गुल्मी ।
स्थानीय तहमा सुशासन प्रवद्र्धनका लागि अभिमुखीकरण र अन्तरक्रिया कार्यक्रम गुल्मीको धुर्कोट गाउँपालिकामा सम्पन्न भएको छ । धुर्कोट गाउँपालिका एवं भ्रष्ट्राचार नियन्त्रणका लागि नागरिक निगरानी संस्थाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले गाउँपालिकामा बेरुजुको अवस्था, सुशासन कायम गर्नका लागि पालिकाले गरेका कार्यहरु, पहिले र अहिलेको पालिकाको सुशासनको अवस्था लगायतको बारेमा जानकारी गराएका थिए ।
त्यसैगरी भ्रष्ट्राचार नियन्त्रणका लागि नागरिक निगरानी संस्थाका अध्यक्ष पदम प्रसाद पाण्डेले सुशासन प्रवद्र्धन र भ्रष्ट्राचार नियन्त्रणमा सरोकारवालाहरुको भूमिकाका बिषयमा आफ्नो प्रस्तुती राखेका थिए । जसमा नेपाल र गुल्मीमा बेरुजुको अवस्था, स्थानीय तहमा मुद्धाको अवस्था, महालेखा परीक्षकको कार्यालयले धुर्कोटलाई दिएको सुझाव, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, दिवा खाजा लगायतका बिषयमा आफ्नो प्रस्तुती राखेका थिए ।
जसमा ठुला योजनाको सामाजिक परीक्षण गर्नुपर्ने, सार्वजनिक सुनुवाईलाई थप प्रभावकारी बनाउनुपर्ने, पालिकाहरुले विधि बनाएर मात्र काम गर्नुपर्ने लगायतका बिषयमा पाण्डेले जोड दिएका थिए । त्यस्तै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले भ्रष्ट्राचार न्यूनिकरणका लागि सरोकारवालाहरुको भूमिकाको बिषयमा स्पष्ट पारेका थिए । स्थानीय तहमा हुने भ्रष्ट्रचार न्यूनिकरण गर्दै प्रभावकारी सेवा प्रवाहमा सहयोग गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष पाण्डेले बताए ।
कार्यक्रममा बोल्दै वडा नम्बर ३ का वडाध्यक्ष पदम बिष्टले दक्ष र तालिम प्राप्त कर्मचारी नहुने, पालिकामा जिम्मेवारी दिएपनि त्यसलाई पुरा गर्ने आर्थिक स्रोत नदिएर प्रदेश र संघले अन्याय गरेको बताए । त्यसैगरी गाउँपालिका उपाध्यक्ष सीता गिरीले आफुहरु सुशासन प्रवद्र्धनमा लागिपरेको र यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरिन् । गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले धुर्कोटमा कुनै लेनदेनबिना कर्मचारी र शिक्षक नियुक्ती हुने गरेको, सार्वजनिक सुनुवाईमा नागरिकको उल्लेख्य उपस्थिति हुने गरेको जस्ता बिषमा आफुहरुले काम गरेको बताए । तर कर्मचारी र प्रहरी सरुवामा माथिबाट नै बढी लेनदेन हुने पोखरेलको भनाई छ ।
नेकपा एमाले धुर्कोटका अध्यक्ष लोक बहादुर केसीले सुशासन कायम गर्नमा आफ्नो दलले सधै सरकारलाई सहयाग गर्ने बताए । कार्यक्रममा जिल्लास्थित विभिन्न सुरक्षा निकायका प्रमुखहरु, पालिकाका सबै शाखाका कर्मचारीहरु, कार्यपालिका सदस्यहरु, विद्यालयका प्रधानाध्यापक वा प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका सचिव एवं पत्रकार जनार्दन घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।