गुल्मी ।
रेसुङ्गा नगरपालिका–२ स्थित रेसुङ्गा माध्यमिक विद्यालयले संचालन गरेको रेसुङ्गा ट्यालेन्ट हन्ट अन्तरगत सिजन टु २०८२ मा सुवानी श्रेष्ठ रेसुङ्गा डान्स स्टार बनेकी छिन् । बिहीबार विद्यालयमा सम्पन्न रेसुङ्गा डान्सिङ्ग स्टार फाइनलमा नौ जना प्रतियोगिलाई पछि पार्दै श्रेष्ठ डान्सिङ्ग स्टार बनेकी हुन् ।
प्रतियोगितामा लिजा बुढा मगर द्धितिय एवं अञ्जु घर्ती मगर तृतिय भएका छन् । नृत्य विधामा नयाँ प्रतिभाको खोजी गर्ने उदेश्यले रेसुङ्गा माविले गत बर्षदेखि रेसुङ्गा ट्यालेन्ट हन्ट कार्यक्रम संचालन गर्दै आएको छ । पहिलो पटक गत बर्ष करुणा केसी डान्सिङ्ग स्टार भएको विद्यालयका सहायक प्रधानाध्यापक रामबहादुर बस्नेतले जानकारी दिए ।
यस बर्षको डान्सिङ्ग स्टारका लागि पहिलो चरणमा ३८ जना विद्यार्थी सहभागि भएकोमा १९ जना दोस्रो चरणमा पुगेका थिए । दोस्रो चरणबाट १० जना तेस्रो चरणमा पुगेका थिए । बिहीबार १० जनाबीच प्रतिस्पर्धा गरिएको थियो । प्रतियोगितामा दिलभट्ट लोप्चा, बिनिता रोका मगर र सिर्जना सुवेदीले निर्णायकमण्डको भूमिका निर्वाह गरेका थिए ।
विद्यालयले शुक्रबार आफ्नो ५७ औँ बार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गर्दैछ । त्यसैको पूर्वसन्ध्यामा डान्सिङ्ग स्टारको फाइनल सम्पन्न गरिएको हो । विजेतालाई शुक्रबार सम्पन्न हुने बार्षिकोत्सवको दिन पुरस्कार प्रदान गरिने प्रधानाध्यापक भागिरथ भण्डारीले जानकारी दिए । कार्यक्रमकै अवसरमा विभिन्न खेलकुद कार्यक्रम तथा दोस्रो त्रैमासिक परीक्षाको पुरस्कार पनि प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेकी रेसुङ्गा नगरपालिकाकी उपप्रमुख अमृतादेवी कुँवरले नृत्य प्रतियोगिताले भविष्यमा राष्ट्रिय स्तरमा नृत्य गर्ने प्रतिभा तयार हुने बताइन् ।
कार्यक्रममा वडाध्यक्ष हिरा बहादुर थापा लगायत विभिन्न जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति एवं शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।














