गुल्मी ।
यही मंसिर १६ गते देशभर उप–चुनाव हुदैँछ । पालिका अध्यक्ष, उपाध्यक्ष, जिसस प्रमुख र वडाध्यक्षमा उप–चुनाव हुने उप चुनावका लागि दुई जिसस प्रमुख र एक वडाध्यक्ष निर्विरोध भएका छन् । सोही दिन गुल्मीको मुसिकोट नगरपालिका–१ मा पनि वडाध्यक्षको लागि निर्वाचन हुदैँछ । निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट दुर्गा विकले उम्मेदवारी दिएका छन् ।
वि.स. २०५५ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका विक हालसम्म विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन् । ०६३ सालमा विक नेटा, दर्लिङ, ह्वाङ्दी, अर्खबाङ्ग लगायतका ठाउँको एरिया कमिटीमा रहेर काम गरे । त्यसपछि नेटा गाउँ कमिटीको पार्टी सचिव भए ।
त्यसैगरी उनी माओवादी केन्द्र मुसिकोट नगर कमिटी सह–सचिव हुँदै नेकपा हुँदा पार्टीको लुम्बिनी प्रदेश कमिटी सदस्य भए । नेकपा फुटेपछि उनी माओवादी केन्द्र मुसिकोटको नगर कमिटी अध्यक्ष अध्यक्ष एवं हाल माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटी सदस्य एवं दलित मुक्ति मोर्चाको केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारीमा छन् ।
४६ बर्षिय विक ०७४ मा पनि माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका थिए । ‘०७४ मा पहिलो अनुभव थियो, ०७९ मा गठबन्धन भयो ।’ विकले भने, ‘यस पटक जित्ने लक्ष्यका साथ चुनावी प्रतिस्पर्धामा उत्रिएको हुँ ।’
आफु मुसिकोट –१ का सबै जनतासँग प्रत्यक्ष रुपमा सम्पर्कमा रहेको, दलित, उत्पिडीत एवं पिछडिएको वर्गको लागि काम गरेको तथा विकासका योजना भित्राउनमा भुमिका खेलेकोले नागरिकले आफुलाई विजयी बनाउने विकले दाबी गरे । ‘मुसिकोटमा खासगरी खानेपानीको समस्या छ ।’ उनले भने, ‘त्यसलाई समाधान गर्ने उपाय पनि म सँग छ ।’
उनले आफु वडाध्यक्ष भइसकेपछि कृषिलाई आधुनिकीकरण गरेर रोजगारी सिर्जना गर्ने, सडकको स्तरोन्नती गर्ने, वडामा प्राविधिक शिक्षाको व्यवस्था गर्ने, स्वास्थ्यचौकीमा प्रयाप्त औषधीको व्यवस्था गर्ने लगायतका काम गर्ने लक्ष्य लिएको विकले बताए । त्यसका साथै नागरिकको आय–आर्जन, जनचेतनामुलक कार्यक्रम लगायतका क्षेत्रमा पनि आफुले काम गर्ने विकको भनाई छ ।