हिरा ए.सी.
चौबीसी राज्य अन्तर्गत पर्ने धुर्कोट एक सानो र स्वतन्त्र राज्य थियो । यहाँका राजा सूर्यवंशीय काश्यप गोत्र, मल्ल थर, चितौरिया घरानाका थिए । आरम्भमा यहाँ ७०० घरकुरिया थिए । यस राज्यको स्थापना वि.सं. १४६५ मा भएको थियो । धुर्कोट राज्यका चौध मौजा थिए ।
जसमा धुर्कोट रजस्थल, जैसिथोक, वस्तु, आफ्र, डाँडाथोक, वाग्ला, अजमीर, बङ्जेङ (पिपलधारा), सोमरभोमर, सुफ्ल, नयाँगाउँ, टिमुरखर्क, गल्दा र बुल्म पर्दथे । जहाँ एक मौजामा ५० कुरियासम्म पर्दथे । आरम्भमा त्यतिमात्र धरधुरी भए तापनि पछि त्यो संख्या बढेर १५०० जति पुग्यो तर धुर्कोटलाई ७०० धुर्कोट नै भनिन्थ्यो ।
यस राज्यको पूर्वतर्फ मुसिकोट र गुल्मीसँगको सिमाना छल्दीपनाहा खोला, पश्चिममा प्यूठान राज्यको सौतामारे डाँडाको पानीढलो, उत्तरमा इस्मा राज्यको सिमाना र अमरपुर गहतेरासम्म र दक्षिणमा अर्घा राज्यको खनदहको पानीढलो पर्दथ्यो ।
घरको धुरीजस्तो आकार परेको डाँडामाथि र अग्लो पहाडी जमिनको धुरीको कोट भएको हुँदा वर्तमान धुर्कोटलाई धुरीकोट भन्दाभन्दै कालान्तरमा धुरकोट भनिएको थियो (मल्ल, २०६७) ।
त्यसैगरी उक्त स्थानको दक्षिण पश्चिममा धुर नामको गाउँ छ । सो गाउँका वासिन्दाले बनाएको कोट हुनाले त्यसको नाम धुरकोट रहेको पनि बताइन्छ । साविकमा लिच्छवी शासनअन्तर्गत रहेको धुरकोट पनि लिच्छवी साम्राज्यको पतनपछि आसपासका अन्य भूभागसँगै खस साम्राज्यको पोल्टामा पुग्यो ।
लेखक युवराज भुसालले खस साम्राज्य कालमा स्थानीय सामन्त (माण्डलिक, प्रशासक)बाट धुरकोट क्षेत्रको प्रशासन चलाइएको थियो, जसलाई जाड राजा भनिन्थ्यो । तर ती प्रशासकसँग कुनै फौज वा हातहतियार थिएन (भुसाल, २०७८) भनेका छन् । भने इतिहासकार राजाराम सुवेदीले त्यहाँ प्रचलित लोक इतिहासका आधारमा त्यहाँ जाँड्या राजा भएको र त्यहाँका जनताले निजलाई अपदस्थ गरेपछि ठकुरी मल्लहरुको राज्य स्थापना भएको उल्लेख गरेका छन् (सुवेदी, २०५५) ।
वि.सं. १३८१ मा स्थापित अर्घा राज्यका प्रथम राजा जिल्ला राई पछिका ११ औं राजा म्रि सिंहका कान्छा छोरा जगजित सिंहले सिंजाली खस सम्राटद्वारा नियुक्त धुरकोटका जाड्या सामन्तलाई हटाई राजा बन्ने उद्देश्यले आक्रमण गरे । धुरकोट विजयपछि राज्यारोहण नहुँदै जगजीत सिंहको मृत्यु भएकोले उनका छोरा खड्गराज (खड्गजीत) सिंह वि.सं. १४६५ मा धुरकोटका प्रथम राजा घोषित गरिए (ज्ञवाली, २०६२ र सुवेदी, २०५५) ।
तर लेखक युवराज भुसालले वि.सं.१४९३ मा धुरकोट राज्य स्थापना भएको उल्लेख गरेका छन् । अन्य कतिपयले वि.सं.१४५० देखि १५०० को आसपासमा धुर्कोट राज्यको स्थापना भएको लेखेका छन् । यस हिसाबले धुर्कोट राज्य गुल्मी, इस्मा र मुसिकोट भन्दा पहिले नै स्थापना भएको देखिन्छ । धुरकोटका जाँड्या राजालाई विना हातहतियार कुस्ती खेली मल्लयुद्धबाट जितेर राज्य विजय गरेकै कारण जड्गजीत सिंहका सन्तानले तद्उप्रान्त आफ्नो नामको पछाडि मल्ल थर लेख्न थालेका थिए ।
स्वतन्त्र धुर्कोट राज्यका प्रथम राजा खड्गराज (खड्गजीत) मल्ल वि.सं. १४६५ देखि वि.सं. १५३५ सम्म राजा भएको अनुमान गरिएको छ । यिनले धुर्कोटका जाड्या सामन्तलाइ अपदस्थ गरी स्वतन्त्र धुर्कोट राज्य स्थापना गरेका थिए । ती जाड्याराजाको नाम थाहा नभए तापनि मगर हुनसक्ने अनुमान गरिएको छ ।
शायद बल्ढेङ्गढीका मगर राजाले धुर्कोटको रक्षार्थ कुनै मगरलाई उमराका रुपमा खटाएका र पछि उनी आफूले खाफैलाई राजा घोषणा गरेको हुनसक्ने सम्भावना धेरै छ । राजा खड्गराज मल्लपछि उनका उत्तराधिकारी मानिक (माणिक) मल्ल धुर्कोटका राजा भए । उनको राज्यकाल वि.सं. १५३५ देखि वि.सं. १५८० वरपरसम्म रहेको अनुमान गरिएको छ ।
माणिक मल्लका दुई छोरी जेठी सरुपावती वा सरुमारानी र कान्छी वसन्तावती थिए । जेठी सरुमारानीको विवाह कास्कीका राजा कुलमण्डन शाहका जेठा छोरा राजकुमार जलाल शाहसँग भएको र उनीबाट राजशाहीको जन्म भएको थियो । कान्छी वसन्तावतीको विवाह कान्छा राजकुमार यशोब्रह्म शाहसँग भएको र पछि उनी लमजुङका राजा भएका थिए । यशोब्रह्म र वसन्तावतीबाट नरहरि शाह र द्रव्य शाहको जन्म भएको थियो ।
कतैकतै वसन्तावतीको विवाह कास्कीका माहिला राजकुमार कालु शाहसँग भएको उल्लेख पनि पाइन्छ । धुर्कोटे राजाकी छोरीहरुको विवाह कास्कीका राजाका छोराहरुसित भएको थियो भन्ने कुराको अनुमान कास्की र गुल्मीमा गाइने सरुमैरानीको कर्खाबाट पनि गर्न सकिन्छ ।
यससँग मिल्दो संयोग के छ भने गुल्मी र कास्कीका पुराना गाइने (गन्धर्व जाति) हरुले बडो मर्मान्तकरुपमा गाउने सरुमैरानीको कर्खामा एकै किसिमका शब्द र लय रहेको पाइन्छ । लोकगीतको रुपमा गाइने उक्त कर्खा अनुसार सरुमैरानी गुल्मीबाट सानै उमेरमा विवाह गरिएर कास्की ल्याइएकी र १२ वर्षसम्म माइत नगएको वर्णन गरिन्छ । उनले माइत जाने इच्छा व्यक्त गरी सरसामान तयार पार्न लाग्दा अपशकुनहरु देखा पर्दछन् ।
येनकेन उनी पतिका साथ माइत पुग्छिन् त उनकी आमा मरिसकेकी र सौतेनी आमाले उनको ईष्र्या गरेर ज्वाँइलाई विष मिसाएको खाना खुवाएर मार्दछिन् । रातिको समयमा रुँदै, बिलौना गर्दै सरुमारानी घर फर्कन्छिन् । यसरी पति गुमाएर घर फर्कंदा सरुमारानीले व्यक्त गरेका दुःख, वेदनाहरुको कारुणिक चित्रण उक्त दुवै क्षेत्रमा गाइने कर्खामा गरिएको पाइन्छ । यसले कास्की र गुल्मीको लोकगीतको परम्परालाई जोड्नुका साथै कास्की र धुर्कोट राज्यको वैवाहिक सम्बन्धलाई समेत पुष्टि गर्दछ (सुवेदी, २०५५) ।
राजा माणिक मल्लपछि हुवा मल्ल, हुम्वीर मल्ल, योग मल्ल, जगत मल्ल, राई मल्ल, निवास मल्ल, नेवास मल्ल, हावजात मल्ल र मित्रजंग मल्ल राजा भएको उल्लेख गरिएको पाइन्छ तापनि तिनीहरु कहिलेदेखि कहिलेसम्म राजा भए, के काम गरे भन्ने जस्ता कुराको विवरण उपलब्ध हुनसकेको छैन ।
राजा मित्रजंग मल्लपछि उनका छोरा भूपेन्द्र मल्ल स्वतन्त्र धुर्कोट राज्यका अन्तिम राजा भए । उनी राजा हुँदा चौबीसी राज्यहरुको राजनीतिक परिस्थिति बिग्रँदै गएको थियो भने बहादुर शाहको नायवीमा नेपाल एकीकरण अभियान आरम्भ भएको थियो । आफ्नो सुरक्षाका लागि चौबीसी राज्यहरु मध्येको बलियो राज्य पर्वतसँग धुर्कोट नजिकिंदै गएको थियो । नेपाली सेनाको मुकाबिला गर्न धुर्कोटले प्रयत्न त गर्याे तर सफलता पाएन ।
आफ्नो विजय हुने सम्भावना नदेखेपछि जनतालाई युद्धमा झोंसेर रक्तपात गराउन उपयुक्त नदेखी धुर्कोटे राजा भूपेन्द्र मल्लले आफ्ना सुपुत्र युवराज रवीनारायण मल्ललाई साथमा लिएर दरबार छोडी लुसुक्क नयाँगाउँतिर लागे । वि.सं. १८४३ आश्विन १३ गते नेपाली सेनाले हतियार प्रयोगै नगरी धुर्कोटउपर विजय हासिल गरे (सुवेदी, २०५५) ।
यसरी ३७५ वर्षभन्दा लामो इतिहास बोकेको धुर्कोट राज्य विशाल नेपालमा विलय भयो । तत्कालीन धुर्कोटे राजाका सन्तानहरु हाल पनि नयाँगाउँ (हाल धुर्कोट गाउँपालिका वडा नं.१) मा नै बसोबास गर्दै आएका छन् । राजा खड्गराज मल्लदेखि भूपेन्द्र मल्लसम्म जम्मा बाह्र पुस्ताले धुरकोटमा राज्य गरेको पाइन्छ (शाह, २०६९) ।
धुर्कोटे राजाहरुको वंशावली निम्नानुसार छ ः
१. राजा खड्गराज मल्ल
२. राजा मानिक (माणिक) मल्ल
३. राजा हुवा मल्ल
४.राजा हुम्वीर मल्ल
५. राजा योग मल्ल
६. राजा जगत मल्ल
७. राजा राई मल्ल
८. राजा निवास मल्ल
९. राजा नेवास मल्ल
१०. राजा हावजात मल्ल
११. राजा मित्रजंग मल्ल
१२. राजा भूपेन्द्रजंग मल्ल
१३. राजा रविनारायण मल्ल
१४. राजा हरिप्रसाद मल्ल
१५. राजा प्रेमबहादुर मल्ल
१६. राजा देवीबहादुर मल्ल
१७. राजा हिक्मत मल्ल
