हुमाकान्त पोखरेल
२१ कात्तिक, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर १ गोडाकाचौरका कुल बहादुर सुनार विगत १३ दिनदेखि सम्पर्क बिहिन भएका छन् । कात्तिक ३ गते बिहान ५ बजे घरबाट हिडेका उनी अहिलेसम्म पनि भेटिएका छैनन् ।
घरमा कसैलाई केही नभनी हिडेपछि छोरा अजितले अर्को दिन कात्तिक ४ गते प्रहरी चौकी हस्तिचौरमा बुवाको खोजि गरिदिन भन्दै निवेदन दिएका थिए । प्रहरीले सोही दिन नै गुल्मीको मुख्य नाका रिडी लगायतका विभिन्न ठाउँमा खोजिकार्य पनि गरेको थियो ।
हालसम्म जिल्ला एवं बाहिरका अधिकाशं ठाउँमा खोजि गरेपनि नभेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर भुपेन्द्र थापाले जानकारी दिए । छोरी एन्जलका अनुसार घरमा कुल बहादुरसँग कुनै झगडा परेको थिएन ।
‘बिहान बुवा एक्कासी हिड्नुभयो, अहिलेसम्म कुनै अत्तोपत्तो छैन ।’ छोरी एन्जलले भनिन्, ‘बुवा नहुँदा तिहार पनि पर्वजस्तो भएन ।’ परिवारले कुल बहादुरको खोजीकार्यका लागि सबैसँग अपिल समेत गरेको छ ।