हुमाकान्त पोखरेल
गुल्मी, ०९ मंसिर ः गुल्मीमा माध्यमिक विद्यालयस्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । सदरमुकाम तम्घासमा रहेको फोर्टिन स्टार युवा क्लवको आयोजनामा यही मंसिर ११ देखि १५ गतेसम्म तम्घासको चिदिचौर खेल मैदानमा प्रतियोगिता संचालन हुने भएको हो ।
क्लवको १४ औँ बार्षिकोत्सवको अवसरमा संचालन हुने ‘चौथो फोर्टिन स्टार कप–२०८१’ मा कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीले मात्र सहभागिता गराउन सक्नेछन् । खेलमा प्रथम र द्धितिय हुनेलाई क्रमश ः ३५ हजार र २५ हजारका साथै ट्रफी, मेडल र प्रमाण–पत्र उपलब्ध गराइने क्लवका अध्यक्ष नारयण आचार्यले जानकारी दिए ।
क्लवले आफ्नो बार्षिकोत्सवको अवसरमा विगतका बर्षहरुमा पनि फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । गत बर्ष अर्जै मावि प्रथम र महेन्द्र मावि द्धितिय भएका थिए । गत बर्ष १९ वटा विद्यालय प्रतियोगितामा सहभागि भएका थिए । यो बर्ष भने १५ वटा विद्यालय सहभागि भएका छन् ।
क्लवले शनिबार सदरमुकाम तम्घासमा एक कार्यक्रमको आयोजना गरी टाइसेट समेत गरेको छ । जसमा पहिलो खेल अर्जुन बोर्डिङ्ग र पृथ्वी माविबीच हुनेछ । त्यसैगरी यी दुईबीचको विजेताले महेन्द्र माविसँग प्रतिस्पर्धा गर्नेछ । अन्य खेलहरु भाडगाउँ मावि र गण्डकी बोर्डिङ्ग, रेसुङ्गा मावि र आदर्श विद्या आश्रम, रिडर्स इङ्गिस बोर्डिङ स्कूल र देविस्थान मावि भिड्नेछन् ।
त्यसैगरी सिद्धबाबा मावि र लिटिल स्टार, पालुखा मावि र उपल्लो तम्घास एवं ब्रिलियन्ट युनाइडेट एकेडमी र जनसहयोग माविबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । कार्यक्रमकै अवसरमा प्रतियोगितामा प्रथम, द्धितिय एवं विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुको ट्रफि समेत अनावरण गरिएको थियो ।
गाउँ–गाउँमा लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटन गर्दै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उदेश्यले विद्यालयस्तरीय फुटबल प्रतियोगिताको आयोजना गरिएको आचार्यले जानकारी दिए ।