१८. राजा शम्शेरबहादुर मल्ल रहेका छन् (सुवेदी, २०५५) ।
गुल्मीमा प्रचलित लोक इतिहासअनुसार धुर्कोट, इस्मा र मुसीकोट एकै समयमा र एकै वंशका पृथक्पृथक् राजाहरुले राज्य गरेको कुरा थाहा भएको छ । तीमध्ये जेठो इस्मा, कान्छा मुसीकोट र ज्वाँइ पर्ने धुर्कोटका राजा भएका हुन् पनि भनिन्छ (सुवेदी, २०५३) ।
धुर्कोट, इस्मा र मुसीकोट राज्यका राजपरिवारका बीचमा विवाह सम्बन्ध पनि स्थापना भएको र धुर्कोटे राजाकी छोरी इस्माली राजाले विवाह गर्दा बुल्म मौजा दाइजो स्वरुप पाएपछि धुर्कोटमा तेह्र मौजा मात्र रहेको देखिन्छ । धुर्कोटे राजाले छिमेकी राज्यहरुसँग मेलमिलापको नीति लिएकाले अरु राज्यसँग लडाइँ, झगडा कमै हुन्थ्यो ।
तर चौरासी फाँटको विवादले गर्दा इस्मा र धुर्कोट राज्यबीच भने बेलाबेलामा तनाव हुन्थ्यो भन्ने उल्लेख पाइन्छ । धुर्कोट, इस्मा, मुसिकोट, गुल्मी लगायतका चौबीसी राज्यमध्ये कतिपयमा टक्सार भन्ने गाउँहरु भए पनि त्यहाँ टक्सारी भएको प्रमाण पाइएको छैन । ती राज्यहरुले काठमाडौंका मन्द्रामली र मुगलानका मुसलमानी सिक्का चलन गर्दथे भन्ने उल्लेख राजाराम सुवेदीले गरेका छन् ।
स्थानीय व्यवहार चलाउनु परेमा तामाका ससाना चौगण्डी टुक्रा पारी एक पैसाको हिसाब गरिन्थ्यो । धुर्कोट क्षेत्रको अर्को किंवदन्ती अनुसार धुर्कोटे राजा त्यहाँ आएर राजा थाप्दा निजका साथमा तारु पण्डित (दूधपोखरेल), रतनपाँडे, भार्से पण्डित, मैतु धामी (घर्ती), टोटेढोली, बैकर कुमाल, लाम्टे कामी, शिरे गायन र गदले गायनहरु पनि सँगै आएका थिए ।
धुर्कोटका राजगुरु वाग्लाका पन्थीहरु भएको र राजगुरु जयभद्रका पितापुर्खाले शास्त्रसम्मत रुपमा राज्य सञ्चालनमा सल्लाह सुझाव दिने गरेको उल्लेख संस्कृतिविद् दुर्गाप्रसाद अर्यालले गरेका छन् । त्यहाँका धर्माधिकारीमा पोखरेल ब्राह्मण थिए भनिन्छ र भण्डारेमा वस्तुका भण्डारी थिए ।
घर्ती मगरहरुले राजाको आठपहरियाको काम गर्दथे भने काजीमा थापा मगरहरु थिए । धुर्कोट राज्यको दरबार रहेको धुर्कोट रजस्थल हाल धुर्कोट गाउँपालिका वडा नं. ६ मा पर्दछ । उक्त वडाका वडाध्यक्ष कृष्णबहादुर नेपालीका अनुसार धुर्कोट मौलामा खड्क र छत्रदेवताको पूजा गरिनुका साथै तत्कालीन धुर्कोटे राजाको पालाका अठार हतियारलाई अठार भाइ देवताको रुपमा पूजा गर्ने गरिन्छ । धुर्कोटे राजाको दरबार रहेको धुर्कोट कोटको हालै जीर्णोद्धार गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गरिएको छ ।