गुल्मी ।
रेसुङ्गा माध्यमिक विद्यालय, तम्घास गुल्मीको ५६ औँ बार्षिकोत्सव समारोह तथा अभिभावक भेला सम्पन्न भएको छ । बार्षिकोत्सवको अवसरमा सोमबार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालयले ‘रेसुङ्गा ज्योती’ नामको किताब समेत प्रकाशन गरेको छ ।
बार्षिकोत्सवमा विद्यालयमा संचालन भएका विभिन्न खेलकुद प्रतियोगिताको पुरस्कार वितरण गरिएको थियो । त्यसैगरी विभिन्न अक्षयकोषका छात्रबृत्ती वितरण, उत्कृष्ट अभिभावक सम्मान, कक्षा १० र १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान लगायतका कार्यक्रम सम्पन्न गरिएको थियो । बार्षिकोत्सवकै अवसरमा विद्यार्थीहरुले पञ्जेबाजा बनाउनुका साथै भैरव नाँच समेत प्रदर्शन गरेका थिए ।
आज सरस्वती पुजाकै अवसर पारेर विद्यालयमा ४४ जना विद्यार्थीले अक्षरारम्भ समेत गरेका विद्यालयका प्रध्यानाध्यापक भागिरथ भण्डारीले जानकारी दिए । बार्षिकोत्सवमा विद्यालयमा सिभिल इन्जिनियरतर्फका विद्यार्थीहरुले पुल, हाइड्रोपावर, क्यालकुलेटरको सिस्टम, रिमोटबाट चल्ने सवारी साधन, विभिन्न व्याकरणका उपयोगी सामग्रीहरु पनि प्रदर्शन गरेका थिए ।
कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, उप–प्रमुख अमृतादेवी कुँवर, विभिन्न वडाका वडाध्यक्षहरु, अभिभावक, पत्रकार, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेर बहादुर कुँवरको अध्यक्षता एवं सहायक प्रध्यानाध्यापक राम बहादुर बस्नेतको संचालनमा सम्पन्न भएको थियो ।