बाँदरको विकल्प : पहाडका भीरालो बारीमा धानखेती

हुमाकान्त पोखरेल
गुल्मी, ०४ भदौ । के तपाई सोच्न सक्नुहुन्छ, पहाडका भीरालो बारीमा धान खेती हुन्छ भनेर ? नियमित सिँचाई सुविधा नपुगेको तथा भीरालो बारीमा धान खेती भएको खबर सुन्दा तपाइलाई अचम्म लाग्न सक्छ । तर अब अचम्म मान्नुपर्दैन । गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तुका किसानले अत्याधिक बाँदर लाग्ने पहाडको भीरालो बारीमा धान खेतीको सुरुवात गरेका छन् ।

बर्षायाममा गर्ने मकै खेतीमा बाँदरले सताउन थालेपछि किसानहरु धानखेतीतर्फ आकर्षित भएका छन् ।
‘दुई बर्ष अगाडीसम्म बारीमा मकै लगाएका थियौँ, तर बाँदरले टिक्नै दिएन ।’ धान खेती गरेका कृषक युवराज भण्डारीले भने, ‘यो बर्षबाट धान खेती सुरु गरेका छौ ।’ यो पहिलो बर्ष भएकोले उत्पादनको ठ्याक्कै अनुमान गर्न नसकिएको युवराजले बताए । गत बर्ष उनले अकबरे खुर्सानी लगाएका थिए ।

यो बर्षबाट गाउँकै तीन जनाको धान खेतीमा सहमति भयो । जसका कारण वस्तुका युवराज भण्डारी, बाबुराम भण्डारी र नरहरी भण्डारीले अहिले धान खेती गरिरहेका छन् । जेठको पहिलो हप्ता छरेको धानले अहिले छिट्टफुट्ट रुपमा दाना हालेको छ ।

स्थानीय जातको भनिएको उक्त धान घैया जातको हो । तीन जनाले कुल १० रोपनी जग्गामा धान खेती गरेका छन् । उनीहरुले धादिङ जिल्लाबाट प्रति पाथि नौ सय रुपैँयामा चार पाथी बीउ खरिद गरे । सबै गरेर कुल १० किलो आठ सय ग्राम बीउ भएको युवरज भण्डारीले बताए । औषतमा वस्तुमा प्रति एक रोपनी जग्गा बराबर एक केजी बीउ लागेको छ । अर्का किसान नरहरी भण्डारीले बाँदरको विकल्प खोज्न धान खेती गरेको बताए ।

‘बँदरबाट बाली जोगाउनै नसकिने, खेती गर्नु र नगर्नु एउटै थियो ।’ उनले भने, ‘अहिले धान खेती गरेपछि बाँदरले सताएको छैन ।’ उनले धानको उत्पादन जस्तो भएपनि पराल समेत धेरै उपयोगी भएकोले घाटा नलाग्ने प्रतिक्रिया दिए । सोचेअनुसारको उत्पादन भए मकैमा भन्दा धान खेतीमा दोब्बरभन्दा बढी आम्दानी हुने किसान बाबुराम भण्डारीले बताए । यो धान पनि अरु धानजस्तै कात्तिकको अन्तिमतिर पाक्ने गर्दछ । यो धान गौ छरेझै पहिले बीउ छरेर ट्याक्टरले जोतेर पुर्ने गरिन्छ ।


कृषि ज्ञान केन्द्र, गुल्मीले घैया जातको धान रैथाने जातको बीउ भएकोले संरक्षणका लागि कार्यालयले सहयोग गर्ने जनाएको छ । वस्तुमा उत्पादन भएकोमध्ये बीउयोग्य धान ज्ञान केन्द्रले ‘रैथाने बाली संरक्षण कार्यक्रम’ अन्तरगत खरिद गर्ने कार्यालयका प्रमुख नवराज भण्डारीले बताए ।

यो बर्ष कार्यालय आफैले धादिङबाट नै एक क्विन्टल बीउ किनेर किसानहरुलाई वितरण गरेको छ । पहाडमा घैया जातको धान खेती परीक्षणका लागि इस्मा गाउँपालिकाको वडा नम्बर ६ अम्मरपुर, धुर्कोट गाउँपालिकाको वडा नम्बर १ नयाँगाउँ, गुल्मीदरबार गाउँपालिकाको वडा नम्बर २ जुभुङ्ग र छत्रकोट गाउँपालिकाको वडा नम्बर ३ हर्दिनेटाका किसानहरुलाई वितरण गरिएको भण्डारीले बताए ।

सामान्यतया घैया जातको धान समुद्र सतहदेखि एक हजार छ सय मिटरसम्म हुने हुनाले पहाडमा सफल हुने अनुमान गरिएको भण्डारीले जानकारी दिए । यदि यो बर्ष धान उत्पादन राम्रो भए उत्पादन भएको धानलाई बीउको रुपमा सुरक्षित राख्ने र अर्को बर्ष किसानहरुलाई वितरण गर्ने कार्यालयको योजना रहेको भण्डारीले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा