने बताए । १२६ घण्टासम्म चलेको तालिममा अर्चना घिमिरे, देव कृपा र लोकनाथ खनालले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । बालमन्दिरमा प्रत्येक दिन बिहान ४ः३० देखि योगा हुने गर्दछन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, प्रहरी उपरीक्षक राजन भुजेल, रेसुङ्गा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष लिलाधर आचार्य, वडा नम्बर १ का अध्यक्ष रामप्रसाद पन्थी, पूर्व वडाध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे लगायत लगायत विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम पतञ्जली योग समिति गुल्मीका अध्यक्ष सुरेशचन्द्र भुसालको अध्यक्षता, रेसुङ्गा नगरपालिकाका मेयर पन्थीको प्रमुख आतिथ्यता, जमुना न्यौपानेको स्वागत मन्तव्य तथा चनक कुँवरको संचालनमा सम्पन्न भएको थियो ।