गुल्मी । रेसुङ्गा नगरपालिका–२ स्थित रेसुङ्गा माध्यमिक विद्यालयको ५७ औँ बार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी रेसुङ्गा नगरपालिकाकी उपप्रमुख अमृतादेवी कुँवरले उद्घाटन गरिन् । कार्यक्रममा प्रधानाध्यापक भागिरथ भण्डारीले विद्यालयको एक बर्षको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी प्रमुख अतिथि कुँवरले विद्यालयको बार्षिक मुखपत्रको रुपमा ‘ज्योती’ नामक पुस्तक बिमोचन गरेकी थिइन् ।
कार्यक्रमको अवसरमा विभिन्न अक्षयकोषदाता, उत्कृष्ट कर्मचारी, एसइईमा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने शिक्षक, लामो समयसम्म अध्यापन गराउनुभएका शिक्षक, थप अतिविशिष्ट, विशिष्ट र आजिवन सदस्यहरुलाई सम्मान गरिएको छ ।
त्यसैगरी विद्यालयका पूर्व शिक्षक, खेलकुदका समग्री खरिद गर्न सहयोग गर्ने व्यक्तिहरु, विभिन्न विधामा सहयोग गर्ने दाताहरुअन्तरगत शुभलक्ष्मी फर्मा, अस्मिता बुक्स एण्ड स्टेशनरी सेन्टर, सिद्धार्थ बुक्स एण्ड स्टेशनरी सेन्टर, डान्सिङ्ग स्टार, मन्दिर बनाउन सहयोग गर्ने सुरेश श्रेष्ठ, डान्सिङ्ग स्टार सुवानी श्रेष्ठ लगायतलाई सम्मान गरिएको छ ।
त्यसैगरी विद्यालयमा निःशुल्क रुपमा सरस्वतीको मन्दिर निर्माण गरिदिने सुरेश श्रेष्ठ लगायत एसइईमा आफुले अध्यापन गर्ने बिषयमा ४ जिपिए विद्यार्थीलाई सम्बन्धित बिषय शिक्षकद्धारा सम्मान गरिएको छ । कार्यक्रमकै अवसरमा विभिन्न छात्रबृत्ति वितरण, विद्यार्थीहरुद्धारा नृत्य, शिक्षकहरुद्धारा स्वागत गीत, सिभिल इन्जिनियरिङ्ग अध्ययन गर्ने विद्यार्थीहरुद्धारा विज्ञानका सामग्रीहरु प्रदर्शनी लगायतका कार्यक्रम पनि गरिएको लेखापाल अनुज पन्थीले जानकारी दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरे, गुल्मीका प्रहरी उपरीक्षक नारायण अधिकारी, राष्ट्रिय अनुसन्धान कार्यालय, गुल्मीका प्रमुख अनुसन्धान अधिकृत अनुज शर्मा, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख थानेश्वर घिमिरे लगायत विभिन्न जनप्रतिनिधि एवं कर्मचारी, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, पत्रकार, समाजसेवी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम रेसुङ्गा नगरपालिका–२ का वडाध्यक्ष हिरा बहादुर थापाको अध्यक्षता, उपमेयर अमृतादेवी कुँवरको प्रमुख आतिथ्यता, शिक्षिका सरस्वती भण्डारीको स्वागत मन्तव्य तथा सहायक प्रधानाध्यापक राम बहादुर बस्नेतको संचालनमा सम्पन्न भएको थियो ।














