गुल्मी ।
गुल्मीको चन्द्रकोट गाउँपालिका ४ मा संचालन भएको चक्रेश्वर मेलाको अवसरमा गाउँपालिकाले कृषि प्रदर्शनी गरेको छ । किसानको उत्पादनलाई प्रवद्र्धन गर्नको लागि मंसिर ३ र ४ गते कृषि प्रदर्शनी गरेको हो ।
पालिकाले मेलामा कृषि र पशुका दुईवटा स्टलमा उत्पादित सामग्री प्रदर्शन गरेको थियो । कृषितर्फ टमाटर, च्याउन, फर्सी, साग, अकबरे खुर्सानी, मेवा लगायतका उत्पादित सामग्री प्रदर्शनीमा राखिएको थियो भने पशुतर्फ माछा, बोका लगायतका उत्पादन राखिएको थियो ।
प्रदर्शनीमा १५ भन्दा बढी कृषकले आफ्नो उत्पादन राखेका थिए । पालिकाले उत्कृष्ट कृषकलाई पुरस्कृत समेत गरेको छ । कृषितर्फ टमाटर उत्पादन गर्ने चक्रेश्वर कृषि तथा पशुपंक्षी फर्मका संचालक उत्तम बहादुर खत्री प्रथम, सिताके च्याउ उत्पादन गर्ने नन्दा एकीकृत कृषि फर्मकी संचालक नन्दकला सुवेदी द्धितिय, गोलासहितको मौरीपालक गैरे कृषि तथा पशुपंक्षी फर्मका संचालक रामप्रसाद गैरे तृतिय तथा १३ केजीको फर्सि उत्पादन गर्ने यादव पुन र सिमि उत्पादन गर्ने टेक बहादुर केसी सान्त्वना भएको गाउँपालिकाका सूचना अधिकारी शिव प्रसाद ज्ञवालीले जानकारी दिए ।

प्रथम, द्धितिय, तृतिय र सान्तवना हुनेलाई क्रमश ः १५, १२, आठ र पाँच हजारले पुरस्कृत गरिएको छ । पशुतर्फ वडा नम्बर ४ स्थित थापा पशुफर्मका संचालक श्याम बहादुर थापा प्रथम भएका छन् । उनले एक सय एक केजीको जमुनापारी क्रस बोका प्रदर्शनी गरेका थिए ।
त्यसैगरी एउटै माछा पाँच किलोभन्दा बढी उत्पादन गर्ने सिएम पोल्ट्री एण्ड कृषि फर्मका शंकर बहादुर थापा द्धितिय एवं ७५ केजीको बोका उत्पादन गर्ने कुशल कृषि तथा पशुपंक्षी फर्मका संचालक अर्जुन प्रसाद भण्डारी तृतिय भएका छन् । उनीहरुलाई क्रमश ः १५, १२ र आठ हजारका दरले सम्मान गरिएको गाउँपालिकाका सूचना अधिकारी ज्ञवालीले जानकारी दिए ।

‘कृषि र पशुपालनबाट गाउँको समृद्धि खोज्ने हो, हामी त्यसैमा लागेका छौँ ।’ पालिका अध्यक्ष युवराज केसीले भने, ‘स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उदेश्यले प्रदर्शनी गरिएको हो ।’ चक्रेश्वर मन्दिर धार्मिक तथा ऐतिहासिक हिसाबले महत्वपूर्ण भएकोले कृषिलाई सोही मेलासँग जोड्दा फाइदा हुने बताए ।
अध्यक्ष केसीले मेलाको सान्दर्भिकतालाई थप टेवा पु¥याउनको लागि भजन प्रतियोगिताको समेत आयोजना गरिएको बताए ।














