spot_imgspot_img

सिद्धबाबामा ‘लघु संग्राहलय’ स्थापना

गुल्मी  ः पछिल्लो समयमा धेरै रकम खर्च गरेर पालिका एवं विभिन्न संघ संस्थाहरुले संग्राहलय स्थापना गर्ने होडबाजी छ । तर गुल्मीको सिद्धबाबा माध्यमिक विद्यालयले भने एकदमै कम खर्चमा विद्यालयमै संग्राहलय स्थापना गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ८ मा रहेको सिद्धबाबा माध्यमिक विद्यालयले लघु संग्राहलय स्थापना गरेको हो । विद्यार्थीहरुलाई पढाइसँगै प्राचिन समयमा प्रयोग भएका सामग्रीहरुको जानकारी दिने उदेश्यले संग्राहलयको स्थापना गरिएको हो ।
विद्यालयमा व्यवस्थित रुपमा माना, माथी, टुकी, बत्ती, ठेका, मदानी, डोको, नाम्लो, डाला, फुगो, तराजु, ढक, कुचो लगायतका प्राचीन सामग्री राखिएको छ । त्यसैगरी गुन्द्रो, लालटिन, आरी, हाडीँ, मटुलो, प्राचीन पैसाहरु, खुकुरी, सिलौटो, लोहोरो, मादल लगायतका दुई दर्जनभन्दा बढी सामग्रीहरु राखेको विद्यालयका सहायक प्राध्यानाध्यापक युवराज अर्यालले जानकारी दिए ।

‘घरमा काम नलाग्ने सामग्रीहरु यहाँ संग्राहलयको रुपमा राखेका छौ ।’ अर्यालले भने, ‘धेरै कम लागतमा बढी जानकारी दिने हाम्रो उदेश्य छ ।’ अझै पनि त्यस्ता सामग्रीहरु संकलन गर्ने कार्य जारी रहेको उनको भनाई छ ।


विद्यालयमा संग्राहलय स्थापना गरेपछि विद्यार्थीहरु पनि उत्साहित भएका छन् । ‘विद्यालयले व्यवस्थित रुपमा स्थापना गरेको संग्राहलयबाट हामीले धेरै कुरा सिक्न पाएका छौ ।’ कक्षा १२ मा अध्ययनरत प्रदिप भुसालले भने, ‘किताबमा पढेका कुराहरुलाई प्रयोगात्मक रुपमा सिक्न पनि पाइएको छ ।’

उनले संग्रालयमा गएपछि नयाँ–नयाँ सोच आउने र पढाइप्रति पनि ध्यान केन्द्रित हुने बताए । शिक्षकले विद्यार्थीहरुलाई प्राचीन सामग्रीको बारेमा जानकारी समेत दिएको भुसालको भनाई छ ।

प्राचीन समयमा मानव जिवन संचालनको लागि धेरै प्रयोग गरिएका तर हाल विभिन्न प्रविधिले प्रयोगमा नआएका सामग्रीहरुलाई विद्यालयले संग्राहलयको रुपमा संरक्षण गरेको हो ।

‘किताबी ज्ञान औपचारिक शिक्षा मात्रै हो, उनीहरुलाई व्यवहारिक ज्ञानबारे पनि जानकारी गराउनुपर्छ ।’ प्रध्यानाध्यापक डोरविक्रम श्रीसले भने, ‘त्यसैको प्रयासस्वरुप संग्राहलय स्थापना गरिएको हो ।’ संग्राहलयबाट विद्यार्थीहरुलाई नेपाली समाजको कला–संस्कृती, पुर्खाहरुले गरेको काम लगायतको बिषयमा जानकारी दिन खोजिएको श्रीसले बताए ।

सामग्री विभिन्न ठाउँबाट संकलन गरिएको छ । जसमा अधिकाशं सामग्री स्थानीय समुदायबाट संकलन गरिएको छ । संग्रालयबाट विद्यार्थीहरुलाई पुराना वस्तु र प्रविधिसँग पनि परिचित गराउने लक्ष्य राखिएको छ । संग्राहलय स्थापनाको लागि डोका, डाला लगायतका वस्तुहरु निःशुल्क रुपमा संकलन गरिएको र तामाका सामग्रीहरु खरिद गरेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा