spot_imgspot_img

पहिरोले दर्लिङ्गका दर्जनौ परिवार बिस्थापित

टोपलाल अर्याल
गुल्मी, २९ साउन,  गुल्मीको मालिका गाउँपालिका–२ दर्लिङका गाउँ पहिरोले तहसनहस बनाएको छ । पहिरोको जोखिम बढेपछि मालिका गाउँपालिका–२ दर्लिङ्गका विभिन्न बस्तीका करिव चार दर्जन परिवारले घर छोडिसकेको स्थानीय बताउँछन् । दर्लिङ्गको कोसिलाबाँझ मात्रै करिब ३० घरपरिवार दलित बस्छन् ।
गत २२ साउनको अविरल बर्षाले दुनाम, पाटाखर्क, बिसौना, उल्लेर, धार र काभ्राबाङ्गका ४३ घर परिवार बिस्थापित भएका छन् । पाटाखर्कका १७, धारका १४, उल्लेरका आठ, दुनामका दुई र कोशिलाबाँझका दुई घर परिवार पहिरोका कारण विस्थापित भएको मालिका गाउँपालिका–२ का वडाध्यक्ष बिनोद श्रीसले जानकारी दिए । अहिले बिस्थापित परिवार च्यानडाँडा सामुदायिक स्वास्थ्य केन्द्रको भवन, सिद्ध प्रावि र छिमेकीकोमा आश्रय लिएर बसेको श्रीसले जानकारी दिए ।
श्रीसले आफुहरुले सुरक्षित ठाउँमा बस्न आग्रह गर्ने बाहेकको बिकल्प नभएको बताए । ‘गाउँ पहिरोले तहसनहस । वडाको तर्फबाट केहि थान त्रिपाल मात्रै दिएका छौ,’उनले भने,‘घरबास, पानी, बिजुली सवै क्षेत्रमा ठूलो क्षति पुगेको छ ।’ मालिका गाउँपालिकाको टोलीले पनि सोमबार क्षतिको अवस्था अनुगमन गरेको छ । गाउँपालिका अध्यक्ष देविराम अर्यालले करिव चार दर्जन घरपरिवार बिस्थापित, बिद्युत, सडक, खानेपानी, बिद्यालय लगायतका पहिरोले क्षति पुराएकाले केन्द्र र प्रदेशमा समन्वय गरेर काम अगाडी बढाउने बताए ।
भुकम्पपछि गाउँलेको उठिबास 
०७२ सालपछि बर्खा लाग्ने बित्तिकै घरबास छोड्ने अवस्था स्थानीयलाई छ । उनीहरु पहिरोको जोखिममा परेको वर्षौ बिते । ठूलो पानी आए स्थानीयको आधा मन हुन्छ । तर, बिपन्न परिवार निस्केर जाने ठाउँ पनि छैन् । मालिका गाउँपालिका–२ दर्लिङ्गको दुनाम, पाटाखर्क, बिसौना, उल्लेर, धार र काभ्राबाङ्गका नागरिकले अहिले पानी परे घर छोड्छन् ।
०७२ सालको भुकम्पपछि चर्किएका जमिन बर्षेनी भासिने र खस्ने भएपछि गाउँमा बस्ने स्थिती नभएको स्थानीय हरिलाल विकले गुनासो गरे । सरकारले पनि कोशिला बाँझलाई बस्ती स्थानान्तरण गर्नुपर्ने गाउँको सूचीमा राखेको छ । तर, अहिलेसम्म स्थानान्तरणको कुनै पनि प्रक्रिया सुरु नै भएको छैन । पहिरोले पानीका मुहानहरु बगाएको छ ।
गाउँलेले खुल्ला आकाशको पानी पिउँछन् । गन्तव्यमा पुग्ने सडक टुटेका छन् । राज्यका सबै स्रोतसाधन र सेवासुविधाको पहुँचबाट धेरै टाढा रहेका दर्लिङ्गका गाउँका दलित तथा विपन्न परिवार धेरै समस्या र पीडाबीच बाँच्न बाध्य भएको स्थानीय युवा नेता रविन्द्र विश्वकर्माले बताए ।
धार र काभ्राबाङ्गमा बस्तीनै बग्ने खतरा हुँदा पनि विपन्नताको कारण अन्यत्र सर्न नसकेका २२÷२३ घर छन् । घरभित्रै मुल फुट्ने, ढिक चर्कने, बारीका काल्नाहरु झर्ने, घरहरु टेडो पर्ने लगायतका समस्या भइरहेपनि बस्ती छोड्न कसैले सक्दैनन् । बर्षातका कारण दुनाम, पाटाखर्क, बिसौना, उल्लेर, धार र काभ्राबाङ्गमा लामो समय बिद्युत सेवा अवरुद्ध भएको विश्वकर्माले बताए ।
