रेसुङ्गा माविको ५५ औँ बार्षिकोत्सव सम्पन्न

गुल्मी ।
रेसुङ्गा नगरपालिका वडा नम्बर २ स्थित रेसुङ्गा माध्यमिक विद्यालयको ५५ औँ बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । आइतबार विद्यालय प्राङ्गणमा सम्पन्न कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भागिरथ भण्डारीले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयको मुखपत्रको रुपमा रहेको ‘रेसुङ्गा ज्योती’ नामको पुस्तक विमोचन गर्नुका साथै अतिविशिष्ट सदस्यहरु, विशिष्ट सदस्यहरु, अक्षयकोष संस्थापकहरु, आजिवन सदस्य, नियमित हाजिरी शिक्षक र उत्कृष्ट अभिभावकलाई सम्मान गरिएको थियो ।

त्यसैगरी संचार माध्यमबाट विद्यालयको प्रचार–प्रसारमा भूमिका खेलेको भन्दै पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्याल, पूर्व अध्यक्ष जनार्दन घिमिरे, रेडियो समृद्धिका स्टेशन म्यानेजर हुमाकान्त पोखरेल, रेडियो रेसुङ्गाकी स्टेशन म्यानेजर अनिता खत्री, गोरखापत्र दैनिकका संवाददाता रमेश विश्वकर्मा र रेडियो रेसुङ्गाका समाचार प्रमुख मनु सुनारलाई सम्मान गरिएको थियो । कार्यक्रमकै अवसरमा विभिन्न कक्षामा उत्कृष्ट हुने विद्यार्थी, विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै विभिन्न छात्रवृत्ति पनि विद्यार्थीहरुलाई प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका नगरप्रमुख पन्थीले रेसुङ्गा मावि जिल्लाकै मात्र नभएर देशकै उदाहरणीय विद्यालय रहेको धारणा राखे ।

विद्यालयमा रहेको इन्जिनियरिङ्ग शिक्षा, साधारण शिक्षा र विद्यालयमा रहेको विज्ञान प्रयोगशालाले विद्यार्थी एवं शिक्षकहरुलाई शिक्षण सिकाई क्रियाकलापमा सहयोग पुगेको उनको भनाई छ । कार्यक्रममा रेसुङ्गा नगरपालिकाकी उपप्रमुख अमृता देवी कुँवर, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा लगायत विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, शिक्षक अभिभावक संघ एवं विद्यालय व्यवस्थापन समतिका पदाधिकारी एवं सदस्यहरु, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा विद्यार्थीहरुले नौमती बाजा समेत प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समति अध्यक्ष शेर बहादुर थापाको अध्यक्षता, नगरप्रमुख पन्थीको प्रमुख आतिथ्यता तथा शिक्षक राम बहादुर बस्नेतको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रमको बीच बीचमा विभिन्न साँस्कृतिक नृत्य पनि रहेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा