हुमाकान्त पोखरेल
गुल्मी, २४ असार । गुल्मीमा नेपाली काँग्रेस र नेकपा एमालेबीच सहमती नहुँदा विद्यालय व्यवस्थापन समितिको सदस्य पदको लागि चुनाव भएको छ । जिल्लाको मदाने गाउँपालिका–०५ पुर्कोट दहस्थित पृथ्वी माध्यमिक विद्यालयमा चुनाव भएको हो । एक हप्ताअघि भएको निर्वाचनको अन्तिम मत परिणाम सोमबार सार्वजनिक गरिएको छ ।
निर्वाचनको दुखद् पक्ष त कुल खसेको मतसंख्या भन्दा बदर मत धेरै भएको छ । निर्वाचनमा कुल चार सय २० मत खसेको थियो । जसमा तीन सय ११ अर्थात ७४.०४ अर्थात झण्डै दुई तिहाई मत बदर भएको छ । निर्वाचनमा जम्मा १०९ मत मात्रै सदर भएका छन् ।
मतदान अधिकृत अमर केसीका अनुसार निर्वाचनपछिको आचार संहितामा उम्मेदवारको नामको अगाडी भएको चौघेरामा सही चिन्ह लगाएर मतदान गर्नुपर्ने थियो । यदि सही चिन्ह बाहेक अन्य चिन्ह वा चौघेराभन्दा थोरैपनि बाहिर वा तलमाथि भएको खण्डमा मत बदर हुने आचार संहिता बनेको थियो । तर अधिकाशं मतदाताले नामको पटाछी चिन्ह लगाएपछि धेरै मत बदर भएको केसीले बताए ।
केही मत सही चिन्ह बाहेक अन्य र कतिपय लतपतिएका मत रहेको केसीको भनाई छ । निर्वाचनमा एमाले समर्थक विजयी
निर्वाचनमा एमाले समर्थक उम्मेदवारले जित हाँसिल गरेका छन् । सदस्यको लागि भएको निर्वाचनमा बसन्त कुँवरले ११० मत प्राप्त गरी जित हाँसिल गरेका छन् ।
त्यसैगरी गोलाप्रथाद्धारा कुमार विक्रम थापा निर्वाचित भएका छन् । थापा र विकास श्रेष्ठको समान १०६ मत आएपछि गोलाप्रथा गरिएको थियो । कुँवर नेपाली काँग्रेसको तर्फबाट निर्वाचित वडासदस्य हुन् । उनी एमालेको प्यानलबाट चुनाव लडेका थिए । महिला सदस्यमा ८० मत ल्याउदैँ चित्रा कुँवर र ८४ मत ल्याउँदै माया जिसी केसी निर्वाचित भएका छन् । उनीहरु दुवैजना एमाले समर्थक हुन् ।
एउटा मतमा विवाद भएपछि मतपेटिका सदरमुकाम तम्घास ल्याइएको थियो । सोमबार जिल्ला शिक्षा तथा समन्वय इकाईमा राजनीतिक दलको समझदारीमा मतगणना गरिएको थियो । केहीदिन अघि प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नजितामा त्यस विद्यालयमा नियमिततर्फ ७४ विद्यार्थी सहभागि भएकोमा २९ एवं प्राविधिकतर्फ २१ जना विद्यार्थी सहभागि भएकोमा नौ जना उत्तिर्ण भएका थिए ।