गुल्मी ।
गुल्मी चेम्बर अफ कमर्शले वैशाख ५ गतेबाट दोस्रो गुल्मी महोत्सव गर्ने भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर ०८ स्थित जिल्ला कारागार कार्यालय नजिकै नुनथला भन्ने स्थानमा कृषि, पर्यटन तथा उद्योग महोत्सव गर्न थालिएको हो । महोत्सव सम्पन्न गर्नको लागि विभिन्न १६ वटा उप–समिति समेत गठन गरिएको छ ।
जिल्लामा रहेका विभिन्न कला, संस्कृतिको संरक्षण गर्दै स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको गुल्मी चेम्बर अफ कमर्शका उपाध्यक्ष विरेन्द्र भुसालले जानकारी दिए । महोत्सवमा स्थानीय व्यपारीलाई स्टलमा छूट हुनेछ ।
त्यसैगरी फेन्सी व्यवसायी संघलाई पाँचवटा स्टल निःशुल्क र २० वटा स्टल ८० प्रतिशत छूटमा उपलब्ध गराउने सहमती भएको उपाध्यक्ष भुसालले जानकारी दिए । महोत्सव यसभन्दा पहिले चैत २९ गतेदेखि संचालन गर्ने तयारी गरेपनि विभिन्न कारणले वैशाख ५ गतेदेखि गर्नुपरेको आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
महोत्सवमा विभिन्न संस्कृति र झाँकीसहित जिल्लाका स्थानीय खानालाई समेत प्रचार प्रसार गरिनेछ । संस्थाका सचिव सूर्य घिमिरेका अनुसार महोत्सवमा ३० करोडभन्दा बढीको कारोबार गर्ने लक्ष्य राखिएको भने डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
प्रति व्यक्ति सय रुपैँया प्रवेश शुल्क तोकिएकोमा विद्यार्थीको लागि ५० रुपँैयामै टिकट उपलब्ध हुनेछ । त्यसैगरी अपाङ्ग, ज्येष्ठ नागरिक र पाँच बर्षभन्दा मुनिका बालबालिकाको लागि महोत्सव अवलोकन गर्न शुल्क नलाग्ने आयोजकले जनाएको छ । महोत्सवमा दुईसयभन्दा बढी स्टलहरु रहनेछन् ।