हिरा ए.सी.
१. पृष्ठभूमि
आजभन्दा करिब २६ सय वर्षअघि लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा गृह त्याग गरी छ वर्षसम्म शुरुमा कठोर तपस्या र पछि मध्यममार्ग अवलम्वनबाट ३५ वर्षको उमेरमा भारतको वोधगयामा बुद्धत्व प्राप्त गरेका थिए । इ.पू. छैठौं शताब्दीतिर समाजमा विकृति र विसंगतिले अराजकता सिर्जना गरेको थियो ।
तत्कालीन समयका अग्रणी समाज सुधारक बुद्धले विद्यमान अन्याय, शोषण, विभेद र आडम्बरपूर्ण प्रवृत्तिको विरोध गर्दै सरल र सहज तरिकाले आफ्ना विचारहरू सम्प्रेषित गरे । उनका उपदेशहरूले सबै प्राणीहरूको हित गरेकाले कालान्तरमा उनका उपदेशहरूलाई धर्म र उनलाई देवताको रुपमा मान्न थालियो । बुद्ध धर्मका मूल ग्रन्थलाई त्रिपिटक भनिन्छ । जसको अर्थ तीनवटा टोकरी हुन्छ । त्रिपिटकलाई सुत्तपिटक, विनयपिटक र अभिधम्मपिटक गरी तीन समूहमा विभाजन गरिएको छ । बुद्धले आफ्नो ज्ञान दर्शनलाई मानवीय दुःखको निराकरणमा केन्द्रित गरेका छन् ।
दुःख निरोधको उपायको रुपमा प्रतिपादित आर्यअष्टांगिक मार्गको विश्लेषण गर्ने उद्देश्यले यो अध्ययन गरिएको छ । यस लेखमा आर्यअष्टांगिक मार्गमा अन्तर्निहित सामाजिक कल्याणका पक्षहरू र कस्तो परिस्थितिमा बुद्धले अष्टांगिक मार्गको प्रतिपादन गरेका थिए सो केलाउने प्रयास गरिएको छ । अष्टांगिक मार्ग दुःख निवारणको बाटो कसरी हो ? अहिंसावादी र मध्यमार्गी विकल्प हुनुका आधार के हुन् ? यसमा के–कस्ता मानवतावादी र भेदभावविरोधी सोंचहरू रहेका छन् ? सदाचार, आर्थिक समानता र मनको नियन्त्रणमा यसले कसरी जोड दिएको छ ? जस्ता विषयहरूको जानकारी यसमा पाइन्छ ।
बुद्धको समग्र दर्शन नै मानवीय दुःख निराकरण गरेर असल समाज निर्माण गर्नमा अभिप्रेरित छ । उक्त दुःख निवारणको मार्गको रुपमा उल्लिखित आर्यअष्टांगिक मार्गको विश्लेषण गर्ने उद्देश्यले “अष्टांगिक मार्गमा अन्तर्निहित सामाजिक कल्याणका पक्षहरू” शीर्षकको यो अध्ययन गरिएको हो ।
यसमा अष्टांगिक मार्गको बारेमा विभिन्न कोणबाट चर्चा गरिएको छ । यो अध्ययन गुणात्मक शोध विधिबाट गरिएको हो । यसमा बुद्धधर्मका मूलग्रन्थ त्रिपिटकअन्तर्गतका केही ग्रन्थहरू र अन्य विभिन्न लेखकहरूका पुस्तक, शोधपत्र, जर्नल, पत्रपत्रिका आदिको अध्ययनबाट आवश्यक सूचना तथा तथ्यांकहरूको संकलन अनि सिलसिलेवार ब्याख्या र विश्लेषणात्मक विधिबाट यो लेखन तयार पारिएको छ ।
गौतम बुद्धको जीवनीको सामान्य चर्चा गरिएको भए तापनि यो लेख मूलतः बुद्धद्वारा प्रतिपादित आर्य अष्टांगिक मार्गमा अन्तर्निहित सामाजिक कल्याणका पक्षहरूको विश्लेषणमा सीमित छ । यो लेखमा आर्य अष्टांगिक मार्ग, तिनमा रहेका सामाजिक कल्याणका पक्षहरू तथा तत्कालीन परिस्थितिको विश्लेषण गरिएको छ । यसबाट आगामी दिनमा थप अध्ययन–अनुसन्धान गर्न चाहने र अन्य सम्बद्ध पक्षलाई लाभ पुग्ने विश्वास लिइएको छ ।
२. गौतम बुद्धको परिचय
सिद्धार्थ गौतमको जन्म ई.पू ५६३ को बैशाख शुक्लपूर्णिमाका दिन लुम्बिनीको रमणीय उपवनमा भएको थियो । उनका पिता कपिलवस्तुका शाक्यवंशी राजा शुद्धोदन र माता मायादेवी थिइन् । शाक्य वंशमा जन्मेकोले उनलाई शाक्यमुनि पनि भनिन्थ्यो । मायादेवी सुत्केरी हुन माइती देवदह जाँदै गर्दा बाटोमा पर्ने लुम्बिनीमा सिद्धार्थ जन्मिएका थिए । “उनको जन्म भएको ३१८ वर्षपछि तथा आफ्नो राज्याभिषेकको बीसौं वर्षमा अशोकले यसै स्थानमा एक पाषण स्तम्भ निर्माण गरे । त्यो स्तम्भ अहिले पनि त्यहाँ मौजुद छ” (सांकृत्यायन, वि.सं.२०७६, पृ.२७) ।
सिद्धार्थ जन्मिएको सातौं दिनमा मायादेवीको मृत्यु भएपछि सिद्धार्थको पालनपोषण सौतेनी आमा प्रजापति (मायादेवीकी बहिनी) ले गरिन् । सिद्धार्थ तरुण हुँदै जाँदा संसारदेखि केही विरक्त, भावुक र बढी नै विचारमग्न देखेर आफ्नो छोरा साधुहरुको बहकाउमा लागेर गृह त्याग गरेर जाने त होइन भन्ने डर पिता शुद्धोधनलाई थियो । त्यसै डरले १६ वर्ष पुग्ने बित्तिकै सिद्धार्थको विवाह छिमेकी राज्य कोलियकी राजकुमारी यशोधरा (कपिलायनी)सँग गरिदिए ।
