हुमाकान्त पोखरेल
गुल्मी, २८ पौष ः धुर्कोट गाउँपालिकाले संचालन गरेको राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी इन्दिरा माध्यमिक विद्यालयले जितेको छ । पालिकाको वडा नम्बर ६ रजस्थलमा रहेको इन्दिरा माविले सात स्वर्ण, पाँच रजत र दुई कास्य गरी कुल १४ पदक हात पार्दै उपाधी जितेको हो ।
प्रतियोगितामा वडा नम्बर ५ वस्तुको हिमालय मावि दोस्रो तथा वडा नम्बर ७ वाग्लाको वाग्ला मावि तेस्रो भएको गाउँपालिकाले जानाएको छ । पौष २५, २६ र २७ गरी तीन दिनसम्म वडा नम्बर ४ जैसिथोकको कालापोखरा खेलमैदानमा आठौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दामोदर घिमिरेले जानकारी दिए ।

प्रतियोगितामा पालिकाभित्रका ११ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा एथलेटिक्सअन्तरगत सय मिटर, चार सय मिटर, रिले दौड, लङ जम्प, हाई जम्, सटफुट लगायतका प्रतियोगिता सम्पन्न भएका छन् । त्यसैगरी भलिबल, कबड्डी लगायतका प्रतियोगिता सम्पन्न भएका छन् ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले खेलले विद्यार्थीहरुको शारीरिक र मानसिक रुपमा सकारात्मक भूमिका खेल्ने बताए । त्यसैगरी उपाध्यक्ष सीत ागिरीले आगामी दिनमा पनि कार्यक्रमलाई थप व्यवस्थित रुपमा अगाडी बढाउने बताइन् ।














