गुल्मी – गुल्मीमा एकै परिवारले बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ अमरपुर निवासी कुलचन्द्र गौतम परिवारले स्वास्थ्य शिविर सम्पन्न गरेका हुन् । संयुक्त राष्ट्रसंघका पूर्व उप–महासचिव समेत रहेका गौतम परिवारले आफ्नो जन्मगाउँ अमरपुरस्थित ‘अमरपुर स्वास्थ्य चौकी’ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेका हुन् ।
बिहीबार र शुक्रबार संचालन गरिएको शिविरमा कुल सात सय ३५ जनाले सेवा लिएका छन् ।
जसमा पुरुष दुई सय ८३ र महिला चार सय ५२ जना रहेका छन् । शिविरमा ५८ पुरुष र ५५ महिला गरी कुल एक सय १३ जनाको पिसाबमा प्रोटिन देखिएको बरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर प्रकाश पौडेलले जानकारी दिनुभयो । त्यसैगरी प्रेसरका २३ र सुगरका ११ जना नयाँ बिरामी भेटिएको डा. पौडेलले जानकारी दिनुभयो ।
‘कतिपयलाई नयाँ औषधी चलाएका छौँ, कतिपयलाई फ्लोअपको लागि बोलाएका छौ ।’ डाक्टर पौडेलले भन्नुभयो, ‘शिविरको उपलब्धि भनेको एक सय १३ जना नयाँ बिरामी पहिचान गर्नु हो ।’ शिविरमा तीन सय भन्दा बढीको भिडियो एक्सरे गरिएको छ ।
शिविरमा नेपाल मेडिसिटी अस्पतालका बरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर ऋषि कुमार काफ्ले, प्रकाश पौडेल, अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा कार्यरत बरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर समिरचन्द्र गौतम, बरिष्ठ हाडजोनी विशेषज्ञ डा. अमृत पौडेल, लगायतको डाक्टरहरुको समुहले सेवा दिएको थियो ।
शिविरमा इस्मा गाउँपालिका वडा नम्बर ६ अमरपुर, वडा नम्बर ५ रजस्थल, वडा नम्बर १ हस्तिचौर, वडा नम्बर ४ दोहोली, धुर्कोट गाउँपालिका वडा नम्बर ५ वस्तु, मालिका गाउँपालिका वडा नम्बर ६ अर्जै, वडा नम्बर ७ घमिर लगायतका ठाउँका नागरिकले सेवा लिएको स्थानीय गीता भण्डारीले जानकारी दिनुभयो । शिविरमा मुख्यतया मृगौला परीक्षण गरिएको थियो । गाउँमै निःशुल्क औषधीसहितको शिविर संचालन भएपछि स्थानीय पनि खुसि भएका छन् ।
‘यही सेवा लिनको लागि बुटबल वा काठमाडांैसम्म जानुपथ्र्यो, अहिले गाउँमै सेवा पाउँदा खुसि लागेको छ ।’ मालिका गाउँपालिका–६ अर्जैबाट आउनुभएकी कोपिला अर्यालले भन्नुभयो, ‘शिविरको आयोजना गर्ने गौतम परिवारप्रति आभारी छौँ ।’ सोही ठाउँकै तुलसा अर्यालले पनि बुटबल जानुपर्ने सेवा गाउँमै पाइएकोमा खुसि व्यक्त गर्नुभयो । ‘गाउँमै सेवा पाउँदा समय र पैसा दुवैको बचत भएको छ ।’ उहाँले भन्नुभयो, ‘बचेको समयमा घरको काम पनि गर्न पाइएको छ ।’
कुलचन्द्रको गाउँ मोह
कुलचन्द्र गौतम संयुक्त राष्ट्र संघको उप–महासचिव हुँदा पनि गाउँमा विभिन्न समाजिक काम गर्नुहुन्थ्यो । पछि ०५३ सालमा आफ्नी आमाको नामबाट ‘हिमा गौतम स्मृती कोष’ को स्थापना गर्नुभयो । अहिले त्यसै संस्थामार्फत विभिन्न काम गर्दै आउनुभएको छ । बुवाको नामबाट अमपुरकै विद्यालयलाई ‘ओमप्रसाद गौतम मावि’ नामाकरण गर्नुभएको छ भने सोही विद्यालयमा छात्रबृत्ति कोष पनि स्थापना गर्नुभएको छ ।
त्यसैगरी अमरपुरको स्वास्थ्य चौकी बनाउनको लागि पाँच रोपनी जग्गा प्रदान, सभाहल निर्माण, हिमालय मावि लगायतका अन्य शैक्षिक संस्थाहरुमा पनि गौतम परिवारले सहयोग गरेको स्थानीय समाजसेवी हिरा एसीले जानकारी दिनुभयो । गौतम परिवारले स्मृती कोषकै नामबाट बर्षेनी अमरपुरमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दछ । पछिल्लो समय कोभिडयता उक्त शिविर रोकिएकोमा यो बर्षबाट पुन सुरु गरिएको छ ।
‘म जुन ठाउँमा पुगे, त्यो यहीँ गाउँकै कारण सम्भव भएको हो ।’ गौतमले भन्नुभयो, ‘म जुन ठाउँमा पुगेपनि गाउँलाई बिर्सेको छैन ।’ गौतमले आम नगारिकलाई थोरै भएपनि सेवा दिन पाउँदा खुसि लागेको प्रतिक्रिया दिनुभयो । इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले कुलचन्द्रले गाउँका लागि धेरै योगदान दिएको प्रतिक्रिया दिनुभयो । ‘उहाँबाट हामीले पनि सिकेका छौ ।’ अध्यक्ष खड्काले भन्नुभयो, ‘हामीले पनि नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै विभिन्न कार्यक्रम संचालन गरेका छौँ ।’