टोपलाल अर्याल
गुल्मी, २१ साउन, फोर्टिन स्टार युवा क्लवको आयोजना तथा गुल्मी मोडल अस्पतालको सहजीकरणमा गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल रेसुंगामा एकदिने निःशुल्क प्राथमिक सेवा संचालन गरिएको छ । खेलकुद बिकास र सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय क्लबले साउने औंसी मेलाको अवसरमा रेसुंगामा आउने दर्शनार्थीको निःशुल्क प्राथमिक स्वास्थ्य परिक्षण गरेको हो । विभिन्न स्थानबाट आएका एक सय बढि दर्शनार्थीले सेवा लिएको छन् । उनीहरुको ब्लड प्रेसर, ग्याष्टिक, सामान्य चोट लागेका बिरामीलाई सेवा प्रदान गरिएको क्लबका अध्यक्ष नारायण आचार्यले जानकारी दिए । धार्मिक क्षेत्र रेसुंगामा एक महिने साउने मेला चलिरहेको छ ।
होरिबोधनी एकादशी र साउने औंसीको दिन रेसुंगामा श्रदालु भक्तजनको घुइँचो लाग्ने गर्दछ । मन्दिरको दर्शन तथा पोखरीमा स्नान गर्न आउने भक्तजनको स्वास्थ्यमा एक्कासी आउने समस्यालाई प्राथमिक उपचारको माध्यमबाट सेवा दिने उदेश्यले निःशुल्क स्वास्थ्य सेवा संचालन गरिएको क्लब अध्यक्ष आचार्यले बताए ।
क्लवले प्रत्येक बर्ष बार्षिक उत्सबको अवसरमा जिल्लास्तरीय माबिका छात्रहरुबिच फुटवल प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लबको आफ्नै राम्रो आर्थिक श्रोत छैन । तर, क्लवले नागरिकलाई सचेतना फैलाउन ट्राफिक जनचेतना सम्बन्धि होडिङ बोर्ड राख्ने, नेपाली कला संकृतिको संरक्षण र प्रर्वद्धन गर्न सांकृतिक कार्यक्रम संचालन गर्दै आएको छ ।