रुरुक्षेत्रमा तरकारीको बजारीकरण सुरु

हुमाकान्त पोखरेल
गुल्मी, ११ भदौ । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा तरकारीको बजारीकरणको सुरुवात गरिएको छ । गाउँपालिका र हेफर प्राजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नवप्रभात युवा संघद्धारा संचालित रुरु कृषि परियोजना मार्फत तरकारीको बजारीकरण सुरु गरिएको हो । यस कार्यक्रमअन्तरगत पालिकाभित्रका साना किसानहरुले उत्पादन गरेका तरकारी तथा फलफुल खरिद गरी बजारसम्म पठाउने गरिएको छ ।

किसानहरुले उत्पादन गरेका टमाटर, काउली, बन्दा, भिण्डी, लौका, घिरौला, तिते करोलो, फर्सी, सिमी, धनिया, खुर्सानी, कागती लगायतका तरकारिको बजारीकरण गरिएको छ । गत साउन २९ गतेबाट सुरु गरिएको बजारीकरण अन्तरगत अहिलेसम्म किसानहरुले दुई पटक तरकारी बिक्री गरेका छन् ।

किसानले उत्पादन गरेको तरकारी पाल्पाको मिलनसार सामाजिक उद्यमी महिला सहकारीद्धारा संचालित तरकारी थोक बजारमा बिक्री हुने गरेको छ । यस कार्यक्रमबाट हप्तामा औषत ७० कृषकले कुल १० क्विन्टल तरकारी बिक्री गर्ने र त्यसबाट ७० हजार आम्दानी गर्ने रुरु कृषि परियोजनाका संयोजक प्रकाश चालिसेले जानकारी दिए ।

पाल्पाको थोक बजारले बुटबलको थोक बजारमा कारोबार भएको तरकारीको मूल्य किसानलाई उपलब्ध गराउने सम्झौता छ । तरकारी संकलनको लागि हप्ताको मंगलबार र शनिबार पालिकाको सवारी सम्बन्धित टोलसम्म पुग्ने परियोजना संयोजक चालिसेले जानकारी दिए ।

रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले कृषिलाई व्यवसायिकरण गर्न बजारीकरणको सुरुवात गरिएको बताए । ‘भएको उत्पादन बिक्री नगरेसम्म कृषकको आम्दानी बढ्दैन ।’ उनले भने, ‘अब तरकारी बजारीकरणको कामलाई निरन्तरता दिन्छौ ।’ गाउँमा ठुला उद्योग र कलकारखाना खोल्न सम्भव नभएकोले साना तथा मझौला उद्योग र कृषिको व्यवसायिकरणमार्फत रोजगारी सिर्जना गर्ने पालिकाको लक्ष्य अनुसार काम गरेको ज्ञवालीले बताए ।

गत बर्षको फागुनबाट सुरु भएको परियोजनाले साना किसानहरुको उत्पादन र उत्पादकत्व बृद्धि गरी कृषि तथा पशुवस्तुको मूल्य श्रृङ्खलामा आधारित रहेर काम गर्दै आएको छ । यस परियोजनाले रुरुक्षेत्रमा कृषकहरुलाई तरकारीको बीउ र प्रविधि तालिम हस्तान्तरण, बाख्रा, कुखुरा, दुध उत्पादन लगायतको क्षेत्रमा काम गरिरहेको छ । त्यसैगरी थोग्रेली गुडको प्रवद्र्धन एवं गुल्मीमै पहिलो पटक रिडीमा व्यवसायिक मेवा खेतीको पनि यसै परियोजनाले सुरुवात गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा