spot_imgspot_img

गुल्मीका १९९ प्रावि स्थायी शिक्षकलाई नियुक्तीपत्र

गुल्मी । गुल्मीका १९९ प्राथमिक विद्यालयतर्फका स्थायी शिक्षकलाई नियुक्तीपत्र प्रदान गरिएको छ । आइतबार सदरमुकाम तम्घासस्थित महेन्द्र माध्यमिक विद्यालयको सभाहलमा स्थायी शिक्षकहरुलाई शपथ ग्रहण पनि गराइएको छ । शिक्षकहरुलाई जिल्ला शिक्षा तथा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनीले अनुसूची १५ को नियम ९५ को उपनियम (४) सँग सम्बन्धित शपथ ग्रहण गराएका हुन् ।

शिक्षकहरुलाई जिल्लाका विभिन्न पालिकामा रिक्त रहेका विद्यालयमा पदपूर्तिको लागि पठाइनेछ । जिल्ला शिक्षा तथा समन्वय इकाईको प्रारम्भिक तथ्याङ्कअनुसार कालिगण्डकीमा २८, सत्यवतीमा १२, चन्द्रकोटमा १८, रुरुक्षेत्रमा १० जनाको पद रिक्त रहेको छ । त्यसैगरी छत्रकोटमा २८, गुल्मीदरबारमा १४, रेसुङ्गामा चार, धुर्कोटमा १६, मदानेमा छ, मालिकामा १५, इस्मामा छ र मुसिकोटमा ४२ जनाको प्राथमिक तहमा पद रिक्त रहेको छ ।

शिक्षकहरुलाई सदरमुकाम तम्घासमा पाँच दिनसम्म नवप्रवेशी तालिम समेत प्रदान गरिनेछ । तालिम सकेपछि २९ गते रेसुङ्गा भ्रमणमा लैजाने र सम्बन्धित पालिकामा पठाउने तयारी जिल्ला शिक्षा तथा समन्वय इकाईले गरेको छ । तालिमपछि पालिकाले आवश्यकताको आधारमा शिक्षकहरुलाई विद्यालयमा खटाउनेछ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका जिल्ला शिक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्रीले शिक्षकहरुलाई बधाई दिदैँ आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गरे । खासगरी बालबालिकासँग बढी घुलमिल हुनुपर्ने भन्दै समन्वय प्रमुख खत्रीले आफ्नो दक्षतालाई कुशलतापूर्वक निर्वाह गर्न आग्रह गरे ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले एक बर्षसम्म पालिकाले खटाएकै विद्यालयमा अध्यापन गराउनुपर्ने भन्दै सरुवाको लागि फोन नगराउन आग्रह गरे । कार्यक्रममा शिक्षक महासंघका जिल्ला अध्यक्ष हिरासिंह सराङ्गकोटी लगायत विभिन्न पेशागत शिक्षक संगठनका प्रमुख एवं प्रतिनिधि, पत्रकार, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम कार्यालयका कर्मचारी रामप्रसाद पन्थीको स्वागत मन्तव्य तथा अमर केसीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा