हुमाकान्त पोखरेल
गुल्मी, १४ साउन । गुल्मीमा खानेपानीको एउटै आयोजनाबाट झण्डै चार सय घरमा खानोपानीको धारा पुगेको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडेमा संचालन भएको ठुलामुल लिफ्टिङ खानेपानी आयोजनाबाट तीन सय ८८ घरमा खानेपानी पुगेको हो । आर्थिक बर्ष २०७६÷७७ मा सुरु भएको उक्त योजना २०८०÷८१ अर्थात चार बर्षपछि सम्पन्न भएको छ ।
एउटै आयोजनाबाट यति धेरै घरमा पानीको धारा पुगेको ठुलामुल लिफ्टिङ खानेपानी आयोजना धुर्कोट गाउँपालिकामध्येकै सबैभन्दा ठुला खानेपानी आयोजना हो । आयोजनाको आइतबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले सैनिक प्राविमा जडान गरिएको धारा खोलेर उद्घाटन गरे ।
उक्त आयोजनाबाट हाडहाडेका मोटिखर्क, निन्यूखर्क, पाथ्थरपानी, अबुवा, सिर्बु, मोरमारे लगायतका टोलका नागरिक लाभाम्बित भएका छन् । उक्त आयोजनाबाट तीन सय ८८ घर तथा चार सार्वजनिक संस्था गरी कुल तीन सय ९२ वटा धारा जडान भएका छन् । यस आयोजनाबाट झण्डै दुई हजार दुई सयभन्दा बढी नागरिक प्रत्यक्ष रुपमा लाभाम्बित भएका छन् ।
सैनिक प्रावि, वडा कार्यालय, स्वास्थ्य चौकी लगायतका संस्थाहरुमा यसै आयोजनाको पानी जडान गरिएको छ । दैनिक रुपमा घरमै पानी आएपछि स्थानीयको दैनिकी समेत फेरिएको छ । ‘पहिले–पहिले एक घण्टाको बाटो हिडेर पानी लिन जानुपथ्र्यो ।’ स्थानीय ६८ बर्षिया मनकुमारी थापाले भनिन्, ‘अहिले घरमै पानी आउदा सहज भएको छ ।’ उनले पहिले–पहिले खेताला लगाएर समेत पानी ल्याएको बताइन् ।
‘यसरी घरमै पानी आउला भन्ने सोचेकी पनि थिइन् ।’ उनले भनिन्, ‘निर्वाचनमा हानेको भोटको सही सदुपयोग भएछ ।’ अर्की स्थानीय श्रृजना खड्काले घरमै पानी आउँदा सबैभन्दा बढी महिलाहरुलाई फाइदा भएको बताइन् । पानी आएपछि घरमा भाडा माझ्न, खाना पकाउन, छोराछोरीको कपडा धुन एवं छोराछोरीलाई समयमै विद्यालय पठाउन सजिलो भएको खड्काको भनाई छ ।
ठुलामुल खानेपानी उपभोक्ता समितिका सचिव निर बहादुर घमले आयोजना सम्पन्न गर्नको लागि चार करोडभन्दा बढी खर्च भएको बताए । चार घरमा धारा जडान गर्नका लागि एउटा इनटैङ्क, वितरण च्याम्बर दुई थान एवं चारवटा टंकी निर्माण गरिएको घमको भनाई छ । यस आयोजना सम्पन्न भएसँगै हाडहाडेमा कुल पाँच सय ५९ घरमा धारा पुगेको छ ।
यसै आर्थिक बर्षमा हाडहाडेलाई ‘एक घर, एक धारा’ घोषणा गर्नेगरी आफुहरुले तयारी गरेको वडाध्यक्ष पदम बहादुर विष्टले बताए । धुर्कोट गाउँपालिकामा कुल पाँच हजार तीन सय ८२ घर रहेका छन् । जसमध्ये अधिकाशं घरमा पानीको धारा पुगेको छ । वडा नम्बर १ नयाँगाउँ, वडा नम्बर ४ जैसिथोक र वडा नम्बर ६ रजस्थलका सबै घरमा पानीका धारा पुगेका छन् । तीनवटा वडाहरुलाई ‘एक घर एक धारा’युक्त वडा समेत घोषणा गरिएको छ ।
गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले आफुहरुले निर्वाचनमा गरेको प्रतिवद्धता पुरा गर्न थालेको बताए । अगामी बर्षभित्र सिङ्गो गाउँपालिकालाई नै ‘एक घर एक धारा’ युक्त पालिका घोषणा गर्न आफुहरु लागिपरेको भन्दै अध्यक्ष पोखरेलले आयोजनाको दीगो संचालनको लागि उपभोक्ताहरुलाई आग्रह गरे । सबैको घरमा खानेपानी पुगेसँगै अब पानीको उपयोग गरी आय–आर्जन गर्न अध्यक्ष पोखरेलले आग्रह गरे ।