सिद्धार्थ दम्पत्ति २९ वर्षको हुँदा छोरा राहुलको जन्म भयो । एकातर्फ वृद्ध, रोगी, मृत र प्रव्रजितका दृश्यहरु अर्कोतर्फ तत्कालीन समाजका शोषण, दरबारभित्रका दाउपेच र जीवनका अनेक दुःख देख्दा संसारसँगको उनको विरक्ति पक्का भइहाल्यो र राहुल जन्मिएको सातौं दिन आषाढ पूर्णिमाको रातमा सिद्धार्थ गृह त्याग गरेर निस्किए । त्यसरात तत्कालीन मगधको राजधानी राजगृहनजिकै अनोमा नदीमा पुगे र त्यहीँ सांसारिक भोगविलासलाई तिलाञ्जली दिएर गेरुवावस्त्र पहिरिए ।
त्यहाँबाट उनी पहिले आलारकालम र पछि उद्दक रामपुत्त कहाँ गए, ध्यान र योगका केही कुरा सिके तर सन्तुष्ट भएनन् ।
ज्ञान आर्जनको विकल्प खोज्दै उनी उरुभेला(बोधगया) पुगेर अन्य पाँच परिव्राजकहरु कौडन्य, वप्प, भद्धिय, महानाम र अस्सजितसहित करिब छ वर्षसम्म योग र अनशनको घोर शरीरपीडन तपस्या गरे । यति कठोर तपस्याबाट पनि ज्ञान प्राप्त भएन र उनले दोस्रो मार्गको खोजी गर्न थाले ।
जर्जर र रोगी शरीरले गरेको ध्यानबाट ज्ञान मिल्दैन भन्ने निचोडमा पुगेपछि सिद्धार्थले दालभातलगायत आहार ग्रहण गर्न थाले । त्यो देखेर सँगै रहेका पाँचैजना भिक्षुहरु उनलाई छोडेर हिंडे । त्यसपछि सिद्धार्थले केही स्थूल आहार खाएर वोधगयाको निरञ्जना नदीको किनारमा ७ हप्तासम्म तपस्या गरे । यसै मध्यममार्गको अवलम्बनबाट उनले इ.पू. ५२८ बैशाख पूर्णिमाको दिन ज्ञान (बुद्धत्व) प्राप्त गरे । त्यही ज्ञान सिद्धार्थको दर्शन बन्न पुग्यो ।
“बुद्धको दर्शनको सार कुरा भनेको चार आर्य सत्य हो । चार आर्य सत्य निम्न छन्– १. दुःख छ, २. दुःखको कारण छ, ३. दुःखको निरोध हुन्छ, ४. दुःख निरोधको उपाय छ” (बौद्ध संस्कृति र सम्पदा, २०७७, पृ.१४) । यस सम्यक् ज्ञानको प्राप्तिपछि नै उनले बुद्धत्व प्राप्तिको घोषणा गरे । ज्ञानार्जनको दुई महिनापछि असार पूर्णिमाको दिन वाराणसीको उत्तर मृगदावन (सारनाथ)मा साधना गरिरहेका तिनै पाँच गृहत्यागीहरु कौडन्य, वप्प, भद्दिय, महानाम र अस्सजितलाई प्रथम उपदेश दिए ।
बुद्धका चार आर्य सत्यहरु–
१. दुःख छ ः– जन्म, बुढ्यौली, मरण, शोक, रोदन, मनको खिन्नता–दिक्दारी दुःख हो । अप्रियसँग संयोग र प्रियसँग वियोग दुःख हो, इच्छा गरेर नपाउनु पनि दुःख हो । संक्षेपमा पाँचवटै उपादान स्कन्ध दुःख हुन् । प्रत्येक व्यक्तिले यस्ता दुःखबाट बढ्नैपर्छ । यसलाई दुःख आर्य सत्य भनिन्छ ।
२. दुःखको कारण छ ः– मानिस सँधै असन्तुष्ट हुन्छ र कुनै न कुनै तृष्णाको पछि लागिरहेको हुन्छ । यसैबाट दुःखको सुरुवात हुन्छ । तृष्णा, लोभ, मोह, द्वेष, इष्र्या, अहंकार, क्रोध दुःखका कारणहरु हुन् ।
३) दुःखको निरोध हुन्छ ः तृष्णाको शमन वा परित्यागपछि दुःख निवारण गर्न सकिन्छ । तृष्णाको निरोधले उपादानको, उपादानले भवको, भवले पुनर्जन्मको निरोध गर्छ । जन्म निरोधले बुढेसकाल, मरण–शोक, दुःख, रुवाइ, खिन्नताको नाश गर्छ र दुःखको अन्त्य हुन्छ ।
४) दुःख निरोधको उपाय छ ः– दुःख निरोध गर्ने उपाय नै बुद्धको समग्र दर्शनको केन्द्रबिन्दु हो । दुःख निरोध मार्ग भनेको आर्य अष्टांगिक मार्ग हो । बुद्धले भोग विलासमा आशक्ति र शरीर पीडनको बाटो छोडेर मध्य(मज्झ) मार्गबाट निर्वाण सुख प्राप्त गर्न सकिन्छ र त्यो मध्य–मार्ग अष्टांगिक मार्ग हो भनेको कुरा संयुक्तनिकाय, धर्मचक्र प्रवर्तनसूत्रमा उल्लेख छ । त्यसपछिका ४५ वर्षसम्म बुद्धले विभिन्न स्थानमा पुगेर आफ्नो ज्ञानको प्रचार र उपदेश दिए । “८० वर्षको उमेरमा मल्ल गणराज्यको राजधानी कुशीनगर (हाल भारतको गोरखपुरमा पर्ने देवरिया जिल्लाको वन)मा निर्वाण प्राप्त गरे” (खड्का, वि.सं.२०७६,पृ.८३) ।
बुद्धका उपदेशहरुले सबै प्राणीहरुको हित गरेकाले कालान्तरमा उनका उपदेशहरुलाई धर्म र उनलाई देवताको रुपमा मान्न थालियो । बुद्धले आजीवन दिएका उपदेश, शिक्षा, दर्शनलाई सँगालेर बनाइएको बुद्ध धर्मको मूल ग्रन्थलाई त्रिपिटक भनिन्छ । जसको अर्थ तीनवटा टोकरी भन्ने हुन्छ । त्रिपिटकलाई सुत्तपिटक, विनयपिटक र अभिधम्मपिटक गरी तीन समूहमा विभाजन गरिएको छ ।
३. आर्य अष्टांगिक मार्ग
