गुल्मी, साउन २४ । गुल्मीमा एक जनप्रतिनिधिले आफ्नो जन्मदिनको उपलक्ष्यमा विद्यालयमा अक्षयकोषको स्थापना गरेका छन् । इस्मा गाउँपालिकाका कार्यपालिका सदस्य डोल बहादुर नेपालीले आफ्नो ५० औँ जन्मोत्सवको अवसरमा वडा नम्बर २ को देविस्थान माध्यमिक विद्यालयमा २५ हजारको अक्षयकोषको स्थापना गर्ने घोषणा गरेका हुन् ।
उक्त रकमको व्याजबाट गरिब, दलित, अपांगता भएका तथा जेहेनदार विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरिने नेपालीले बताए । बुधबार आफ्नो जन्मदिनको अवसरमा मित्रमिलन कार्यक्रमको आयोजना गरेका नेपालीले समय अनुकुल उक्त रकमलाई बृद्धि गर्दै लैजाने समेत बताए । अक्षयकोष स्थापना गरेका नेपालीलाई कार्यक्रमका सहभागिहरुले जन्मोत्सवको शुभकामना सहित धन्यवाद् ज्ञापन गरी सम्मान गरेका थिए ।
कार्यक्रममा इस्मा गाउँपालिका अध्यक्ष भगत खड्का, नेकपा एमालेका नेता हिरा एसी, माओवादी केन्द्रका नेता बसन्त सुनारले विद्यालयमा अक्षयकोष स्थापना गरेका नेपालीले अनुशरणयोग्य काम गरेको भन्दै समाजका लागि उत्प्रेरक बनेको भन्दै खुसी व्यक्त गरे ।