हुमाकान्त पोखरेल
गुल्मी, ०४ साउन । गुल्मीमा बुवाको स्मृतीमा छोराहरुले अक्षयकोषको घोषणा गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर २ स्थित स्व. हेमराज मरासिनीको स्मृतीमा छोराहरु नविन, सञ्जिव र डाक्टर सञ्जयले रेसुङ्गा नगरपालिका–१ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा तीन लाख १५ हजारको अक्षयकोषको स्थापना गरेका हुन् ।
स्व. हेमराज विद्यालयका पूर्व अंग्रेजी शिक्षक हुन् । उनको एक बर्षअघि निधन भएको थियो । बुवाको बार्षिक पुण्ड्यतिथिको अवसरमा छोराहरुले बुवाले अध्यापन गराएको विद्यालयमा अक्षयकोषको स्थापना गरेका हुन् । विद्यालयलाई प्रदान गरेको रकमबाट कक्षा ५, ८, एसइई र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्नेगरी छलफल भएपनि आधिकारीता भने दिइएको छैन ।
अब छिट्टै कार्यविधि बनाएर उक्त रकम विद्यार्थीको छात्रबृत्तिको लागि प्रयोग गरिने प्रध्यानाध्यापक मरासिनीले जानकारी दिए । छात्रबृत्ति स्थापना गर्नेमध्येका जेठो छोरा नविन मरासिनी काठमाडौ विश्वविद्यालयमा अध्यापनरत छन् । उनी पनि महेन्द्र माविका पूर्व शिक्षक पनि हुन् ।
माइलो छोरा सञ्जिव मरासिनी नेपाल संस्कृत विश्वविद्यालय अन्तरगतको रिडी संस्कृत विद्यापिठमा अंग्रेजी बिषयको उप–प्रध्यापक छन् भने कान्छो छोरा डाक्टर सञ्जय मरासिनी न्यूजिल्याण्डमा नेत्र विशेषज्ञको रुपमा कार्यरत छन् ।
जेठो छोरा नविन र कान्छो छोरा सञ्जय महेन्द्र माविका पूर्व विद्यार्थी समेत हुन् । विद्यालयका प्रध्यानाध्यापक कृष्ण प्रसाद मरासिनीले छात्रबृत्तिको घोषणा गर्ने मरासिनी परिवारलाई धन्यवाद् दिए ।