हुमाकान्त पोखरेल, गुल्मी । लाखे नेवार समुदायको प्रख्यात नाँच हो । परम्परादेखि नै नाँचिदैँ आएको यो नाच पछिल्लो समय युवा पुस्ताले सिक्न नसकेको गुनासो समेत बढेको छ । यसै अवस्थालाई मध्यनजर गर्दै गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा रहेको जनबोध माध्यमिक विद्यालयले विद्यालयमै लाखे नाँचको प्रतियोगिता गराएको छ ।
रुरुक्षेत्र गाउँपालिका बलेटक्सार, रिडी, टाहाटिम, बलिचौर, रानिबास लगायतका क्षेत्रमा दुई सयभन्दा बढी परिवार नेवार समुदायका छन् । लाखे उनीहरुको मुख्य नाँच भएको र उक्त समुदायका विद्यार्थीहरु जनबोध माध्यमिक विद्यालयमा अध्ययन गर्ने भएकोले विद्यालयमै नाँचको प्रतियोगिता गराइएको हो । विद्यार्थीहरुलाई लाखे, बाध्यबाधन, खिजाउने, घाँडे लगायतका भूमिकामा विभाजित गरिएको थियो ।
‘पहिले–पहिले चल्दै आएको सँस्कृति जोगाउन पाउदा खुसि लागेको छ ।’ विद्यार्थी हरी श्रेष्ठले भन्नुभयो । विद्यालयमै लाखे नाँच भएपछि स्थानीय पनि खुसि भएका छन् । युवा पुस्ताले लाखे नसिक्ने चिन्ता बढीरहेको बेला विद्यालयले नै प्रतियोगिता गराउँदा नाँच संरक्षणमा सहयोग पुगेको छ । ‘असाध्यै राम्रो लागेको छ, नयाँ पुस्ताले सिक्ने भए ।’ स्थानीय तिलकुमारी श्रेष्ठले भन्नुभयो, ‘स्थानीय पाठ्यक्रममा समेत समेटिएको छ ।’
नेवार समुदायको मौखिक परम्पराअनुसार काठमाडौं उपत्यकामा एक समय लक्षे नामको राक्षस बस्ने गर्दथ्यो । उक्त राक्षस उग्र र मानिसहरुप्रति आक्रमक थियो । उसले बस्तीका मानिसहरुलाई सताउने, खेतीबाली नष्ट गर्ने र बालबालिकाहरुलाई डराउन दिन्थ्यो । शहरका मानिसहरुले देवी–देवतासँग प्राथना गरेपछि देवीको शक्तिबाट लक्षेलाई बस्तीबाट भगाइयो । तर उसले माफी माग्दै कसैलाई हानी नपु¥याउने सर्तमा बर्षको एकपटक नाँच्ने अनुमति माग्यो ।
त्यसपछि लक्षे प्रत्येक बर्ष इन्द्रजात्रा र केही अन्य जात्रामा फर्केर नाँच्ने परम्पराबाट लाखे नाँचको सुरुवात भएको पाइन्छ । सोही विद्यालयका पूर्व प्रधानाध्यापक राम कुमार श्रेष्ठ विद्यार्थीहरुलाई आफ्नो सँस्कृति सिकाउने उदेश्यले लाखे नाँचको प्रतियोगिता गराइएको बताउउनुहुन्छ । ‘लाखे हाम्रो परम्परागत र मौलिक नाँच हो, विद्यालयबाटै सिकाउदा यो दीगो हुन्छ ।’ उहाँले भन्नुभयो, ‘अब अन्य विद्यालयमा पनि नचाउने बिषयमा छलफल गर्दैछौँ ।’
रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले आफुहरु कला–सँस्कृतिको संरक्षणमा लागेको भन्दै पालिकाभित्र रहेका सबै सँस्कृतिलाई संरक्षण गर्ने बताउनुभयो । साथै विद्यालय वा अन्य कुनै संघ संस्थालाई सहयोग आवश्यक परेमा पालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने पनि उहाँले बताउनुभयो ।














