तम्घास, २२ असार गुल्मीमा पहिरोले दुई घर भत्किएका छन भने आधा दर्जन भन्दा बढी सडक अवरुद्ध भएका छन् । विगत दुई दिनदेखि परेको बर्षाका कारण गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ ठाटिपौवा स्थित ४५ बर्षिया रुपा तमाटाको ढुङ्गा माटोले बनेको एक तले घर भत्किएको हो ।
शनिबार बिहान १०ः३० मा घर भत्किएको सूचना आउनासाथ इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी नायब निरीक्षक हुम बहादुर भलामीको कमाण्डमा आठ जनाको टोली एवं स्थानीयको सहयोगमा घरधनी रुपालाई जिवितै उद्धार गरिएको छ । रुपाको जिवितै उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडी पठाइएको छ । सत्यवती गाउँपालिका –३ मा गएराति रेशम पुलामीको घर भत्किएको छ । पहिरोले पुलामीको घर पूर्णरुपा क्षती गरेको छ भने मानविय क्षती भएको छैन ।
बर्षाले पहिरो जाँदा जिल्लामा आधा दर्जन भन्दा बढी सडक अवरुद्ध भएका छन् । रिडी–तम्घास सडक अन्तरगत रुरुक्षेत्र गाउँपालिका–०४ स्थित कालिमा मोडमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । त्यसैगरी मदन भण्डारी राजमार्ग अन्तरगत तम्घास–सिमलटारी सडक अन्तरगत धुर्कोट गाउँपालिका–५ मा पर्ने रोदी खोलामा पानीको बहाव बढ्दा सडक अवरुद्ध भएको छ ।
सोही सडकको मालिका गाउँपालिका–७ मा पर्ने घमिर खोला र वडा नम्बर ६ को फुलवारी खोलामा पनि पानीको बहावका कारण बिहानैदेखि सडक अवरुद्ध छ । उक्त तीनै ठाउँमा समयमै पुल नबन्दा पानीको बहावले सडक अवरुद्ध भएको हो । उक्त ठाउँमा पुल भने हाल दुई पटक म्याद थप भई निर्माणाधिन अवस्थामा रहेका छन् ।
सत्यवती गाउँपालिका–६ स्थित उर्लिखोलामा पनि पानीको बहाव बढेर सडक पूर्णरुपमा अवरुद्ध भएको छ । त्यसैगरी सत्यवती गाउँपालिका–४ मा पर्ने रुद्रवेणी वामी सडकको नदेवा खोलामा पनि पानीको बहाव बढेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी शंकर पोखरेलले जानकारी दिनुभयो ।
त्यसैगरी चन्द्रकोट गाउँपालिका –८ स्थित टेलिमिल र मजुवा बजारमा पनि माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले गुल्मीलाई बर्षाको उच्च जोखिमा राखेको छ । जसका कारण पनि सजकता अपनाउन प्रशासनले सबैमा आग्रह गरेको छ ।