गुल्मी, २४ असार ।
पछिल्लो समय पहाडी क्षेत्रमा बढ्दै गएको भूक्षयलाई नियन्त्रण गर्न गुल्मीको मालिका गाउँपालिका–०८ मा रहेको थानापति निम्न माध्यमिक विद्यालयले बृक्षारोपण गरेको छ । विद्यालयले आफ्नो खाली रहेको सात रोपनी जग्गामा चाँप, अमला, टिमुर लगायतका पाँच सय ६० प्रजातीका बिरुवा लगाएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिबी खड्काले जानकारी दिए ।
‘विद्यालयको खाली जग्गा सदुपयोग हुनुका साथै र भूक्षय, पहिरो जस्ता समस्या पनि समाधान हुने अपेक्षा छ ।’ अध्यक्ष खड्काले भने, ‘फलफूलका बिरुवालाई केही बर्षपछि विद्यालयको आम्दानीको रुपमा पनि परिणत गर्ने सोच बनाएका छौ ।’ अहिले लगाएका फलफूल प्रजातीले भविष्यमा फल दिने र त्यसलाई बिक्री गरी विद्यार्थीलाई ‘पढ्दै कमाउँदै’ कार्यक्रमसँग पनि जोड्ने योजना रहेको अध्यक्ष खड्काको भनाई छ । त्यो बाहेक विद्यालयसँग अझै १३ रोपनी जग्गा छ ।
उक्त जग्गामा पनि तारबार गरी विद्यालय र विद्यार्थीलाई अर्थोपार्जनसँग जोड्ने गरी कृषिका शैक्षिक कार्यक्रम संचालन गर्ने योजना रहेको अध्यक्ष खड्काले सुनाए । ग्रामीण क्षेत्रमा रहेको थानापति निमाविमा पछिल्लो समय केही सुधारका काम भएका छन् । सरकारले दिएकामध्ये व्यवस्थापन समितिले मजदुर दिवस, इद लगायतका १२ वटा बिदा कटौती गरेको छ ।
विद्यालय रहेको समुदायलाई असर नगर्ने बिदाहरु कटौती गरिएको विद्यालयले जनाएको छ । तर बिदामा विद्यालय संचालन गरेबापत शिक्षकहरुले भने कुनै अतिरिक्त सुविधा नपाउने सूचना अधिकारी राजु पौडेलले बताए । २०१५ सालमा स्थापना भएको विद्यालयले यसै शैक्षिक सत्रबाट नर्सरीमा अंग्रेजी माध्यमबाट पढाई सुरु गरिएको छ । त्यसैगरी बिहान ९ः४५ बाटै अर्थात सरकारले तोकेको समयभन्दा १५ मिनेट अगाडी नै कक्षा संचालन गरिएको छ ।
‘बिदाको समयमा अध्यापन गराउन पाउँदा खुसि छौ ।’ सूचना अधिकारी पौडेलले भने, ‘व्यवस्थापन समितिका अध्यक्षको सक्रियतामा सिङ्गो समुदाय विद्यालयको गुणस्तरमा लागेको छ ।’ विद्यालयमा कुल १३० विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा पछिल्लो समय स्वच्छ खानेपानीको सुविधा उपलब्ध छ भने लुम्बिनी प्रदेश सरकारको सहयोगमा शौचालय पनि निर्माण गरिएको छ ।