बर्षातले बिचारे पाटाखर्क र भुजेलगाडे च्यानडाँडा खानेपानी आयोजना पहिरोले बगाउँदा एक सय बढि परिवारलाई खानेपानीका लागि समस्या भएको छ । अहिले स्थानीय खुल्ला आकाशको पानी पिउन बाध्य भएका छन् । नेपाल प्रहरीको टोलीद्धारा अहिले पूर्णक्षति भएको र पशुचौपाय क्षति भएका परिवारको मुचुल्का गर्ने काम बाहेक राज्यको तर्फबाट अरु केहि नभएको विश्वकर्माले जानकारी दिए । हिउँदमा पनि राज्यका सुविधा निकै कम पुग्ने ठाउँमा आफुहरुको बिपद्को खबर समेत सरकार र तिनका निकायलाई नभएको स्थानीय टिकाराम घर्तिले गुनासो गरे ।
‘पहिरोले विक्षिप्त गाउँमा घर छोड्नेहरुको संख्या बढिरहेको छ । तर, नेता र सरकार बेखबर छन्,’घर्तिले भने, ‘चुनावमा मात्र गाउँ आउने नेता र सरकारको के आश रह्यो ।’ अविरल बर्षाले डेढ महिनामै मुसिकोट नगरपालिका र मालिका गाउँपालिका गरेर नौ जनाको ज्यान गएको छ । घाइते दुई जना अस्पतालमै उपचार गरिरहेका छन् । पहिरोले च्यानडाडा माबिको ९ कोठे भवन चर्किएर जोखिममा परेको छ ।
जोखिमपूर्ण बस्ती स्थान्तरणको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र 
नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज गुल्मीले जिल्लाका जोखिमपूर्ण बस्ती स्थान्तरणको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । बिशेष गरेर गुल्मीका अधिकांश दलित बस्ती पहिरोको जोखिममा छन् । जसका कारण ठूलो मानवीय तथा भौतिक क्षति दलित परिवारले बर्षौदेखि भोगिरहेको भन्दै समाजले बस्ती स्थान्तरण र राहतको व्यावस्थापनको लागि जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको नेपाल उत्पीडित जातीय मुक्ति समाज लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण विश्वकर्माले जानकारी दिए ।
पहिरोले १४ असारमा मालिका गाउँपालिका ६ अर्जेका भेष बहादुर विकको पाँच जनाको परिवार र २२ साउनमा मुसिकोट नगरपालिका १ विसौनामा दुई परिवारका चार जनाको ज्यान गएको छ ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज गुल्मीका अध्यक्ष दिपक बरालद्धारा जारी ध्यानाकर्षण पत्रमा दलित समुदाय लगायत अन्य समुदायको बसोवास गर्ने जोखिमपूर्ण वस्तीहरुको नक्सांकन गरी वस्तीको स्थानान्तरण गरी पुर्नवासको व्यवस्था गर्न, ज्यान गुमाएका परिवारमा शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेण्टी गर्न, संभावित प्राकृतिक विपत्तिवारे जोखिमपूर्ण वस्तीमा सचेचनामूलक कार्यक्रमहरु संचालन गर्न, बाढी पहिरोवाट प्रभावित क्षेत्रमा समयमै राहत र उद्धार कार्य गर्ने व्यवस्था गर्न र बाढी पहिरोवाट घाइते हुनु भएका घाइतेहरुको निशुल्क उपचार गर्ने व्यवस्था गर्र्नुपर्ने उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी शर्माले ज्ञापनपत्र तत्काल प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पठाउने र जिल्लाको विपद् व्यावस्थापन समितिको बैठकमा छलफल गरेर उचित निर्णय गर्ने बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा