इस्मा राज्यको संक्षिप्त इतिहास

हिरा ए.सी.

इस्मा राज्यको स्थापना वि.सं. १५५० ताक भएको हो । चार हजार कुरियाले बनेको इस्मा राज्यका चौबीस मौजा हुनाले चौबीस मौजा इस्मा पनि भनिन्थ्यो । पूर्वमा मुसीकोटको सिमाना, पश्चिममा अग्लुङको उकालोदेखि झिमरुक खोलासम्म, उत्तरमा बाग्लुङको ग्वालीचौर र दक्षिणमा धुर्कोट राज्यको सिमानासम्म इस्मा राज्य फैलिएको थियो ।

सूचना विभागबाट प्रकाशित मेचीदेखि महाकाली, भाग ३ मा भने इस्मा राज्यको २५०० घरकुरिया र ८० मौजा थिए भन्ने उल्लेख छ । प्रत्येक मौजामा ५० कुरियाका हिसाबले जम्मा ४००० कुरिया हुन आउँछ । ईस्मा राज्यको राजधानीमा २५० कुरिया र दरबारको वरिपरि ५०–६० कुरिया रहेका थिए (शर्मा, २०७१) ।

यहाँका राजा चन्द्रवंशी काश्यप गोत्रीय सिंह थर तथा रायठौर घरानाका हुन् । उनीहरुभन्दा अघि भट्ट पदधारी अज्र्याल ब्राह्मणहरुले राज्य सञ्चालनको काम गरिआएका थिए । त्यसरी राजा हुनेहरुको नाम मात्र पाइन्छ, स्थिति बन्देजको प्रमाण पाइएको छैन (आत्रेय, २०४२) । तर इस्माका अन्तिम ब्राह्मण राजा प्रभाकर भट्टले वि.संं.१६५३ मा राज्य त्याग गरी सुरथसिंह (अंगदसिंह रावा) लाई इस्मा अधिराज्यको राजा बनाएको उल्लेख गरिएको छ (भुसाल, २०७८) ।

भने यता डा.दुर्गाप्रसाद अर्यालले भट्ट ब्राह्मणहरुको इस्माको राज्यकाल सन् १५२० देखि १५९५ सम्म रहेको बताएका छन् (अर्याल, २०६२) । विष्णुराज आत्रेयका अनुसार च्यवनराज भट्ट(प्रथम चावाराजा)–नरसिंहराज भट्ट– च्यवनराज भट्ट(द्वितीय चावाराजा)– कुशराज भट्ट(कुशाराजा)– विष्णुदास भट्ट– प्रभाकरराज भट्टसमेत गरी इस्मामा अज्र्यालहरुले छ पुस्तासम्म राज्य गरेको उल्लेख गरेका छन् ।

शुरुमा इस्माका ब्राह्मण राजाहरुको थर भट्ट थियो तर पछि अर्जैमा बस्ने भएकोले अज्र्याल(अर्जेल) भनिन थाल्यो र पछि अर्याल थर रहन गएको उल्लेख पाइन्छ । लेखक दयाराम अर्यालका अनुसार चावाराज भट्टका दुई पत्नीहरु थिए । ती सौताहरुबीच मनमुटाव भई सँगै बस्न सकेनन् । जेठी पत्नीले आफू अलि अलग्गै बस्ने राजासँग अर्जी गरिन् । राजाले पनि उनको बसोबासको लागि एउटा अलि थालिनो आकारको पाखो जग्गा दिए ।

यसरी चावाराजकी जेठी श्रीमतीतर्फका सन्तान सो पाखोमा गई बसोबास गरे । त्यसरी अर्जी गरेर प्राप्त उक्त पाखो जग्गालाई पछि अर्जी हुँदै अर्जै भन्न थालियो र त्यहाँका बासिन्दालाई अर्जेल (अज्र्याल) भन्न थालियो (अर्याल,२०६७) । कान्छी पत्नीका सन्तानले उपाध्याय लेख्दथे तर पछि उनीहरुले पनि अर्याल लेख्न थाले (भुसाल, २०७८) ।

दुर्गाप्रसाद अर्यालका अनुसार इस्माका प्रथम अज्र्याल राजा च्यवनराज भट्ट (अज्र्याल) थिए भने त्यसपछि क्रमशः कुशाराज भट्ट (अज्र्याल), विष्णुदास भट्ट (अज्र्याल) र प्रभाकर भट्ट (अज्र्याल) राजा भए । राजा प्रभाकर भट्ट शालीन स्वभावका र विद्वान् हुनाले राजकाजमा छलछाम, धोका, फरेव र दण्डसजायँ गर्दा निरपराधीलाई पनि भूलचूकमा कठोर दण्ड दिइने जस्ता कुरामा उनी सतर्क देखिन्थे ।

तसर्थ उनले गुल्मी चारपाला राज्यमा भारतको कर्णाटकबाट राजनीतिक आश्रय लिई बसेका सुरथसिंह नामक एक राजपूतलाई धर्मपुत्र बनाई शिक्षादीक्षा र मन्त्रदानसमेत गरे । पछि उनैलाई इस्माको राज्यभार सुम्पेर अङ्गदसिंह रावा भन्ने पद पनि जोडिदिएर आफू राजकाजको शास्त्रीय सल्लाहकार भई अर्जैमा आई बसे । अर्जैमा आई बसेकाले विष्णुदास राजाका छोरा प्रभाकर अज्र्याल थरले प्रसिद्ध भए ।

(अर्याल, २०४३) । यसरी चन्द्रवंशी काश्यप गोत्रीय सिंह थर तथा रायठौर घरानाका अंगदसिंह रावा इस्मा राज्यका राजा भए । उनी पछिको वंशक्रममा राजा पृथ्वीराजसिंह रावा, राजा रामराजसिंह रावा, राजा रुपसिंह रावा, राजा तिलविक्रमसिंह रायठौर, राजा गोविन्दसिंह रायठौर, राजा वेनीप्रसादसिंह रायठौर, राजा धर्मकेशरसिंह रायठौर, राजा गिरिभूपेन्द्रसिंह रायठौर, राजा पुण्यप्रतापसिंह रायठौर, राजा मानबहादुरसिंह रायठौर र राजा केशरीप्रतापसिंह रायठौर रहेका छन् ।

स्थानीय जनश्रुती र कतिपय लेखकहरुको भनाइका आधारमा ब्राम्हणहरुको प्रवेशपूर्व इस्माकोटमा मगरहरुको राज्य थियो । मगर राजालाई जाँड्याराजा पनि भनिएको पाइन्छ । उनी बलकै भरमा राजा भएको हुनाले विवेकशून्य थिए । त्यसबाट उसका रैतीहरु नै क्रुद्ध भएर निजलाई हटाई अज्र्यालहरुलाई राजा बनाएका थिए । (सुवेदी, २०५५) ।

युवराज भुसालका अनुसार इस्माक्षेत्रमा खटिएका जाड सामन्त (प्रशासक) को कमजोरीको फाइदा उठाई रिब्दीकोट (पाल्पा) का राजा अनेकसिंह सेनले यसलाई पाल्पाको अङ्ग बनाए । अनेकसिंहपछि उनका छोरा खामराज सेन (१४६५–१५१०) ले केही समय इस्माक्षेत्रमा राज्य गरे । त्यसकारण यस भेगलाई खामदेश पनि भनिन्थ्यो । पछि युद्धमा राजा र रानीको मृत्यु भएको र नयाँ राजकाजको जिम्मेवारी तय भै नसकेको कारण आत्रेय गोत्री स्थानीय भट्ट ब्राह्मणलाई नै राजकाजको काम थपिएको थियो (भुसाल, २०७८) ।

इस्माको नामकरण बारे पनि विभिन्न मतहरु रहेका छन् । इस्मा रहनुपूर्व यस राज्यको नाम अरु नै थियो भन्नेमा धेरै लेखक तथा इतिहासविद्हरुको सहमति छ । पछि यहाँको मैदान भन्ने ठाउँमा शिवपार्वती (ईशउमा) को मन्दिर बन्यो । त्यसैबाट ईशउमा मन्दिर, ईश्उमा, ईशुमा हुँदै ईश्मा र इस्मा बन्न गएको हो भन्ने मत कतिपय स्थानीयको रहेको छ ।

लेखक विष्णुराज आत्रेयका अनुसार इस्मा दरबार पहिले अन्यत्र थियो, पछि शत्रुका आक्रमणको डरले राजा सुरथ सिंहले अमरभूमि (मर्भुङ) बाट सुरक्षित ठाउँ इस्माको थुम्कोमा सारिएको थियो (आत्रेय, २०४२) । उर्दू भाषाबाट आएको इस्मा शब्दको अर्थ “सुरक्षा वा सुरक्षित स्थान” हुने हुनाले यो भनाइ सार्थक छ (भुसाल, २०७८) । त्यस्तै रोल्पा निवासी मगर भाषा तथा संस्कृतिविद् बमकुमारी बुढामगरका अनुसार– अठार मगरातको पाङ (भाषा)मा यिसिमा भनेको झगडियाहरुलाई बोलाएर न्याय निसाफ दिने र झगडा मिलाउने ठाउँ हो । यसै यिसिमा शब्दबाट अपभ्रंश भएर यिसमा, इसमा हुँदै इस्मा बनेको हो भन्ने मत पनि यहाँ पाइन्छ ।

इस्मा राज्यको स्थापनाताक हालको इस्मा मैदानमा यिसिमा (न्यायनिसाफ गर्ने ठाउँ) मात्र रहेको र त्यसैबाट कलान्तरमा त्यहाँ वरपरको गाउँलाई पनि यिसिमा, यिसमा, इसमा हुँदै इस्मा भन्न थालियो । पछि त्यसै नामबाट समग्र राज्यकै नाम इस्मा रहन गएको अनुमान इस्मा गाउँपालिकाका पूर्वअध्यक्ष लक्ष्मण विष्टको छ ।

विष्टका अनुसार– यसको आधारको रुपमा इस्मा दरबारनजिकै पूर्वतर्फ अहिले पनि मगरथोक भन्ने गाउँ छ, त्यससँगैका हुल, चैंया, खब्रेटा, कालमुढा लगायतका गाउँमा बाक्लो मगरबस्ती छ तथा इस्मा राज्यको सेनामा पनि मगरहरुको ठूलो संख्या रहेको थियो भन्ने उल्लेख पाइनुले इस्माको नाम मगर भाषाबाट रहन गएको हो भन्न सकिन्छ ।

त्यस्तै इस्मा राज्यअन्तर्गत पर्ने अग्लुङ, मरभुङ, अर्खाबाङ, ह्वाङ्दी, पौदी, छल्दी, निस्दीजस्ता गाउँठाउँका नामहरु खाम(मगर)भाषाबाट रहन गएको तथा पहिले इस्मा राज्यलाई खामदेश भनिने गरेकोबाट इस्मा पहिले मगर राज्य थियो र नामकरण पनि मगर भाषाबाट भयो भन्ने अनुमान गर्ने गरिएको छ । तर थुप्रै इतिहासविद् एवं लेखकहरुले यस क्षेत्रमा पहिले लिच्छवि र पछि खस साम्राज्यको प्रतिनिधि, मुखिया भई मगरहरुले काम गरेको भए तापनि स्वतन्त्र मगर राजा नभएको उल्लेख गरेका छन् ।

अज्र्याल ब्राह्मणहरुले राज्य दिएपछि ठकुरीहरु इस्मा राज्यमा ६ पुस्तासम्म स्वतन्त्र राजा रहेको देखिन्छ । राजा गोविन्दसिंह रायठौरको शासनकालमा नेपाल राज्यको पश्चिमतर्फ विस्तार प्रारम्भ भएको थियो । वि.सं. १८४३ आश्विन ४ गते नेपाली सेनाले इस्मामाथि विजय गरेको थियो (तेवारी, २०२१) । उक्त युद्धमा पुगनपुग २०० इस्माली सिपाही र ५० जना नेपाली सिपाहीहरुले ज्यान गुमाएको कुरा इतिहासकार राजाराम सुवेदीले उल्लेख गरेका छन् भने कतै गोरखाली फौजतर्फ ५० र इस्मालीतर्फ ५३ खड्का क्षेत्री, २२ ठकुरी र १० जना सार्की गरी ८५ जनाले वीरगति प्राप्त गरेको उल्लेख पाइन्छ (भुसाल, २०७८) । कतिपय लेखकहरुले गोरखालीसँगको युद्धमा १०० जना इस्माली सिपाही मारिएको उल्लेख गरेका छन् ।


इस्मा राज्यका अन्तिम राजा गोविन्दसिंह युद्धबाट जेनतेन उम्केर आफ्ना सन्तति लिई ससुरालीस्थल सल्यानको बडागाउँतिर गई बसोबास गरे (रामिरेज, सन् २०००) । नेपालका राजा र पाल्पाली राजाबीचको आपसी सम्झौताअनुसार इस्मा राज्यलाई पनि पाल्पाको जिम्मा लगाई सो संयुक्त फौज प्यूठानतर्फ लाग्यो (भुसाल,२०७८) ।

स्थानीय बासिन्दा एवं लेखक विष्णुप्रसाद गौतमका अनुसार इस्माकोटका चौतारियाहरु कुलराज सिंह र प्रसाद सिंह पनि शिकारबाटै पलायन भए । राजा गोविन्दसिंहका गुरु गजाधर अज्र्याल महतारीको आशौचमा थिए । त्यसकारण राजासँगै पलायन हुन नसक्ता इस्माकोटमा पूजापरम्परा धानेर बसे । त्यहाँको गुठ नहुँदा वैयक्तिक रुपबाट पूजा सञ्चालित छ । इस्मा राज्यमा हातहतियारहरु त्यतिखेर बढी नै थिए । त्यतिबेलाका भरुवा बन्दुकहरु र राजाले चलाउने तरबार अहिले पनि केही मात्रामा इस्माकोटमा देख्न सकिन्छ ।

राजा गोविन्दसिंह रायठौरका हजुरबुबा रुपसिंह रावाले चलाउने तरबार अहिले खड्ग देवता भनी बडादशैं र चैतेदशैंमा इस्मा कोतमा पूजा गरिने कुरा गौतमले उल्लेख गरेका छन् (गौतम,२०६८) । हालको इस्माकोट पुरानो दरबार भएकै स्थानमा अवस्थित छ ।

(लुम्बिनी बौद्ध विश्वविद्यालयमा विद्यावारिधिका शोधार्थी हिरा ए.सी.को यो लेख किरण पुस्तकालयद्वारा प्रकाशित “हाम्रो पुरुषार्थ”बाट साभार गरिएको हो ।)

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा