बासुदेव पोखरेल
मंसिरको महिना आउँदैछ। यो महिना सधैं नयाँ सम्बन्धको सुरुआतको प्रतीक बन्छ, तर यो पटक मेरो लागि यो महिना पीडाको सन्देश बन्यो।
मेरा सपना, मेरा आशा अनि मेरो बिश्वास—सबै सारा भताभुंग हुँदैछन्। उनको विवाहको खबरले मलाई भित्रैदेखि टुक्रायो, मानौं मेरो संसारले मबाट सबै खोस्दैछ। उनलाई आफ्नो बनाउनका लागि मैले जीवनको हरेक पलमा गरेको कल्पना र त्यही कल्पनामा जन्मेका सपना, अब केही दिनमै अरू कसैको बन्नेछन्।
बर्षौं बित्यो हामीले एकअर्कासँग रहर र भरोसा साटेर। लाग्थ्यो, जिन्दगी यत्तिकै रमाइलो रहनेछ, हाम्रो सँगै बित्नेछ। तर अचानक उनले अर्कैसँग विवाह गर्ने निर्णय गरिन्। कुनै धनी र सरकारी जागिरेसँग उनको लगनगाँठो कसिदैछ रे। म भने गाउँको एउटा साधारण केटो। मेरो नाम, मेरो इमान र मेरो गरिबी बाहेक तिमीलाई दिने कुरा केही थिएन।
केही समय अगाडि उनको एउटै मुस्कानले मेरो दिनभरको थकान मेट्थ्यो। तर अब सोच्दा, म आफ्नो साधारण जिन्दगीमा त्यति भरिसकेँ, अनि उनी धन र प्रतिष्ठाले घेरिएको दुनियाँमा। उनीसँग भएको हरेक कुराको सम्झनाले भित्रभित्रै पोल्छ। आँखाको नानीबाट टल्किने खुशी अब उनलाई अर्कैले सझाउनेछ, उनको सिउँदोको सिन्दूर अरू कसैले भर्नेछ।
मेरो सपना केवल सपना बन्यो। मैले उनलाई सधैंभरि आफ्नो बनाउन खोजे, उनीसँगै जिन्दगी बिताउने सपना देखे। तर अब ती सबै सपना एकछिनमै समाप्त हुँदैछन्। म सम्झन्छु, हामीले भविष्यमा सँगै बनाउने घर, हाम्रो एकसाथ बित्ने जीवन, र सन्तानको कल्पना।
त्यो कल्पना यतिबेला मेरो हृदयमा कसैले तेजधारको तरबारले प्रहार गरेझैँ टुटेर झरेको छ। उनी आफ्नो जिन्दगीको नयाँ बाटो रोजिरहेकी छिन्, र म आफूलाई सम्झाउँदै छु, कि उनी जुन बाटो रोज्दै छिन्, त्यसले उनलाई खुसी ल्याओस्। मेरो आँसु, मेरो पीडा उनीमाथि भारी नहोस्। तिमीलाई जीवनको सबैभन्दा ठूलो खुसी मिलोस्, म यत्तिकै भनेर चित्त बुझाउँदै छु।
उनी अर्काको भए पनि, म उनको यादमा जिउँदै आफ्नो जिन्दगी बिताउने संकल्प गर्छु। यो मायामा धोका पाएँ तर मायामा नै बाँच्ने, त्यसकै यादमा जिन्दगीको अन्तिम श्वाससम्म उनलाई सम्झने संकल्प छ मेरो। उनीसँग बिताएको हरेक पल, हरेक गफ, हरेक हाँसो अब सम्झनामा रहन्छ।
यो मेरो जिन्दगीको अधूरो प्रेम कथा सधैंभरि दिलमा रहिरहन्छ, जसको अन्त्य त भयो, तर जसले मेरो जिन्दगीको शुरुआत र अन्त्य दुवै बदलिदिएको छ। उनलाई जीवनसाथीको रुपमा पाउँदा म भन्दा खुसी कोही हुन्थ्यो होला, तर अब त्यो कल्पनामा मात्रै सिमित रहनेछ। म बिहे नगरी, केवल उनको यादमा आफ्नो बाँकी जीवन बिताउने प्रयास गर्नेछु। यो उनको लागि मेरो अन्तिम उपहार, मेरो बधाई।