हुमाकान्त पोखरेल
गुल्मी, २२ साउन । गुल्मीमा पहिरोले घर बगाउँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ बिसौना बस्ने विष्णु विक र हुमा विकको घर बगाउँदा चारजनाको ज्यान गएको हो ।
मृत्यु हुनेहरुमा ४५ बर्षिय गोरे विक, ६७ बर्षिय हुकुम विक, ६६ बर्षिया मसुरी विक र दुई बर्षिय रियन्सी विक रहेका छन् । पहिरोमा परी दुई जनालाई सकुशल उद्धार गरिएको छ । ३१ बर्षिया विष्णु विक र उनको श्रीमती २३ बर्षिय मुना विकलाई उद्धार गरिएको स्थानीय संचारकर्मी माधव खरेलले जानकारी दिए ।
सकुशल उद्धार गरिएपनि विष्णुको दाहिने खुट्टा र छाती एवं मुनाको बाँया खुट्टामा चोट लागेको छ । उनीहरुलाई उपचारका लागि पठाउने तयारी भइरहेको छ । गएरातिदेखि परेको अविरल बर्षाका कारण बिहान ८ बजे पहिरोले घर पुरिएको खरेलले बताए ।
मुसिकोटमा रहेको नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार एवं शवको पहिचान गरिएको हो ।