दुःख निरोधको उपायको रुपमा बुद्धले प्रतिपादन गरेको आर्य अष्टांगिक मार्ग नै बुद्ध दर्शनको आधारस्तम्भ हो । यो कुनै काल्पनिक कुरा नभएर व्यवहारिक जिवनको बाटो हो । जसको सही अनुशीलन गर्दा मानिसले दुःखको भवसागरबाट पार पाउँछ । “पवित्र अष्टांगिक मार्ग सचेतन अवस्थामा बाँच्ने मार्ग हो । सतत सचेतन अवस्था यसको आधारशीला हो । सचेत अवस्थाको अभ्यास गर्नाले चित्तमा एकाग्रता आउँछ ।
अनि ज्ञान (प्रज्ञा) प्राप्त गर्न सकिन्छ” (दाहाल, वि.सं. २०७४, पृ ७८) । सम्यक् वचन, कर्म, आजीविका, व्यायाम, स्मृति, समाधि, दृष्टि र संकल्प नै अष्टांगिक मार्ग हुन् । दीर्घनिकाय महासत्तिपठानसूक्तमा “बुद्धले भनेका छन्– भिक्षुहरु हो ! यसै (माथि उल्लिखित आर्यअष्टांगमार्ग) लाई दुःख निरोधगामिनी प्रतिपद् आर्य सत्य पनि भनिन्छ” (उपाध्याय, वि.सं.२०७६, पृ.२०२) । जसलाई प्रज्ञा, शील र समाधिअन्तर्गत विभाजन गर्न सकिन्छ ।
३.१. प्रज्ञा ः
१. सम्यक् दृष्टि– जुन कुरा वा वस्तु जस्तो छ त्यसलाई त्यस्तै रुपमा बुझ्नु, तिनकै गुण, धर्म र स्वभावमा देख्नु वा अनुभव गर्नु सम्यक् दृष्टि हो । कायिक, वाचिक र मानसिक कर्महरु राम्रा नराम्रा जस्ताको त्यस्तै थाहा पाउनु सम्यक् दृष्टि हो । “बौद्ध वाङ्मयमा निम्न पाँच विषयमा ठिक धारणालाई सम्यक् दृष्टि भनिन्छ–
क) कर्म र कर्मफलप्रतिको ठिक धारणा,
ख) ध्यानको महत्व बारे ठिक धारणा,
ग) अनित्यता र यथाबोध बारे ठिक धारणा,
घ) क्लेश निर्मूल पार्ने मार्ग बारे ठिक धारणा,
ङ) निर्वाणको महत्व बारे ठिक धारणा” (बौद्ध संस्कृति र सम्पदा, २०७७, पृ.१८) ।
२. सम्यक् संकल्प– “राग, हिंसा, प्रतिहिंसारहित संकल्पलाई नै ठीक संकल्प भनिन्छ” (सांकृत्यायन, वि.सं.२०७६, पृ.३३) । आशक्ति, तृष्णा, द्वेष, हिंसा आदिबाट टाढै रहनु सम्यक् संकल्प हो । यसअन्तर्गत कामभोगबाट मुक्त हुने संकल्प, भलाइको चिन्तन र करुणामय संकल्प पर्दछन् । राग, द्वेष र मोहरहित चिन्तनलाई सम्यक् संकल्प भनिन्छ ।
३.२. शील
३. सम्यक् वचन– झुठो नबोल्नु, कडा नबोल्नु, चुगली नगर्नु र नचाहिँदो नबोल्नुलाई सम्यक् वचन भनिन्छ । अरुलाई चोट नपुर्याई बोल्नु, खिल्ली नउडाउनु र गलत प्रचार गर्नुहुँदैन । सम्यक् वचनअन्तर्गत पर्ने चार कुराहरु–असत्य वचन नबोल्नु, चुक्ली लगाउने काम नगर्ने, कडा र अपशब्द नबोल्ने र अनावश्यक निन्दा र व्यर्थको गफ नगर्नु । “व्यर्थका हजारौं शब्द बोल्नुभन्दा एउटा सार्थक वचन बोल्नु वेश हुन्छ । जसलाई सुनेर मनमा शान्ति हुन्छ” (उपाध्याय, वि.सं.२०७६, पृ.१९७) ।
४. सम्यक् कर्म– हिंसा, चोरी, अरुलाई हानि हुने र व्यभिचाररहित कर्म नै सम्यक् कर्म हो । नैतिक र पवित्र कर्म गर्नु, प्राणीमाथि दयाभाव राख्नु, अरुको भलाइ गर्नु र ब्रम्हचर्याको पालना गर्नु सत्कार्य हुन् । यसअन्तर्गत निम्न कार्य पर्दछन्– क) प्राणी हिंसा नगर्नु, ख) चोरी नगर्नु, ग) कामभोगसम्बन्धी मिथ्याचार नगर्नु ।
५. सम्यक् आजीविका– “सहि तरिकाले जीवन निर्वाह गर्नु । मन, वचन र शरीरद्वारा जुन काम गरिन्छ, उक्त काम ठीक हुनुपर्दछ” (रोशन दाहाल, वि.सं..,पृ.१०७)। जीवनयापनको क्रममा अरुलाई दुःख नदिनु, धोका नदिनु, नैतिकतापूर्ण काम गर्नु र पवित्र उद्योग गर्नु । हतियार, मानिस (प्राणी), मासु, मादक पदार्थ र विषको व्यापारबाट गरिने जीविकालाई बुद्धले झुठोजीविका भनेका छन् । “इमानदारितापूर्वक श्रम र उत्पादन गरेर वा उत्पादक, श्रमिक र उपभोक्ताको हितको प्रतिकूल नहुने गरी व्यापार, व्यवसायबाट गरिएको आजीविका सम्यक् आजीविका हो” (पाण्डे, वि.सं.२०७६, पृ.४०) ।
३.३. समाधि
६. सम्यक् प्रयत्न– इन्द्रियहरुलाई संयम राख्ने, खराब भावनालाई रोक्ने तथा असल भावनाको उत्पन्न गरी त्यसलाई स्थिर राख्ने प्रयत्न नै सम्यक् व्यायाम हो । मनको विकार र दुर्गुण हटाएर सद्गुण विकास गर्ने मानसिक प्रयासलाई सम्यक् व्यायाम भनिन्छ ।
७. सम्यक् स्मृति– खराब र स्वार्थी भावना त्याग गर्नु, सँधै सचेत र सतर्क रहनु, सत्य र यथार्थको स्मरण गर्नु नै सम्यक् स्मृति हो । शरीरमा जुनबेला जस्तो संवेदना उत्पन्न हुन्छ त्यसलाई त्यस्तै अनुभव गर्नु सम्यक् स्मृति हो । शरीर, वेदना र चित्तका स्वभावहरु बदलिइरहेका हुन्छन् । तिनै बदलिइरहेका संवेदनाहरुलाई सोही रुपमा स्मरण गर्नुपर्दछ ।
८. सम्यक् समाधि– “चित्तको एकाग्रतालाई ठीक समाधि भन्दछन् । जेबाट मनका विक्षेपहरुलाई हटाउन सकिन्छ, त्यही ठीक समाधि हो” (सांकृत्यायन, वि.सं.२०७३, पृ.३७५) । सम्यक् समाधिले मनलाई नियन्त्रणमा लिनुका साथै राग, द्वेष र मोहविहीन राख्नसक्छ । मनमा संग्रहित विक्षेपहरुलाई हटाएर मन, वचन र कर्मलाई एकाग्र गर्न नियमित अभ्यास गर्नुपर्छ । सुखभोगको अभिलाषा, द्वेषभाव, डाह–ईष्र्या, अल्छीपन, चञ्चलता र आशंकाले सम्यक् समाधिमा व्यवधान ल्याउँछ ।
४. सामाजिक कल्याणको अवधारणा
मानिस सामाजिक प्राणी भएकोले प्राचीन कालदेखि सामाजिक समस्या समाधान गर्ने प्रचलन रहेको पाइन्छ । सामान्यतया समाजमा रहेका कमजोर वर्गको रक्षा, सेवा र उन्नतिमा सहयोग पु¥याउने र समाजिक हित गर्ने कार्य नै सामाजिक कल्याणको रुपमा बुझिन्छ । समाजिक कल्याणको सर्वमान्य परिभाषा नभए पनि यसको मुख्य उद्देश्य कमजोर वर्गलाई सहयोग गर्नु र समग्र सामाजिक उन्नतिमा योगदान गर्नु रहेको छ ।
सामाजिक कल्याण र सामाजिक कार्य अन्तरसम्बन्धित रहेका छन् । मानव सभ्यताको विकाससँगै प्राकृतिक प्रकोप, रोग, गरिबी र शोषण रहँदै आएका थिए । मानवको आदिम जीवन असंगठित कविला समूहका रुपमा रहेको थियो । यो बेलाका मानव असुरक्षित र अराजक थिए । श्रमको विकाससँगै शोषण र दमनका कारण सम्पत्ति र सत्ताको असमान वितरण भयो । यसले गरिबी, भोकमरी, युद्धलगायतका अनेकौँ समस्याको सिर्जना ग¥यो । यस्तै प्रकारका समस्याको समाधानका लागि सामाजिक कल्याणको अवधारणा विकसित भएको थियो ।
सामाजिक कल्याणका सम्बन्धमा धेरैखालका अवधारणा र परिभाषाहरु रहेको पाइन्छ । सुधारात्मक, सुरक्षात्मक, प्रजातान्त्रिक तथा सामुदायिकलगायतका दृष्टिकोणका अवधारणा सामाजिक कल्याणका सम्बन्धमा रहेको पाइन्छ ।
संस्कृतमा एउटा शान्ति पाठको श्लोक निकै चर्चित रहेको छ– “सर्वे भवन्तु सुखिनः सर्वे भवन्तु निरामयाः सर्वे भद्राणि पश्चयन्तु मा कश्चिद् दुःखभाग्भवेत् ।” जसको अर्थ हुन्छ सबै खुसी होऊन्, सबै निरोगी होऊन्, सबैको कल्याण होस्, कसैलाई दुःख भोग्नु नपरोस् । डी.पाल चौधरीका अनुसार सामाजिक कल्याणको उद्देश्य कमजोर वर्गको त्यस्तो हिस्सालाई सेवा उपलब्ध गराउनु हो जो विशिष्ट शारीरिक, मानसिक, आर्थिक तथा अन्य बाध्यताका कारण समाजद्धारा प्रदत्त सामाजिक सेवाको उपयोग गर्न असमर्थ रहेको हुन्छ ।
वा जो सामाजिक सेवाको उपभोग गर्न पारस्पारिक रुपमा बञ्चित पारिएको हुन्छ । यसैगरी एलिजावेथ विकेन्डेनका अनुसार समाज कल्याणमा ती कानून, कार्यक्रम, लाभ तथा सेवा सम्मिलित हुन्छन् जो सामाजिक आवश्यकताको पूर्ति गर्ने प्रतिवद्धता पूरा गर्दछन् । जनसंख्याको कल्याण तथा सामाजिक व्यवस्थाको प्रभावकारी कार्यान्वयनलाई नै सामाजिक कल्याणका रुपमा अथ्र्याउन सकिन्छ ।
फिलिप्स कलीनका अनुसार समाज कल्याण ती व्यक्ति तथा परिवारलाई दिइने सेवा हो जो आफ्नो र परिवारको भरणपोषण गर्ने सामथ्र्य बनाउन कठिनाइ अनुभव गरेका हुन्छन् । यसैकारण राज्यप्रणालीमा पनि लोककल्याणकारी राज्यको अवधारणा विकास भएको पाइन्छ । तिलक आचार्यका अनुसार लोककल्याणकारी राज्यको लक्ष्य जनताको जीवनस्तर माथि उठाई उनीहरुलाई सुखी बनाउनु हो । यसरी सामाजिक कल्याणलाई विभिन्न तरिकाले अभिव्यक्त गरे पनि मूलतः कमजोर वर्गको सेवा र सिंगो समाजको उन्नतिको कार्य नै समाज कल्याणका रुपमा बुझ्न सकिन्छ ।
मानव जीवनका समस्याको समाधान तथा सामाजिक आवश्यकताको पूरा गर्नका लागि गरिने सामाजिक कल्याणको महत्व बुद्धकालीन समाजमा अझ टड्कारो रहेको पाइन्छ । त्यसकालमा प्राकृतिक प्रकोप, युद्ध, गरिबी र भोकमरी, सामाजिक विभेद र शोषणका कारण विश्वकल्याणको बोध बुद्धमा भएको पाइन्छ । बुद्धको मुख्य उद्देश्य नै सामाजिक कल्याण रहेको थियो । त्यसैले बुद्धको आर्य अष्टागिंक मार्गमा सामाजिक कल्याणका महत्वपूर्ण पक्षहरु अन्तरनिहित रहेको पाइन्छ ।
५. अष्टांगिक मार्गमा अन्तर्निहित सामाजिक कल्याणका पक्ष
५.१. दुःखको निराकरण
बुद्धको धर्म वा दर्शनको मूल आधार मानवीय दुःखको पहिचान हो । त्यसभन्दा अगाडिका दार्शनिकहरुले दुःखका सम्बन्धमा यति चासो दिएर खोजेका थिएनन् । अझ त्यसमा पनि आर्य अष्टांगिक मार्ग त मानवीय दुःख निवारणकै लागि प्रतिपादन भएको हो । धर्मचक्र प्रवर्तनको प्रथम उपदेशमा बुद्धले दुःखको कुरा उठाएका छन् । जसलाई चार आर्य सत्य भनेर चिनिन्छ । १. दुःख छ २. दुःखको कारण छ ३. दुःखको नाश छ र ४. दुःख नाशको निश्चित मार्ग छ ।
यी चारमध्ये सर्वप्रथम दुःख छ भनेर बुद्धले दुःखको स्वीकृति गरेको देखिन्छ । त्यसपछिका तीन सत्यहरु दुःखको कारण र तिनको नाशको लागि अभिप्रेरित छन् । दुःखको स्वीकृतिको तात्पर्य बुद्ध दुःखवादी थिए भन्ने होइन । दुःख नाशपछि प्राप्त हुने वस्तु सुख भएकोले बुद्ध सुखवादी अर्थात् सबैको दुःख नाश गरेर सबै प्राणीलाई सुखमा पु¥याउने बाटोको रुपमा उनले आफ्ना उपदेशलाई अगाडि सारेका छन् । यसरी दुःख नाशको उपाय नै बुद्धको मूलभूत दर्शन रहेको छ ।
बुद्धले तत्कालीन समाजका दुःखहरुलाई नजिकबाट हेरेका थिए । मानिस मानिसबीचको शोषण, दासप्रथा, मानव बेचबिखन, हिंसा, यातना र दिनरात श्रम गरेर पनि भोकै रहनुपर्ने अवस्था त्यतिबेला थियो । दास र दासीहरुले दासमालिकहरुको अमानवीय दण्डका डरले कठोर परिश्रम गर्नुपर्दथ्यो । यस परिस्थितिको उल्लेख दीर्घनिकायको कूटदन्तसूक्त र संयुक्तनिकायको यन्त्रसूक्तमा समेत भएको छ । यस्ता दुःखहरुलाई नजिकबाट देखेको हुनाले बुद्धले अष्टांगिक मार्गलाई मानवीय दुःख निराकरणमा केन्द्रित गरेको पाइन्छ ।
५.२. अहिंसा
बुद्धकालीन समाजमा चोरी, डकैती, लुटपाट, हिंसाका घटनाहरु अत्यधिक हुने गर्दथे । सम्पत्ति, सत्ता र प्रतिष्ठाको तीब्र लोभ र लालसाले गर्दा यस्ता घटनाहरु हुन्थे । यसप्रकारका गतिविधिमा संलग्नहरुलाई दिइने हिंसात्मक सजाँय बारे दुण्डबहादुर बज्राचार्यले अनुवाद गरेको मज्झिम निकाय, महादुःखस्कन्धसूत्रमा वर्णन गरिएको छ–“यस्ता लुटेराहरु समातिएमा दास मालिकले कठोर दण्ड दिन्छन् ।
कोर्राले, छडीले, फलामको रडले हिर्काउनु, हात, खुट्टा, कान, नाक काटिदिनु, खप्परै उडाइदिने, जिउँदो मानिसका शरीरमा तेलले भिजेको कपडा बाँधेर आगो सल्काएर मार्ने, टाउकाको छाला खुर्किदिने जस्ता अमानवीय सजाँय दिएको पाइन्छ ।” त्यसैगरी उक्त समयमा धर्म र यज्ञका नाममा गरिने क्रुर हिंसा र पशुबली बारे दीर्घनिकाय, कूटदन्तसूक्तमा उल्लेख पाइन्छ । “एक समय बुद्ध मगध देशको भ्रमण गर्दा खाणुमत नामक गाउँमा गएका थिए ।
त्यो गाउँमा कुटदन्त नामक सबैभन्दा धनी र प्रतिष्ठित ब्राह्मण थिए ।…त्यस कुटदन्त ब्राह्मणले सब्बाशतशतिका नामक महायज्ञ गर्न लागेको र त्यसमा बली दिनको लागि सातसय गोरु, सातसय बाच्छाबाच्छी, सातसय बोका, सातसय भेंडाहरु मौलामा बाँधेर ठिक्क पारिएको थियो” (उपाध्याय, वि.सं.२०७६, पृ.१८७) । बुद्धले ठूलो भूमिका खेलेर उक्त प्राणी हत्या रोकेका थिए । “बुद्ध दर्शनमा अहिंसा सबैभन्दा महत्वपूर्ण विषय हो जो सर्वत्र र सर्वरुपमा निषेध गरिएको छ” (अम्बेडकर, सन् १९९१ पृ.१०१) ।
यस्ता हिंसाहरु भइरहने हुँदा बुद्धले आर्य अष्टांगिक मार्गमा अहिंसा, अचौर्य र दानलाई जोड दिएको पाइन्छ । तत्कालीन समाजमा व्याप्त दासप्रथा, महिला हिंसा, पशुबली, जातीय भेदभाव, युद्ध, काटमार विरुद्ध बुद्धले हतियार व्यापार, व्यभिचार, मानिस व्यापार, जीव हिंसा, मांस भक्षण र काटमार नगर, प्राणीप्रति मित्रता भाव राख भनेर उपदेश दिएका छन् ।
५.३. मानवतावाद
बुद्धले आर्यअष्टांगिक मार्गमा अरुलाई दुःख नदेऊ, मानव बेचबिखन नगर, शोषण नगर, चोट नपुर्याऊ, असल काम गर, खराब भावना त्याग, अरुको निन्दा नगर भनेर मानवतावादी विचार व्यक्त गरेका छन् । “बुद्धका विचारहरु अत्यन्त मानवतावादी थिए । जहाँ–जहाँ बुद्धले उपदेश दिन्थे, त्यहाँका आम मानिसहरु अत्यन्तै प्रभावित हुने गर्दथे । त्यसो हुनुमा उनका जीवनोपयोगी र समतामूलक विचारहरु नै मुख्य थिए” (चापागाईं, वि.सं.२०७८.पृ.१४९) । मानव सभ्यताको इतिहासमा सर्वप्रथम दासप्रथाको विरोध गर्ने र मानिसको किनबेच गर्ने कुरालाई रोक्नुपर्छ भन्ने विचार बुद्धले अघि सारेका थिए । “बुद्धले गरिबहरुप्रति सहानुभूति प्रकट गरेका छन् ।
आफ्नो बाल्यकालमा नै बुद्धले एकअर्काको शोषण गर्न नहुने विषय उठाएका थिए” (अम्बेडकर, सन् १९९१ पृ.४५०) । मानवीय सेवामा बुद्ध आँफै लाग्दथे । वैशालीमा महावीरको निर्वाणपछि परेको खडेरी र रोगव्याधिबाट मानिसहरुलाई बचाउन बुद्ध त्यहाँ गएको र भिक्षुसंघसहित अन्य ठाउँबाट भिक्षा र जडिबुटी ल्याई मनिसहरुको जीवन बचाएको पाइन्छ । प्रज्ञापारमिता सूत्रहरुमा धेरैपटक “सर्वसत्त्वहिताय”को प्रयोग गरेको हुनाले सबै प्राणी जगतको दुःख विनाश बुद्धका उपदेशहरुको सार हो । साथै उनले “बहुजनहिताय बहुजनसुखाय” भनेका छन् ।
यहाँ बहु धेरै होइन सर्व अर्थात् सबैको अर्थमा प्रयोग भएको छ भने जन्मिनेको अर्थमा जनको प्रयोग भएको छ । त्यसैले केवल मानव समुदाय मात्र नभएर सबै जन्मिने प्राणीहरुको हित र सुखका पक्षमा बुद्धले उपदेश दिएका छन् ।
५.४. भेदभाव अन्त्यमा जोड
गौतम बुद्ध समाजमा विद्यमान लैंगिक, जातीय एवं वर्गीय विभेदका विरुद्धमा थिए । व्यभिचार नगर, मानव बेचबिखन एवं शोषण नगर, ब्रह्मचर्यको पालन गर, असल विचारहरु धारण गर, पवित्र कर्म गर आदिजस्ता उपदेशहरु अष्टांगिक मार्गमा उनले दिएका छन् । उनले प्रज्ञाशील सम्पन्न छोरी प्रज्ञाहीन छोरो भन्दा उत्तम हुन्छिन् भनी कोशल नरेशलाई सम्झाएका छन् ।
विभेद र संकीर्णता बोकेको तत्कालीन समयमा पनि बुद्धले महिला र पुरुष बराबरी हुन् भनेको कुरा दीर्घनिकायमा उल्लेख छ– “प्राकृतिक ऋतुचक्रको स्वभाववश षड्धातुबाट जीवको सृष्टि भयो । जीवमा भावना, तृष्णा र अहंकार पैदा भयो । फलफूल, कन्दमूल र अन्नहरु खाँदै ठाउँठाउँमा बस्दै गर्दा मान्छेका रुप, रंग भिन्न भए । तर पनि नरनारी बरबरी छन्” (बज्राचार्य, वि.सं.२०५६,पृ.४३३) । त्यतिबेला बहुपत्नी प्रथा, बालविवाह र विषमवय विवाह व्यापक थियो । बुद्धले आफ्नो उपदेशमा एकपत्नी प्रथा र समवयी विवाहलाई जोड दिएका छन् ।
उनले आफ्नी सानिआमा महाप्रजापती, श्रीमती यशोधरा, गणिका आम्रपाली आदि महिलाहरुलाई प्रवज्या दिई भिक्षुणी परम्पराको सुरुवात गरेका थिए । “बुद्धकालीन समाज विभिन्न जात र वर्गमा बाँडिएको थियो र भेदभावमा कट्टरता थियो”(प्रधान, २०७६, पृ.२०) । तापनि उनले जन्मका आधारमा नभई प्रज्ञा, शील, करुणा, मैत्रीका आधारमा व्यक्तिको मूल्यांकन गरेको देखिन्छ । उनले भनेका छन्– “जटाले, गोत्रले अथवा जन्मले मात्र मानिस ब्राह्मण हुँदैन, जो सत्य र धर्ममा अडिग छ उही ब्राह्मण हो” (न जटाहि न गोत्तेन न जच्चा होति ब्राह्मणो ।
यम्हि सच्चं च धम्मो च सो सुखी सो च ब्राह्मणो ।।) (धम्मपद, वि.सं.२०७०, पृ.७२) । बुद्धका दृष्टिमा सबै मानिस बराबर थिए । बुद्ध संघमा शूद्र, चाण्डाल, स्त्री एवं अस्पृश्यको भेद थिएन । मज्झिमनिकायमा बुद्धले जसरी ठूला नदीहरु गङ्गा, यमुना, अचिरवती आदि समुद्रमा प्रवेश गरेपछि आफ्नो पहिलाको नाम छोड्दछन् र समुद्रकै नामले चिनिन्छन्, त्यस्तै सबै जातिहरु यस विनयमा आएर शिक्षित भएर प्रव्रजित हुन्छन् भनेको कुरा द्वारिकादास शास्त्रीले उल्लेख गरेका छन् ।
५.५. मध्यममार्ग अपनाउन सुझाव
आर्यअष्टांगिक मार्ग अतिवादी सोंच विरुद्धको मध्यममार्गी विकल्प हो । संयुक्त निकायको धर्मचक्र प्रवर्तन सूत्रमा बुद्धले काम–सुखमा लिप्त हुने र शरीर पीडामा लाग्ने दुवै अतिलाई छोडेर आफूले मध्यममार्गको खोजी गरेको र त्यो मध्यममार्ग भनेको आर्यअष्टांगिक मार्ग हो भनेका छन् । उनले भगवान्का नाममा हिंसावृत्ति अँगाल्ने, ढोंगी व्यवहार गर्ने र हठयोगी या यौनभोगी भएर जीवन गुजार्ने प्रवृत्तिको आलोचना गर्दै बीचको व्यावहारिक बाटो अँगाल्ने उपदेश दिएका छन् ।
बौद्ध दर्शनले “कर्म गर फलको आश” नगर भन्ने गीताको कर्मवादभन्दा अलग असल काम गरेमा कर्मफल स्वतः प्राप्त हुन्छ भन्ने कुरा बताएको छ । अष्टांगिक मार्गमा बुद्धले दिएका उपदेशहरुमा त्यतिबेलाको समाजको द्वन्द्व, अन्तरविरोध र अतिवाद अन्त्य गर्ने अभिप्राय रहेको देखिन्छ । दान गर, अरुमाथि दया राख, प्रतिशोध नराख, हिंसा, द्वेष, आशक्तिबाट बच, सँधै सचेत बन, राम्रा र नराम्रा कर्मको पहिचान गर भनेर उनले उपदेश दिएका छन् ।
बहुजनहिताय बहुजनसुखाय नै बुद्धको दर्शनको मूल उद्देश्य हो । बुद्धले भनेका छन्– “आफ्नो चित्तलाई शुद्ध गर, कुनै पाप नगर, कुशल चित्तको वृद्धि गर, यही नै बुद्धको शिक्षा हो” (सब्बपापस्स अकरणं, कुसलस्स उपसंपदा । सचित्तपरियोदपनं एतं बुद्धान सासनं ।) (धम्मपद, वि.सं.२०७०, पृ.७२) । कर्मकाण्ड र भक्तिको अपेक्षा उनको झुकाव ज्ञान र बुद्धिवादतिर बढी थियो । उनले अवलम्बन गरेको मध्यममार्गकै कारण सारिपुत्र, मौद्गल्यायन, महाकश्यप, कुटदन्त, सोणदण्ड, महाकात्यायन जस्ता ब्राह्मण र धनी साहुहरु उनका शिष्य थिए ।
मगधका राजा बिम्बिसार र कोशलका राजा प्रसेनजीत उनका अनुयायी थिए । शाक्य, मल्ल, लिच्छवी गणतन्त्रमा उनका अनुयायीहरु धेरै थिए । त्यतिबेलाका धनकुवेर र ठूला साहुहरुले बुद्ध र भिक्षुहरुको लागि सुन्दर वाग खरिद गर्ने र ठूल्ठूला विहार बनाउने प्रतिस्पर्धा नै गरेको देखिन्छ ।
५.६. संयमता र मन नियन्त्रणको उपदेश
चोरी, हिंसा, अनैतिक काम, लोभलालच र व्यभिचार अथवा असल कर्म गर्ने, मृदु वचन बोल्ने जस्ता सबै अवस्थाहरु पहिला मनमा उत्पन्न हुने भएकोले अष्टांगिक मार्गमा मनलाई वशमा राख्नमा र निर्मल बनाउनमा बढी जोड दिइएको छ । मनमा कुविचार उत्पन्न हुन नदेऊ, कुनै काम गर्न हुने वा नहुने पहिचान गर, हरेक क्षण सचेत रहू आदि उपदेशमार्फत् बुद्धले मन नियन्त्रण र आत्मिक शान्तिलाई प्राथमिकता दिएका छन् ।
मनबाट नै राम्रा नराम्रा विचार र कर्मको आरम्भ हुने भएकोले मनको नियन्त्रणको लागि संयमता अपनाउनु पर्ने विचार उनले व्यक्त गरेका छन् । धम्मपदको पहिलो पद्यमा बुद्धले भनेका छन्– “मनोपुब्बङ्गमा धम्मा मनोसेट्ठा मनोमय । मनसा चे पदुट्ठेन भासति वा करोति वा । ततो नं दुक्खमन्वेति चक्कं वा वहतो पदं ।१।” अर्थात् सबै कार्य मनबाट आरम्भ हुन्छन्, मन नै सर्वोपरि छ, संसार मनोमय छ, मनमा दुराशय राखेर बोल्ने वा काम गर्ने मानिसलाई दुःखले गोरुगाडाको पाङ्ग्राले गोरुलाई पछ्याएजस्तै पछ्याइरहन्छ (धम्मपद, वि.सं.२०७०, पृ.२) ।
गोपीरमण उपाध्यायका अनुसार तत्कालिन समाजमा व्याप्त चोरी, हिंसा, लुटपाटका घटना नियन्त्रण गर्न चोरहरुको वध गर्ने गरिन्थ्यो तर व्यक्तिहरुलाई शिक्षित पारेर तृष्णाको शमन गरे समाधान पनि स्वतः हुन्छ भन्ने कुरा बौद्ध चिन्तनको आधारभूत निष्कर्ष हो । ईसापूर्व ६०० वरिपरिको समयमा ठूलो सामाजिक उथलपुथल भएको थियो । आदिम साम्यवादी युगको अन्त्य भएर दासमालिकका राज्यसत्ताले जन्म लिइरहेका थिए । अनन्त लोभ, तृष्णा, कामभोगको चाहना, लुटपाट, हिंसा र काटमारजस्ता घटना भइरहन्थे । त्यसलाई नियन्त्रण गर्ने कानुन र बलियो राज्यसत्ता नभएकोले पनि बुद्धले आत्मिक नियन्त्रण, शान्ति र मनोवैज्ञानिक पक्षमा जोड दिएको हुनुपर्दछ ।
यसैसन्दर्भमा डा. राधाकृष्णनले बौद्धधर्म अनिवार्य रुपमा मनोविज्ञान, तर्कशास्त्र एवं नीतिशास्त्रको समुच्चय हो । जसमा अध्यात्मशास्त्र सन्निविष्ट छैन भनेका छन् । यसप्रकार आर्यअष्टांगिक मार्ग र समग्र बौद्धदर्शनले आत्मिक नियन्त्रण र संयमतामार्फत् मानव सभ्यतालाई शान्तिपूर्वक समृद्धितर्फ लैजाने अभिलाषा राख्दछ ।
५.७. सदाचार र आर्थिक समानतावादी विचार
आजको सन्दर्भमा सदाचार निकै नै महत्वपूर्ण छ । बुद्धले झुटो जीविका छोडेर सच्चा तरिकाबाट जीविका चलाउन प्रेरित गरेका छन् । उनले हातहतियारको व्यापार, प्राणी व्यापार, मांसको व्यापार, मादक पदार्थको व्यापार र विषको व्यापारबाट गरिने कमाइलाई वर्जित गरेका छन् । त्यसैगरी– तराजु र ढकको ठगी, घूस, वञ्चना, कृतघ्नता, कुटिलता, वध, डाँका, छेदन, बन्धन र लुटपाटको जीविकालाई पनि निषेध गरेका छन् ।
बुद्धका थुप्रै देशनाहरु चोरी, ठगी, ढाँटछल र खराब भावनाविरुद्ध छन् । तत्कालीन समाजमा एकातिर जीवन पाल्नकै लागि गरिबहरुले अमानवीय काम गर्नुपर्ने, दासहरुले यातना भोग्नुपर्ने, किनबेच हुने, वस्तुसरह दान उपहारमा लेनदेन हुने अवस्था थियो भने अकोतर्फ धनी, साहु र सामन्तहरुले आफ्नो सुखसयल, भोजभतेर, विवाह, महल निर्माणमा पनि करोडौं खर्च गर्दथे । “तत्कालीन समयमा एकापट्टि अत्यधिक सुखी सम्पन्न ब्राह्मणहरु, क्षत्रीय राजाहरु (दास मालिक)को ऐश्वर्यपूर्ण एवं अरुको श्रममा आधारित परजीवी जीवन थियो भने अर्कोतर्फ सामुदायिक भूमिसँग गाँसिएका किसानहरु, नीच भनिएका जातजातिका मानिसहरु, दारिद्र्यपूर्ण जीवन र कंगालहरुको समूह थियो” (हटुवाल सन् २०२१, पृ.१०४) ।
बुद्ध सदाचार र आर्थिक समानता बारे अत्यन्त सचेत र दानपारमिताको अभ्यासद्वारा समाजमा सबैको दुःख मेटाउने प्रयासमा लागेका देखिन्छन् । उनका आर्थिक तथा राजनीतिक क्षेत्रसम्बन्धी विचारहरु चक्कवत्ती सिंहनाद सुत्त एवं कुटदन्त सुत्तमा संगृहित छन् । जसमा उनले निर्धनता नै पापको कारण भएकोले यसको अन्त्य गर्न राज्यले नै पहल गर्नुपर्ने विचार राखेको देखिन्छ । “उनले आर्थिकरुपले समस्यामा रहेका गरिब, दुःखीलाई राज्यले मद्दत दिनुपर्दछ भनेका छन् । उनले जबसम्म निर्धन व्यक्तिहरुका लागि राजाको भण्डार खोलिंदैन तबसम्म प्रजा शान्तिपूर्वक बस्न सक्दैनन् र उनको शासनलाई उत्कृष्ट भन्न सकिंदैन” भनेका छन् (अमात्य, वि.सं.२०४३, पृ…) । यसरी आर्थिक समानता र सदाचार मार्फत सामाजिक कल्याणलाई प्राथमिकता दिएको पाइन्छ ।
६. निष्कर्ष
आर्य अष्टांगिक मार्ग एक आचारसंहिता हो । असल मनसायद्वारा राग, द्वेष, ईष्र्या, हिंसा, झगडा, झूट–फरेब, परपीडा, अकल्याण, असंयम त्यागेर सरल जीवन व्यतित गर्नु–गराउनु यो आचारसंहिताको अभिप्राय हो । बुद्धले आफ्नो ज्ञान दर्शनलाई मानवीय दुःखको निराकरणमा केन्द्रित गरेका छन् । दुःख निरोधको उपायको रुपमा गौतम बुद्धले प्रतिपादन गरेको आर्यअष्टांगिक मार्गको विश्लेषण गर्ने उद्देश्यले यो अध्ययन गरिएको थियो । यसमा आर्यअष्टांगिक मार्गमा अन्तर्निहित सामाजिक कल्याणका पक्षहरु र कस्तो परिस्थितिमा बुद्धले अष्टांगिक मार्गको प्रतिपादन गरेका थिए सो केलाउने प्रयास गरिएको छ ।
यो “अष्टांगिक मार्गमा अन्तर्निहित सामाजिक कल्याणका पक्षहरु” अध्ययन गुणात्मक शोध विधिबाट गरिएको हो । यसमा बुद्ध धर्मका मूलग्रन्थ त्रिपिटकअन्तर्गतका केही ग्रन्थहरु र अन्य पुस्तक, शोधपत्र, जर्नल, पत्रपत्रिका आदिको अध्ययनबाट आवश्यक सूचना तथा तथ्यांकहरुको संकलन अनि ब्याख्या र विश्लेषणात्मक विधिबाट यो लेखन तयार पारिएको हो । गौतम बुद्धको जीवनी र चार आर्यसत्यको सामान्य चर्चा गरिएको भए तापनि यो लेख मूलतः बुद्धद्वारा प्रतिपादित आर्य अष्टांगिक मार्गमा अन्तर्निहित सामाजिक कल्याणका पक्षहरुको विश्लेषणमा सीमित छ ।
दुःख निवारणको मध्यमार्गी बाटोको रुपमा उल्लेख गरिएको आर्य अष्टांगिक मार्गको अध्ययनबाट यसमा सामाजिक कल्याणका थुप्रै विषयहरु रहेको देखिन्छ । यो मानवीय दुःख निवारणको बाटो हुनुका साथै अहिंसावादी, मध्यमार्गी, मानवतावादी र विभेदविरोधी दर्शन पनि हो । त्यसैगरी यसले सदाचार, आर्थिक समानता र आत्मिक नियन्त्रणमा पनि जोड दिएको छ । बुद्ध तत्कालिक समयका समाज सुधारक, त्यागी पुरुष एवं दार्शनिक थिए । उनले समाजका अमानवीय क्रियाकलाप, अन्याय, शोषणजस्ता प्रवृत्तिविरुद्ध सरल तरिकाले आफ्ना विचारहरु सम्प्रेषित गरे ।
उनका उपदेशहरुले सबै प्राणीहरुको हित गरेकाले कालान्तरमा उनका उपदेशहरुलाई धर्म र उनलाई देवताको रुपमा मान्न थालिएको देखिन्छ । तर पछिल्लो चरणमा यसको सारभूत मान्यतालाई बङ्याएर हुर्कँदै गएको अवतारवाद, मूर्ति पूजा, आडम्बरपूर्ण प्रवृत्तिको अन्त्य गर्दै बुद्धका प्रारम्भिक विचार, चिन्तन र उपदेशहरुलाई जीवनवादी दर्शनमा विकास गर्नु जरुरी छ । जसबाट शान्ति, सदाचार, सामाजिक कल्याण र मानवतावादी धर्मको रुपमा बुद्धका विचारहरुलाई पुनःस्थापित गर्न योगदान पुग्ने देखिन्छ ।
(लुम्बिनी बौद्ध विश्वविद्यालयमा विद्यावारिधिका शोधार्थी हिरा ए.सी.को यो लेख किरण पुस्तकालयद्वारा प्रकाशित “हाम्रो पुरुषार्थ”बाट साभार गरिएको हो ।)