कक्षा १२ को नतिजासँगै आएको हलचल

जीवन पोखरेल

स्वभावैले चञ्चले उमेर, बढ्दै गरेको जवानी, समय किशोरावस्था, कहिले अलि बढी खुसी त कतिबेला निकै दुःखी रहेछ, मैले महसुस गरेको यो परिस्थिति । सानै छँदा म कहिले अरुजस्तै अथवा आफूभन्दा ठूला मान्छे जत्रै कहिले बन्छु होला भन्ने निकै चिन्ता लाग्थ्यो ।’ त्यो चिन्ता थियो त केवल उचाईको । अर्थात उचाइले कहिले भेटाउला वा जितुला ।

भलै चिन्ता थियो, उनीहरुले लगाउने पोसाक र सम्मान । म पनि कहिले ठूलो हुँला र त्यो पहिरन लगाउन पाउँला । अब उचाइले क्र्रमिकता ल्याउन थाल्यो, अलि ठूलो पनि भएँ तर सानो छँदाको सोचाइ र अहिले भोगिरहेको परिस्थिति विल्कुलै फरक रहेछ । सानो छँदाको सोचाइ केवल सपना मात्र रहेछ ।

मैले महसुस गरेको समय सबैमा लागू हुन्छ भन्ने पनि होइन, नितान्त मनमा उब्जेका भावनाहरु कतिपयलाई ठ्याम्मै मेल खान पनि सक्छ । अलिकति दाह्री, जुँगा आइसकेको अवस्था, “ए ! अब त यसको पनि दाह्री, जुँगा आएछ” भन्दा कताकता लाज, सरम कताकता रिसको पोको, कतिबेला खुसी पनि भैहाल्ने यस्तै थियो यो १८ वर्षे उमेर पनि ।

यस्तो हुँदैमा सबै मेरो दोष त पक्कै पनि छैन होला, मेरा इतिहासका बाउ–बाजे आमा–हजुरआमा देखि लिएर सबैमा हुने प्राकृतिक नियम पनि होला । तर यति भन्दैमा कहाँ आफ्नो चित्त बुझ्यो र ! कसैले जिस्काए निकै रिस उठ्थ्यो । यो त भयो उमेरको कुरा । ठिकै छ, १८–१९ वर्षे उमेर यस्तै रहेछ स्वभाविक परिवर्तन न हो ।

अब जाऊ–मनोविज्ञान तर्फ । अझै बुन्दै छु मेरो ठूला सपना, बनाउँदै छु नयाँ योजना, सोच्दा बित्तिकै सजिलै पाइहाल्छु जस्ता सुन्दर सपना अझै जिवित छन् । कहिले समाज परिवर्तनको आकाङ्क्षा राख्छु, कहिले मस्तै कमाउने विदेश जाने सोच्दै छु घरि–घरि देशको अस्थिर राजनीति नियाल्छु, यस्तै उथलपुथल हुन सुरु गर्छ मेरो यो नार्थे मनमा’।

करिब १ महिना अघिदेखि नै लौ, अब १२ को नतिजा आउँदैछ कस्तो आउला, कति प्रतिशत, कुन ग्रेड आउला भन्ने अभिलाशा छँदै छ । तर पनि ओहो ! एउटा विषय त अलि सोचे जस्तो भएको छैन कतै विषय लाग्ने पो हो कि ! यदि लागि हाल्यो भने मेरो हालत के होला ? अरु साथिहरु पास भए भने त उनीहरु धेरै माथि जानेछन् म निकै तल पर्नेछु । विषय लागेको थाहा मात्र पाए बाबा मम्मीको इज्जतमा धक्का लाग्छ ।

दिदिको प्रेरणा र दाईको लगानी खोलामै बग्छ ! ओहो, मलाई के भन्नुहुन्छ होला । गाउँमा पनि थाहा पाउँछन् फलानाको छोरो फेल भयो रे ! भन्दा बाबा–मम्मीको अवस्था के होला ? म स्वयम् मेरो त के कुरा फेल भए भने त मरेसरह हो । अरु कुनै विकल्प छैन होला । मलाई त मार्छन् नत्र मै आफै……। यतिसम्म पनि डर लाग्दो रहेछ ।

ओहो ! नि । तर पास भए भनि …त म हाईहाई पक्कै हो, मिहिनेतको सार्थकता हो, पारिवारिक खुसी हो, समाजको एउटा इँटा हो । तर……मैले सोचे जस्तै गरी सबै विषयमा फ््याट्र्ट ए’र्, ए’ ग्रेड भएर आजै नतिजा प्रकाशन भएपनि हुन्थ्यो ! आज किन? भर्खरै आएपनि म कति उत्सुक हुन्थे होला, पास भएको खबर कोकोलाई सुनाउँथे होला……..घर मम्मी, बाबा, दाई, दिदी…..यस्तै यस्तै अन्यलाई ।

केटि साथी भए उसलार्ई पनि सुनाउँथे कि……तर छैन र पो । किन यति हतार भएको मलाई, मलाई जस्तै हतार यो राष्ट्रिय परीक्षा बोर्डलाई किन भएन ? राति सुतेको बेला सपना देख्छु कहिले घाँस, कहिले पशुहरु, कहिले खोला तर्छु कहिले तर्दिन ।

कसरी विश्वास गरुँ त्यो सपनालाई? कि सधै राम्रै राम्रो देखे पनि राम्रै हुन्छ भन्ने……..नराम्रो सधै देखे पनि साँच्चिकै नराम्रो होला भन्ने ग्यारेन्टी हुने हो । तर कुन सपना राम्रो? कुन नराम्रो? कसलाई थाहा छ? सबै हल्लै हल्ला मात्र……………।
कक्षा ११ पढ्दा देखि फेसबुक चलाउन थालेको थिए ।

हेर्छु पर्सी आउँछे र नतिजा…..। ओहो ! आउला र………..। के गरुस नआई नछाड्ने भो, बिहानै आउला कि ! दिउँस आउने होकि वा राति आउने हो । लौ, अब के गर्ने? कतिबेला आउला……..। अलि तल सार्छु केहि दिनमा नतिजा प्रकाशन हुनेछ ।

कस्तो केहि दिन……? किन आधिकारिक पेजहरु छैनन्? यदि अन्य कामकाज नभएकैले चलाएको हो भने पनि मेरो मन अतालिने किन बनाईदिनु ? किन सन्त्रासमा पार्नु…. यदि देखे चिनेको भए त म….. के गर्थे… गाली गर्थे……….रिस पोख्थे । यो मनले सोच्दैन किन ढिला गर्छ भन्ने उसको पनि समय छ, तालिका छ, रुटिन छ भन्ने बुझ्दैन त्यसैले त मन अल्मलिन्छ र रिसले चुर हुन्छ ।

एकजनाले भन्नुहुन्थ्यो, घटना (समय) बाजा बजाएर थाहा दिएर आउँदैन, एक्कासी आउँछ । तर मनले कहाँ मान्थ्यो ! केहि दिनमा त पक्कै आउला थाहा पनि छ । तर किन यति धेरै न्यास्रो लाग्छ, किन आतुर लाग्छ……किन “तातै खाउँ जल्दै मरौँ” हुन्छ? किन त….केही छ कि….। फलामे ढोका….स्वर्गको बाटो…..एउटा गौडो, पूर्वप्राथमिक जोडेर झण्डै १२– १३ वर्षसम्म कुरेको त्यो समय यहाँसम्म आउन गरेको सङ्घर्ष, मिहिनेत, पारिवारिक लगानी शिक्षकहरुको मार्गदर्शन !

के एत्तिकै मेरो मनमा पहिरो गएको होला र ! नभन्दै २०७६ साल श्रावण १३ गते दिउँसो कक्षा १२ को नतिजा प्रकाशन भयो । दाईको सहयोगमा नतिजा हेरियो र्। बी+’ (B+) ग्रेड सबै बिषय उत्तिर्ण ७२.२५% पनि पारिवारिक बधाईले यो मन फुरुङ्गै भयो । अनुहारमा छुट्टै चमक आयो । सबै सन्त्रासका पोकाहरु, डरका नाम, निशाना नरहने गरी सबै सबै तरङ्गहरु नदिमै बगाइदिए । नदिले आफ्नै गतिमा सलल र छलछलको ध्वनिमा आफ्नै गन्तब्यतिर धकेलिरह्यो ।

सोच्थे, रिजल्ट आएपछी यो मन शान्त रहनेछ, सितल हुनेछ । तर यसको ठीक विपरित हुने रैछ । तब मैले जिन्दगीको सुरुवाती चरण भोग्दैछु । निकै तनाब आउन थाल्यो । कहाँ पढ्ने ? के पढ्ने ? म यसैमा रोमलिन्छु त्यसमा झन सबैले सोध्छन्, कहाँ पढ्ने भईस ? म निरुत्तरित हुन्छु । मनमा अनेक तरहका तरङ्गहरु च्लिरहन्छन् । तम्घास पढ्ने, बुटवल पढ्ने, काठमाण्डौ पढ्ने ? कि नपढ्ने विदेश जाने ?

विदेश गए कुन ठाउँ जाने ? कि यतै स्वदेशमै बसेर व्यापार व्यवसाय गर्ने ? खै के गर्ने, के नगर्ने मन यस्तै दोधारमै हुन्थ्यो । जापान, कोरियाको चर्चा चल्दै थियो, प्रचार हुदै थियो तर अहिलेजस्तो व्याप्त त थिएन । तरपनि भारतसम्म भए नि विदेश नै जाने कि भन्ने विचार मेरो पनि नआएको होईन । फेरी अहिले पढ्न छोडे भनी पछि पढिएला र ? भन्ने डर पनि थियो ।

फेरी दाई र दिदि स्नातकमा अध्ययन्रत हुनुहुन्थ्यो मलाई पनि होइन, स्नातक त पढ्नैपर्ने रहेछ क्याहो भन्ने पनि हुन्थ्यो । न त शारिरीक रुपमा पहलवान् नै परे । सीप नसिकी विदेश जाँदा दुःख पाईन्छ रे भन्थे । जे पायो त्यही काम गर्न नसकिनी पो होकि भन्ने चिन्ता पनि थियो ।

त्यसैले विदेशिने कुरा पनि पन्छयाए । तर त्रिभुवन विश्वविद्यालयले समयमा परीक्षा र नतिजामा ढिलाई गर्दा त अहिले पनि पश्चाताप लाग्छ, कि म उतिबेलै विदेशिनुपर्ने । टन्न कमाउने । कुरिरहनुपर्ने त्रि.वि को ४ वर्षे स्नातकले ल्याएको खिन्नता हालै शिक्षक सेवा आयोग पास गरी ३–४ महिना बिताईसक्दा पनि किन किन यो मन अस्थिर रहन्छ, नेपाल कि विदेश भन्ने विषयमा । उतिबेला नेपाल नै रोजेर बसियो ।

अब रह्यो बुटवल कि काठमाण्डौ । तम्घास पनि २ वर्ष बसियो नै । अब स्नातक कहाँ पढ्ने ? दाईले रोजाउनुभयो । तर मन दोधारमै ! कहाँ गए उत्तम हुने ? बुटवल र काठमाण्डौ १÷१ वटा क्याम्पसमा मात्रै रहेछ स्नातकमा विज्ञान शिक्षा संकाय । अन्त्यमा बुटवल नै रोजे । ३ महिना असाध्यै जाडो ।

१–२ महिना ठिक्क । बाँकि सबै महिना गर्मी ! ओहो ! त्यो गर्मी सम्झिदा धन्न पार गरे झै लाग्छ । बिना पङ्खा टिक्न नसकिने पकाउनै नसकिने ,,,, पढ्न त झन के कुरा पङ्खाको आवाजले डिस्टर्व गर्ने, जाडोमा जाडो हुने ,,,, तैपनी गोलपार्कमा बसियो र बिहान साँझ चाँहि शितल हुन्थ्यो ।

दिउँसो गर्मीमा एकछिन नसुती उठेर पढ्न सकिदैनथ्यो । क्याम्पस गयो रेगुलर पढाई नहुने । सर आए छिट्टै कोर्स सक्किने । कोर्स सकिएपछी सर सम्पर्क विहिन हुने । ओहो ,,,, बरु १२ पछी लगत्तै ब्यापार नै गरेको भए त नाफा हुन्थ्यो होला । त्रि. वि . को आश गरेर लगाएको लगानी मैले कहिले ? कसरी तिर्ने ? फल कहिले पाउने ? बरु सीप नै सिकेको भए त सानोतिनो जागिरलाइ त अड्किनु पर्ने थिएन ।

बुटवलको प्रचन्ड गर्मी, न त सिप नै थियो कुनै । सिप सिकेकाहरुलाई नि गाह्रो थियो, साधन चाहियो, सामान चाहियो लगानी गर्न परो । कमाएर तिर्नलाई मासिक ७०००÷– बाट सुरु हुने प्राइभेट जागिरले भाडा तिनर्,े खाना खानेकी ? सञ्चय गरी राखेर साधन र सामान किन्ने ? जसोतसो आफ्नो खर्च जेनतेन पु¥र्याउँछन होला जस्तो लाग्छ ती सिकारु प्राविधिकहरुलाई हेर्दा ।

हुनत, आफ्नो त्यत्ति क्षमता पनि छैन । तिनिहरुको तुलनामा त केही सिप नभएको बुङ्गो म । परिस्थिति फरक हँुदो हो, म भन्दा पुर्वजहरुले,, अग्रजहरुले पनि १२ कक्षापछि यस्तै यस्तै अनुभव बटुल्नु भयो होला भन्ने अनुमान गर्दछु । मेरो भन्दा अलि बेग्लै र फरक अनुभव पनि होला । उहाँहरु प्रति पनि हार्दिक सम्मान ब्यक्त गर्दछु । अहिलेको परिप्रेक्ष्यमा भन्दा मैले र मेरो उमेर समूहका साथिहरुले अपनाएका बाटोहरु यस्तै यस्तै हुन । कसैका अली भिन्न हुन पनि सक्छन ।

मलाई लाग्छ, १२ उत्तिर्ण भाईबहिनिहरु तपाईंहरुका विकल्प तिनै होलान् स्नातक, व्यापार – व्यवसाय, विदेश । स्नातकमा कुन संकाय होला ? व्यायारमा कुन क्षेत्र होला, विदेशमा कुन देश होला ? फरक यत्ति हो । सिप सिक्ने रुचि होला, रुचिअनुसारको काम गर्नुहोला ।

जुनसुकै क्षेत्र र परिवेश अङ्गाल्ने जुन ईच्छाशक्ति छ, त्यसमा सङ्घर्षका साथ दृढ भएर लाग्नुहोला अन्योल र दोधारमा नपर्नुहोला । आफ्नो लक्ष्य प्राप्तिको निम्ति मिहिनेतका साथ संकल्प गर्नुहोला तब सफलता पनि सजिलै हात पर्ने छ ।

कक्षा १२ को नतिजामा आधारित यो लेखबाट जोजो उत्तीर्ण हुनुभयो उहाँहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । र जो अनुत्तीर्ण हुनुभयो, हौसला कायम राख्दै, गन्तव्यसँग नडगमगाई सफल हुनुहोला ।

अन्त्यमा, यहाँहरुको उज्वल भविष्यको शुभकामना…………।

(जीवन पोखरेल धुर्कोट गाउँपालिका–४ स्थित पाञ्चायन माध्यमिक विद्यालयका स्थायी शिक्षक हुन् ।)

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा