बाईसीचौबीसी कालमा गुल्मी

हिरा ए.सी.
परिचय
नेपाल र पश्चिमका खस, मल्ल जस्ता शक्तिशाली राज्य कमजोर बन्दै गएपछि विस्तारै विस्तारै राजाका आफ्नै भाइभारदारहरु, अधीनस्थ सामन्तहरु, थुमपतिहरुले आ–आफ्नो अधिकारभित्र रहेका क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गर्न थाले । तिनीहरुलाई चौबीसी राज्य भनियो ।

ती राज्यहरुमध्ये पर्वत, घिरिङ, गलकोटमा समालहरुले, प्यूठानमा चन्दले, खाँची, धुर्कोटमा मेघासीले, गुल्मी, अर्घा, ईस्मा काला मकवानीले, ढोर, गरहुँ, भीरकोट, सतहुँ, नुवाकोट, कास्की, लमजुङ आदिमा शाहहरुले शासन गरे । यी राज्यहरुको संख्या लगभग चौबीस जति हुनाले यी राज्य चौबीसी कहलाएका थिए (बज्राचार्य, २०३२) ।

चौबीसी राज्यमध्ये गुल्मी जिल्लामा गुल्मी, मुसीकोट, इस्मा, धुर्कोट, अर्घा र खाँची गरी छ स्वतन्त्र राज्यहरु रहेका थिए । हाल अर्घा र खाँची गरी दुई राज्यहरु मिलाएर अर्घाखाँची जिल्ला बनाइएको छ भने बाहेकका गुल्मी, मुसीकोट, इस्मा र धुर्कोट राज्य गुल्मी जिल्लामा रहेका छन् । तिनै चार राज्यहरुको संक्षिप्त चर्चा यहाँ गरिएको छ ।

गुल्मी राज्य
गुल्मी चौबीसी मध्येको एउटा राज्य थियो । कालीगण्डकीको पश्चिम तटमा रहेको यो राज्य पाल्पा, प्यूठान, पर्वतभन्दा सानो तर अरु भुरे राज्यहरु भन्दा ठूलो थियो । इतिहासकार राजाराम सुवेदीका अनुसार  गुल्मीको पूर्वमा गह्रौं, पैञ्यू, पश्चिममा धुर्कोट, अर्घा र खाँची, उत्तरमा मसिकोट, पर्वत र गलकोट, दक्षिणमा पाल्पा र खाँची राज्य पर्दथे । चारपाला दरबारमा राजधानी रहेको गुल्मी राज्यभर पहिले चारसय धुरी थिए र पछि त्यो संख्या बढेर छ हजार भएको बुझिन्छ” (सुवेदी, २०५५) ।

गुल्मीलाई पहिले चारपाला गुल्मी भनिन्थ्यो । त्यहाँको दरबार सुरक्षित एवं उँचो ठाउँमा र घना वस्तीको बीचमा रहेको छ । “गुल्मी राज्य पाल्पाथोक, अमरअर्वाथोक, गलामथोक र मुसीकोटथोकका अलावा उप्रिकोटथोक र बाँसपोखरी गरी छ प्रशासनिक एकाइमा विभाजित थियो । यी छ एकाइमा सुरुमा ९८ मौजा थिए र प्रत्येक मौजामा १–१ जना जिम्मावाल र १–१ जना तालुकदार मुखियाले त्यहाँको प्रशासनिक कामकाज गर्थे” (ज्ञवाली, २०६२) ।

राजवंशावलीअनुसार गुल्मी राज्यको पहिला राजा वीर शाह थिए । उनी वि.सं. १४९३ मा त्यहाँका राजा भएर स्वतन्त्र गुल्मी राज्यको स्थापना गरेको अनुमान छ । तर लेखक युवराज भुसालले गुल्मीका प्रथम राजा चतुरा सिहं रहेको र त्यसपछि वीरनारायण सिंह (वीर शाह) राजा भएको उल्लेख गरेका छन् । राजा वीर शाहले गुल्मी राज्यलाई चारपालामा विभक्त गरी प्रशासनिक सुविधा प्रदान गरेका थिए । वीर शाहपछिका दुई उत्तराधिकारी अज्ञात छन् । (शाह, २०६९ः१) त्यसपछि उनका छोरा रुद्र शाह वि.सं. १६०० तिर राजा भएका थिए । यिनले बडीगाडको मुहान ढोरपाटनसम्म आफ्नो राज्य विस्तार गरेका थिए ।

त्यसैले बडीगाडको मुहानलाई रुद्रताल, बडीगाडलाई रुद्रावती र कालीमा मिसिंदाको घाटलाई रुद्रवेणी भन्ने नाम दिई त्यहाँ रुद्रेश्वर महादेवको मन्दिरसमेत बनाएका थिए (सुवेदी, २०५५) । यिनको समयमा गुल्मी पूर्वमा रिडीखोलादेखि बल्ढेङगढीको सिमानासम्म, पश्चिममा मथुराखोलाको सिमानासम्म, उत्तरमा हुग्दीसिर, बाह्रकोट, शान्तिपुर र ढोरपाटनसम्म तथा दक्षिणमा अँगाहाखोलो र रिडीखोलाको पानीढलोसम्म फैलिएको इतिहास पाइन्छ ।

यी राजाले कहिलेदेखि कहिलेसम्म, कति वर्ष शासन गरे भन्ने स्पष्ट छैन । राजा रुद्र शाहपछि उनका छोरा कीर्ति शाह वि.सं. १६५० को आसपासमा गुल्मीको राजा भएका थिए । राजा शाही शाहको वि.सं.१७०३ को अभिलेखबाट उनले आफ्नो लागि विशाल दरबार बनाउन लगाएको, त्यो दरबार बनाउने कर्मीको नाम विनयसिंह रहेको र निजको थर नखुलेको पाइन्छ ।

त्यसपछि वि.सं. १७२० तिर कीर्तिकल्याण शाह गुल्मीका राजा भए । उनी एक धार्मिक प्रवृत्तिका राजा भएको अभिलेखबाट स्पष्ट हुन्छ तर उनीबारे अन्य जानकारीको अभाव छ । राजा कीर्तिकल्याण शाहपछि वि.सं. १७५० देखि १८१० को अवधिमा सत्यधन शाह गुल्मीको राजा भए ।

उनको पालामा गुल्मीको आर्थिक अवस्था नाजुक रहेको बुझिन्छ । वि.सं. १८०६ र १८०८ का दुई अभिलेखहरु मध्ये एउटामा राजा सत्यधन शाहले शिरपति पाध्यासँग ३२४ रुपैयाँ सापटी लिएर तगुवाको असीमुरी खेत बन्दकी दिएको तथा वि.सं. १८०६ का अर्को बन्दकी पत्रमा खल्या पाँडेबाट १४० रुपैयाँ सापटी लिएर ४० मुरी खेत भोग गर्न दिएको देखिन्छ (सुवेदी, २०५५) ।

राजा सत्यधन शाहपछि वि.सं. १८४२ मा शिवनारायण शाह गुल्मीको राजा भए । उनी स्वतन्त्र गुल्मीका अन्तिम राजा थिए । गुल्मीको राजवंशावली प्राप्त भएको छैन तापनि एउटा पत्रमा “वीरशाहका सन्तानहरुले १३ पुस्तासम्म सो राज्य गरेपछि गोर्षा सर्कार येकाम्मे भैबक्स्याको हो ….” भनी योगी नरहरिनाथले उल्लेख गरेबाट स्वतन्त्र रुपमा गुल्मी राज्यमा १४ वटा राजाहरुले राज्य गरेको कुरा थाहा हुन्छ । राजा शिवनारायण शाहको वि.सं. १८४२ को एउटा बन्दकी पत्र प्राप्त भएको छ ।

जसमा गिदुवा भन्ने ठाउँ (हालको कालीगण्डकी गाउँपालिका वडा नं.१ हर्मीचौर गुल्मीमा पर्ने) का वासिन्दा माधौ पाँडेबाट राजा शिवनारायण शाहले १०० रुपैयाँ सापटी लिई त्यसको सट्टामा उत्तर गिदुवा माथिको नागी, दक्षिण गण्डकी, पश्चिम पँधेराखोलो र पूर्व डिहिंग्याको विर्ता उत्तर डिहींखोलासम्मको भूभाग बन्दकीस्वरुप दिएको उल्लेख छ । उक्त कागजको कर्ता वीरनारायण शाह र साक्षीहरुमा शशिधर खत्री, भागिराम खत्री र लेखक साक्षी हेमन्तसमेत उल्लेख गरिएबाट त्यतिबेला गुल्मी राज्यको आर्थिक अवस्था निकै कमजोर रहेको थाहा हुन्छ ।

यिनको समयमा बहादुर शाहको नेतृत्वमा नेपाल एकीकरण अभियान सुरु भइसकेको थियो । गुल्मीलाई नेपालमा मिलाइछाड्ने उद्देश्यले वि.सं. १८४३ ज्येष्ठ १० गते नेपाली सेना आँधीखोला तरेको सूचना पाउँदासाथ राजकाज छोडी राजा शिवनारायण शाह राति नै भागे ।

वि.सं. १८४३ ज्येष्ठ ११ गते नेपाली सेनाले गुल्मी राज्य कब्जा ग¥यो (सुवेदी, २०५५) । यसरी स्वतन्त्र गुल्मी राज्यको अस्तित्व समाप्त भयो । वि.सं. १८४३ देखि १८५०सम्म पाल्पाली राजा मुकुन्द सेन द्वितीयका छोरा महादत्त सेन गुल्मीको राजा भए ।

बहादुर शाहले आफ्ना सिपाही र आश्रयमा आएका राजाहरुलाई एकै ठाउँमा जम्मा गरी अबिरजात्रा र उपहार दिने क्रममा नेपाल एकीकरणमा महत्वपूर्ण सहयोग गरेकाले गुल्मी, अर्घा, खाँची, मुसिकोट, धुर्कोट र इस्मा राज्य पाल्पालाई अनि छिल्ली, दाङ, देउखुरी र फलावाङ जस्ता राज्यहरु सल्यानलाई दिएपछि महादत्त सेन गुल्मीको समेत राजा भए ।

राजा महादत्त सेनको मृत्युपछि उनका जेठा छोरा पृथ्वीपाल सेन वि.सं. १८५० देखि १८५४ सम्म पाल्पा र गुल्मीको राजा भए । वि.सं. १८५४ मा बहादुर शाहको मृत्युपछि श्री ५ रणबहादुर शाहले पाल्पाबाट गुल्मीलाई झिकी आफ्ना ससुरा राजराजेश्वरी (विद्यालक्ष्मी) का पिता सिद्धिप्रताप शाहलाई गुल्मीको अख्तियारी प्रदान गरे ।

यससँगै वि.सं. १८५४ देखि १८६० सम्म सिद्धिप्रताप शाह सामन्ती राज्य गुल्मीका अर्धस्वतन्त्र राजा बने । उनलाई मानाचामल उठाउन पाउने सीमित स्वयत्तता मात्र रहेको थियो । उनका छोरा शक्तिप्रचण्ड शाह वि.सं.१८६० मै गुल्मीका राजा भए । यिनको पालामा श्री ५ गीर्वाणले गुल्मीको पुरानो क्षेत्र तर त्यतिबेला पाल्पाअन्तर्गत रहेको बल्ढेङगढीलाई पाल्पाबाट झिकी गुल्मीलाई दिएको वि.सं. १८६० को पत्र प्राप्त भएको छ ।

यसबाट उनी वि.सं. १८६० भन्दाअघि नै गुल्मीका राजा भएको प्रमाणित हुन्छ । शक्तिप्रचण्ड शाहपछि थम्मनबहादुर शाह गुल्मीका राजा भए । शक्तिप्रचण्ड शाहले विवाहिततर्फ छोरा नभएपछि थम्मनशहादुर शाहलाई धर्मपुत्र राखी आफ्नो शेषपछि यिनैलाई गुल्मीको राजा बनाएका थिए ।

यिनैका पालादेखि गुल्मी राज्यको राजधानी चारपालाबाट अहिले जिल्ला विभाजनमा अर्घाखाँचीअन्तर्गत पर्ने धैरेनीमा सारेका थिए (ज्ञवाली, २०६२) । त्यसपछि यिनका छोरा नरेन्द्रबहादुर शाह राजा बने त्यसपछि नरेन्द्रका छोरा चिरञ्जीवी विक्रम शाह गुल्मीका अन्तिम राजा रहेका थिए । २०१७ सालमा राज्यरजौटा उन्मूलन ऐन आएपछि यिनी पदच्यूत भए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा