गुल्मी, १४ भदौ । गुल्मीमा तरकारी र फलफुलको बजारीकरण सुरुवात गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिकाले कृषकले उत्पादन गरेका तरकारी तथा फलफुलको बजारको ग्यारेन्टी सहित बजारीकरणको व्यवस्था गरेको हो । गाउँपालिका र हेफर प्राजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा जनविकास केन्द्रद्वारा संचालित धुर्काेट कृषि परियोजना मार्फत तरकारीको बजारीकरण सुरु गरिएको हो ।
यस कार्यक्रमअन्तरगत पालिकाभित्रका साना किसानहरुले उत्पादन गरेका तरकारी तथा फलफुल खरिद गरी बजारसम्म पठाउने गरिएको छ । किसानको उत्पादनको बजारीकराणको लागि पालिकाले बुटबलको देविनगरस्थित पहाडी ताजा तरकारी पसलसँग सम्झौता गरेको छ ।
परियोजना संयोजक भरत भण्डारीका अनुसार हालसम्म धुर्कोटका सबै वडाबाट तीन पटकमा ३४ क्विटल तरकारी बिक्री भइसकेको छ । एक केजी तरकारी वा फलफुलको मूल्य औषतमा ४० रुपौँयाका दरले हालसम्म एक लाख ३६ हजारको तरकारी बिक्री भएको छ । तरकारीको रकम भने कृषकले प्रत्येक महिनाको पहिलो हप्ता प्राप्त गर्ने भण्डारीले बताए ।
पालिकाले किसानसँगबाट तामा, करेला, बोडी सोस्ता, स्कुस, कागती, फर्सिको मुन्टा, चिचिन्ना, नस्पाती, पुदिना, सिन्की, काक्रो लगायतका तरकारी तथा फलफुल खरिद गरिरहेको छ । पालिकाले प्रत्येक हप्ताको आइतबार र बिहीबार तरकारी संकलनको लागि कृषि एम्बुलेन्सको रुपमा पालिकाको सवारी पठाउने गरेको छ ।
एउटा वडामा आवश्यकता अनुसार चारवटासम्म संकलन केन्द्र रहेका छन् । गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले ढुवानी खर्च सबै पालिकाले व्यहोर्ने बताए । ‘निर्वाचनका बेला सबै नागरिकलाई आत्मनिर्भर बनाउने हाम्रो प्रतिवद्धता थियो ।’ अध्यक्ष पोखरेलले भने, ‘अहिले सोही प्रतिवद्धता पुरा गर्न लागिपरेका छौ ।’