गुल्मी । गुल्मी सदरमुकाम तम्घासका नेवार समुदायले तिहारमा झिनियाँ बिक्रीबाट मनग्य आम्दानी गरेका छन् । तिहारमा गुल्मी, अर्घाखाँची, पाल्पा, बुटबल, काठमाडौ लगायतका ठाउँमा भिनियाँको माग धेरै हुने हुँदा उनीहरुले झिनियाँ बिक्रीबाट मनग्य आम्दानी गरेका हुन् । तम्घासकी ४३ बर्षीया समिक्षा श्रेष्ठले पनि दुई दशक बढिदेखि झिनियाँ व्यापार गर्नुहुन्छ ।
उहाँले बर्षभरनै झिनियाँ व्यापार गर्नुहुन्छ । आफुसहित परिवारका सबै सदस्यले आमाको काममा सघाउँछन् । दशै तिहारमा मात्रै सात लाखको झिनियाँ बिक्री गरिएको समिक्षाले बताउनुभयो । हातले नै बनाउने भएकाले धेरै परिमाणमा उत्पादन गर्न नसक्दा स्टक नहुने उहाँको भनाई छ । उहाँले बजारको कुनै समस्यानै नभएकाले उत्पादन गर्न सके राम्रो नै आम्दानी हुने बताउनुभयो । अर्डर अनुसार जिल्लासहित पाल्पा, बुटवल र काठमाण्डौमा समेत झिनियाँ पठाउनुहुन्छ ।
तम्घासमा होलसेल दर्जनको एक सय रुपैयाँ र फुटकर एक सय ४० देखि दुई सय रुपैयाँसम्म साइजको आधारमा बिक्री हुने गरेको छ । समिक्षाको घरबाटै अहिले दैनिक पाँचदेखि १० हजार रुपैयाँसम्मको झिनियाँ बिक्री हुने गरेको छ । तम्घासमा १५÷२० घर नेवार समुदायले व्यावसायीक रुपमा झिनियाँको व्यावसाय गर्दै आएका छन् ।
त्यो बाहेक वामी, रिडी, बलेटक्सार, मजुवा, जुहाङ्ग बजार लगायतका ठाउँमा नेवार समुदायले झिनियाँ उत्पादन र बिक्री वितरण गर्ने गरेका छन् । रेसुंगा नगरपालिका–८ की ४५ बर्षीया यमकला श्रेष्ट होटल व्यावसायी हुनुहुन्छ । उहाँले होटलको काममा फुर्सद निकालेर बिहान–साँझ झिनियाँ बनाउनुहुन्छ । बर्षमा एक लाख बढिको झिनियाँ कारोबार गर्नुहुन्छ । झिनियाँ सुकाउने प्रबिधि छैन ।
हाते मेसिनबाट बनाउने र सुक्न घाम चाहिन्छ । मौसम खुलेन भने झिनियाँ बनाउन सकिदैन् । मौसकमै कारण बैशाख, जेठ र भदौमा झिनियाँ बनाउन पाइएन । जसले बजारमा झिनियाँको माग बढि रहेको यमकुमारीले बताउनुभयो ।
यमकुमारीको काममा श्रीमानसहितका परिवारले सहयोग गर्छन् ।
बिशेष गरेर तिहारमा झिनियाँ व्यापार हुन्छ । मेला, महोत्सव र पुजाहरुमा बर्षभर झिनियाँ बिक्री हुने श्रेष्टले सुनाइन् । झिनियाँ राम्रो हुन राम्रो पाक र मौसम चाहिन्छ । चामलको पीठो, तेल र आर्कषक देखाउन कलर झिनियाँका सामग्री हुन् । बजारमा चामलको मुल्य बढेपछि झिनियाँको मुल्य धेरै बर्षदेखि एउटै हुँदा गाह्रो परेको गुनासो गर्नुभयो ।
‘पुरै समय झिनियाँमा लगाउनेहरुले राम्रो कमाउँछन् । चामल अनुसारको झिनियाँको मुल्य छैन ।’ उनले भनिन, ‘बिहान साँझको फर्सुदले पनि बार्षिक एक लाख कमाउँछन् ।’ रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठ दम्पती पनि होटल व्यावसायी हुनुहुन्छ । उहाँहरुलाई पनि होटलसंगै झिनियाँ रोटीको व्यापारले भ्याइ–नभ्याई छ ।
दम्पतीले १५ बर्षदेखि व्यावसायीक रुपमा होटल र झिनियाँको व्यापार गरिरहनुभएको छ । बर्षेनी झिनियाँले सुमित्राको घरको पेटी र छत राताम्य छ । दशै र तिहार राम्रो व्यापार हुने भएकाले झिनियाँबाट डेढ दुई लाख आम्दानी भइरहेको श्रेष्टले सुनाउनुभयो ।
त्यस्तै मुसिकोट नगरपालिका–७ वामीकी ४५ बर्षीया बिष्णुमतिको परिवारले झण्डै साढे चार दशकदेखि झिनियाँ बनाउनुहुन्छ । बिष्णुमतिको मुख्य पेशानै झिनियाँ भएकाले चार जना कामदार राखेर झिनियाँ बनाउँछिन् । दशैतिहारमा धेरै व्यापार हुने भएकाले बिहान ४ बजेदेखिनै झिनियाँ उत्पादन र व्यावस्थापनमा बिष्णुमति जुट्छन् । अहिले दैनिक दुई सय ५० दर्जनसम्म झिनियाँ रोटी बनाउने गरेकी श्रेष्टले बार्षिक आठदेखि १० लाख रुपैयाँसम्मको कारोबार गर्ने गरेको जानकारी दिनुभयो ।–––