हुमाकान्त पोखरेल, गुल्मी
गुल्मीमा जिल्लाका उत्कृष्ट करदातालाई सम्मान गरिएको छ । शुक्रबार सदरमुकाम तम्घासमा करदाता सेवा कार्यालय, गुल्मीले आयोजना गरेको १३ औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताह–२०८१ को समापन कार्यक्रमको अवसरमा जिल्लाका उत्कृष्ट करदातालाई सम्मान गरिएको हो ।
गत आर्थिक बर्ष २०७९÷८० मा गुल्मीमा सबैभन्दा बढी कर तिर्ने अर्जुन विल्डर्स एण्ड कन्स्ट्रसन प्रा.लि.का संचालक लक्ष्मी खनाल र विजय खनाललाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले दोसल्ला र सम्मान पत्रले सम्मान गरे । उक्त फर्मले गत आर्थिक बर्षमा सबैभन्दा बढी २५ लाख ३६ हजार तीन सय ६७ रुपैँया १३ पैसा कर तिरेको छ ।
कार्यालयले विभिन्न पालिका तथा क्षेत्रबाट सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थाहरुलाई पनि सम्मान गरेको छ । जसमा गुल्मी जिल्लाका वित्तीय संस्थाहरुबाट सबैभन्दा बढी आयकर तिर्ने गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी संस्था लिमिटेड, उद्योगतर्फ सबैभन्दा बढी आयकर तिर्ने बबिता फर्निचर उद्योग तथा नमुना कृषकको रुपमा नमुना कृषि फर्मलाई सम्मानित गरिएको कर अधिकृत विक्रम पन्थीले जानकारी दिए ।
कार्यलयले पालिकामा सबैभन्दा बढी कर तिर्ने करदातालाई पनि सम्मान गरेको छ । जसमा कालिगण्डकी गाउँपालिकाबाट टिष्टा विल्डर्सका संचालक चोक बहादुर कुँवर, सत्यवतीबाट सिद्धबाबा सप्लायर्सका ऋषिराम पाण्डे, चन्द्रकोटबाट चन्द्रकोट कन्स्ट्रक्सनका संचालक विरबहादुर थापा, छत्रकोटबाट बाँसुरी निर्माण सेवाका जमुना न्यौपाने सम्मानित भएका छन् ।
त्यसैगरी रुरुक्षेत्रबाट कमल ब्रदर्श ट्रेड एण्ड सप्लायर्सका संचालक चन्द्र प्रकाश श्रेष्ठ, गुल्मीदरबारबाट रुरु रेसुङ्गा कन्स्ट्रक्सन एण्ड सप्लायर्सका संचालक राजु कार्की, मुसिकोटबाट डाक्टर सुदर्शन थापा क्षेत्री, इस्माबाट हरी बहादुर खत्री, मालिकाबाट नरेन्द्र जिसी, धुर्कोटबाट काफलपानी कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.का संचालक आशा थापा र मदानेबाट लक्की कन्स्ट्रक्सन निर्माण सेवाका संचालक मनिराम थापा सम्मानित भएका छन् ।
कार्यक्रमकै अवसरमा कर सप्ताहको अवसरमा आयोजना गरिएको ‘कर प्रणालीको सार, लगानीको आधार’ बिषयक खुल्ला जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो । प्रतियोगितामा आकृति अर्याल प्रथम, सुजता कुँवर द्धितिय, करिना टन्डन तृतिय एवं रितिका गौतम सान्त्वना भएका थिए ।
कार्यक्रमकै अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा कार्यालय सहयोगी पदम पोखरेल तथा वक्तृत्वकला प्रतियोगितामा निर्णायकमण्डलको रुपमा रहेका गुणनिधी शर्मा, यम बहादुर थापा र भुवन अर्याललाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्थीले कर तिर्नु प्रत्येक नागरिकको कर्तव्य रहेको भन्दै सरकारले करको सही सदुपयोग गर्नुपर्ने बताए