जिल्ला सम्मेलनको तयारीमा अखिल (क्रान्तिकारी), को को छन् अध्यक्षका आकाक्षिं ?

गुल्मी, १० भदौ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला कमिटी गुल्मीको १९ औँ जिल्ला सम्मेलनको तयारी तिब्र पारिएको छ । रुरुक्षेत्र गाउँपालिकाको श्रृङ्गीश्वर बहुमुखी क्याम्पसमा भदौ १५ गते हुने सम्मेलनको लागि विभिन्न समिति तथा उप–समितिहरु गठन गरिएको छ ।

त्यसैगरी संगठनले जिल्ला सम्मेलनलाई केन्द्रित गरी जिल्लाका विभिन्न विद्यालयहरुमा इकाई कमिटी समेत गठन गरेको छ भने धुर्कोटमा विनोद नेपालीको अध्यक्षतामा ३१ सदस्यिय अखिल (क्रान्तिकारी) धुर्कोट गाउँकमिटीको गठन गरिएको छ । यसपटकको जिल्ला सम्मेलनमा जिल्लाभरबाट कुल एक सय ३१ जना प्रतिनिधि रहनेछन् ।

जसमा प्रत्येक गाउँपालिकाबाट पाँच÷पाँच जना, नगरपालिकाबाट सात÷सात जना, क्याम्पसबाट तीन÷तीन जना, संगठनका स्ववियु सभापति भएको क्याम्पसबाट थप दुई÷दुई जना, शहिद तथा वेपत्ता परिवारबाट पाँच जना, भुगोलबाट प्रत्येक पालिकाबाट एक÷एक जना गरी १२ जना र नौ जना मनोनित प्रतिनिधि रहने जिल्ला अध्यक्ष राजन पोखरेलले जानकारी दिए ।

सम्मेलनबाट नौ जना पदाधिकारीसहित ५१ जनाको जिल्ला कमिटीको गठन हुनेछ । अखिल (क्रान्तिकारी) गुल्मीको अध्यक्ष पदका लागि चारजना आकाक्षिं देखिएका छन् । संगठनका हालका जिल्ला अध्यक्ष राजन पोखरेल, उपाध्यक्ष रमेश पाण्डे र बालेन श्रेष्ठ एवं सचिव किसन पाण्डे अध्यक्षको दौडमा रहेका छन् ।

तीनैजनालाई संगठनले केही समय अगाडी केन्द्रिय सदस्यमा पनि मनोनित गरेको छ । ०६९ सालबाट अखिल (क्रान्तिकारी)मा आवद्ध पोखरेल पाञ्चायन मावि इकाई कमिटीको अध्यक्ष, जिल्ला कोषाध्यक्ष हुँदै ०७८ असौजमा सम्पन्न १८ औँ जिल्ला सम्मेलनबाट अध्यक्ष बनेका थिए । उपाध्यक्ष पाण्डे अखिल (क्रान्तिकारी) रेसुङ्गा बहुमुखी क्याम्पसको इकाई सचिव, रेसुङ्गा नगरकमिटी अध्यक्ष, जिल्ला सचिवालय सदस्य हुँदै जिल्ला उपाध्यक्ष भएका थिए ।

त्यसैगरी अर्का उपाध्यक्ष बालेन श्रेष्ठ ०७२ सालमा श्रृङ्गीश्वर बहुमुखी क्याम्पसको सचिव, ०७४ मा क्याम्पस कमिटी अध्यक्ष, जिल्ला सचिवालय सदस्य हुँदै जिल्ला उपाध्यक्ष बनेका थिए । उनी ०७३ फागुनमा सम्पन्न स्ववियु निर्वाचनमा श्रृङ्गीश्वर बहुमुखी क्याम्पसमा सचिवमा पराजित भएका थिए । सचिव किसन पाण्डे ०६९ सालमा जनबोध माविमा इकाई कमिटी अध्यक्ष भएका थिए ।

त्यसैगरी ०७१ मा श्रृङ्गीश्वर बहुमुखी क्याम्पसमा इकाई कमिटीको अध्यक्ष, त्यसपछि जिल्ला कमिटी सचिवालय सदस्य हुँदै जिल्ला सचिव भएका थिए । उनी ०७३ फागुनमा सम्पन्न स्ववियु निर्वाचनबाट श्रृङ्गीश्वर क्याम्पसमा सभापतिमा निर्वाचित भएका थिए ।

१५ गते हुने सम्मेलनबाट संगठनमा सम्भव भएसम्म सहमतिमा नेतृत्व टुंगो लगाइने संगठनका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज भरत चन्दले जानकारी दिए । ‘पहिले सर्वसम्मत तरिकाबाट पदाधिकारीको टुंगो लगाउछौ, नभए निर्वाचनमार्फत नेतृत्व चयन हुन्छ ।’ चन्दले भने, ‘अहिले केन्द्रबाट लोकतान्त्रिक पद्धतीबाट नेतृत्वको टुंगो लगाउने निर्देशन आएको छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा