हुमाकान्त पोखरेल
गुल्मी, ०८ कात्तिक ः गुल्मीमा १० औँ राष्ट्रिय स्क्रयाबल प्रतियोगिता हुने भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ८ स्थित सिद्धबाबा माध्यमिक विद्यालयले प्रतियोगिताको आयोजना गरेको हो । विद्यालय प्राङ्गणमा शुक्रबार र शनिबार हुने प्रतियोगितामा देशभरबाट २२ जिल्लाका एक सय जना खेलाडी उपस्थित हुनेछन् ।
बिहीबार पत्रकार सम्मेलनको अयोजना कार्यक्रमको बिषयमा जानकारी समेत दिइएको छ । बिहीबारसम्म सबै खेलाडी तम्घास आइपुग्ने र शुक्रबार बिहान ८ बजेबाट प्रतियोगिता सुरु हुने आयोजक सिद्धबाबा माविका प्रध्यानाध्यापक डोर विक्रम श्रीसले जानकारी दिनुभयो ।
कार्यक्रम सफल बनाउनको लागि रेसुङ्गा नगरपालिका र कालिगण्डकी गाउँपालिकाले सहयोग गरेको, अन्य पालिका तथा संघ संस्थाहरुसँग पनि सहयोगको लागि समन्वय गरिएको श्रीसको भनाई छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्तवना हुनेलाई क्रमश ः १०, आठ, छ र चार हजारका साथै प्रमाण पत्र प्रदान गरिनेछ ।
साथै सहभागि सबैले सहभागिताको प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट छात्रा र म्यान अफ द म्याच हुने खेलाडीलाई पुरस्कृत गरिने प्रध्यानाध्यापक श्रीसले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय स्क्रयाबल क्लवका केन्द्रीय अध्यक्ष केशव पराजुलीले नेपालमै पहिलो पटक सामुदायिक विद्यालयले स्क्रयाबल प्रतियोगिताको आयोजना गरेको बताउनुभयो । नेपली खेलाडीहरुले स्क्रयाबलका विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाउने उहाँको भनाई छ ।
कार्यक्रममा रेसुङ्गा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष तथा सोही विद्यालयका व्यवस्थापन समिति अध्यक्ष निरञ्जन थापाले उक्त कार्यक्रमको लागि वडाको तर्फबाट ५० हजार विनियोजन गरेको पनि जानकारी दिनुभयो ।