गुल्मी। मालिकाले गाउँपालिकाले ‘एक वडा दुई उत्पादन कार्यक्रम’ संचालन गर्ने भएको छ । बिहीबार सम्पन्न गाउँसभाको १६ औँ अधिवेशनमा आगामी आर्थिक बर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष देविराम अर्यालले सो कार्यक्रमको घोषणा गरेका हुन् ।
यस कार्यक्रमअन्तरगत वडा नम्बर १ मा बंगुर र मौरी, वडा नम्बर २ मा बाख्रा र आलु, वडा नम्बर ३ मा बाख्रा र उखु, वडा नम्बर ४ मा आलु र मकै उत्पादन गर्ने कार्यक्रम रहेको छ । वडा नम्बर ५ मा बाख्रा र हलुवावेद, वडा नम्बर ६ मा मौरी र धान, वडा नम्बर ७ मा केरा र कफी एवं वडा नम्बर ८ बेसार र कफी उत्पादन कार्यलाई व्यवसायीक रुपमा संचालन गरिने पालिका अध्यक्ष अर्यालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । पालिकाले स्थानीय स्तरमै राजगारी सिर्जना गरी ‘अर्गानिक गाउँपालिका’को पहिचान बनाउन यो कार्यक्रम संचालन गरिने पालिकाले जनाएको छ ।
आगामी आर्थिक बर्षमा मालिकाले सबै वडामा भर्मकम्पोष्ट र झोलमोल बनाउने सम्बन्धि तालिम समेत प्रदान गर्ने अध्यक्ष अर्यालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ‘एक घर, एक करेसाबारी’, सबै वडामा पशु तथा बाली स्वास्थ्य शिविर, गोरुपालन गर्ने कृषकलाई प्रोत्साहन, परम्परागत सामग्रीलाई प्रवद्र्धन गर्ने, पालिकाका महत्वपूर्ण पर्यटकीय स्थलहरुमा आवश्यक पूर्वाधार निर्माण एवं पर्यटन प्रवद्र्धनका कार्यक्रम संचालन गर्ने, स्थानीय उत्पादनको बजारीकरणको व्यवस्थापन लगायतका लक्ष्य लिएको छ ।
स्वास्थ्य बीमा कार्यक्रममा नागरिक सहभागिता बृद्धि, वडा नम्बर १, २ र ३ का नागरिकलाई स्वास्थ्य पहुँचको बृद्धि गर्न दर्लिङ्ग स्वास्थ्य चौकीमा अत्याधुनिक उपकरण सहितको ल्याब सेवा संचालन, सबै स्वास्थ्य चौकीहरुमा अल्ट्रासाउण्ड विस्तार गर्ने, विभिन्न स्वास्थ शिविर संचालन गर्ने, एक वडा एक आवासीय माविको व्यवस्था, विद्यार्थीहरुको लागि पढ्दै कमाउदै कार्यक्रम, विद्यालयमा आधुनिक प्रयोगशाला, कम्युटर लगायतका सामग्रीको व्यवस्थापन गर्ने पनि पालिका अध्यक्ष देविराम अर्यालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । गाउँसभाको अर्को बैठक असार ०८ गते दिउँसो १ बजे बोलाइएको छ ।