गुल्मी ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाको छैठौँ राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी ज्ञानोदय माध्यमिक विद्यालयले हाँसिल गरेको छ । माघ १७ र १८ गते दुई दिनसम्म संचालन भएको प्रतियोगितामा गाउँपालिकाको वडा नम्बर ८ स्थित ज्ञानोदय माविले १८ स्वर्ण, सात रजत र पाँच कास्य गरी कुल ३० पदकसहित राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी जितेको हो । उसले कुल ३० पदक जितेको छ ।
प्रतियोगितामा १७ स्वर्ण, छ रजत र आठ कास्य गरी ३१ पदकसहित शान्तिपुरको उदय मावि द्धितिय, छ स्वर्ण, दुई रजत र ४ कास्य गरी १२ पदकसहित सराङ्गको शारदा मावि तृतिय एवं चार स्वर्ण, तीन रजत र तीन कास्य गरी कुल १० पदकसहित ग्वाघाको ग्वाघा मावि सान्तवना भएका छन् ।
रनिङ्ग शिल्डमा सबैभन्दा धेरै उदय माविले पदक जितेपनि स्वर्ण पदकको आधारमा ज्ञानोदय मावि विजय भएको गाउँपालिकाका सूचना अधिकारी शिव ज्ञवालीले जानकारी दिए ।
प्रतियोगितामा हर्राचौरको हर्राचौर माविले तीन स्वर्ण, तीन रजत तथा एक कास्य गरी सात पदक, ओलिवाङ्गको सरस्वती माविले दुई स्वर्ण, तीन रजत तथा एक कास्यसहित छ पदक, शान्तिपुरको चक्रेश्वर इङ्गिस बोर्डिङ्ग स्कूलले एक स्वर्ण, दुई रजत तथा पाचँ कास्यसहित आठ पदक जितेका छन् ।
त्यसैगरी रुपाकोटको शारदा माविले एक स्वर्ण, दुई रजत तथा दुई कास्य गरी पाँच पदक, मजुवाको पोलारिस इङ्लिस बोर्डिङ्ग स्कूलले एक स्वर्ण, दुई रजत तथा एक कास्य गरी चार पदक, अर्जेवाको शारदा माविले एक स्वर्ण र एक रजत गरी दुई, पिपलपाटाको जनता बालनिकेतन माविले एक स्वर्ण तथा हर्राचौरको भानु इङ्लिस बोर्डिङ्ग स्कूलले एक रजत र एक कास्य गरी दुई पदक जितेको सूचना अधिकारी ज्ञवालीले जानकारी दिए ।
प्रतियोगितामा पालिकाभित्रका १२ विद्यालयमा पाँच सय भन्दा बढी विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । रनिङ्ग शिल्डमा भलिबल, दौड, रिले दौड, हाइजम्प, लङजम्प, कराँते लगायतका खेलकुदका प्रतियोगिताहरु समावेश गरिएको थियो । कार्यक्रममा बोल्दै पालिका अध्यक्ष युवराज खत्रीले चन्द्रकोट गाउँपालिका सधै युवा खेलाडीहरुको पक्षमा रहेकोले विद्यालय स्तरबाटै खेलाडीहरु उत्पादन गर्नको लागि प्रतियोगिता आयोजना गरिएको बताए ।
त्यसैगरी प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्रीले नेपालमा व्यवसायिक खेलको माध्यमबाटै जिविकोपार्जन गर्न सकिन्छ भन्ने कुरा विभिन्न खेलहरुबाट पुष्टि भएको बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल, विभिन्न वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु, कर्मचारी, प्रध्यानाध्यापक एवं शिक्षकहरु, विद्यार्थी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।