गुल्मी ।
गरिमा विकास बैंक लिमिटेड तम्घास शाखाले विद्यार्थीहरूलाई लक्षित गर्दै प्रभावकारी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। ग्लोबल मनी विक २०२६ को अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रम आदर्श विध्या आश्रम, तम्घासमा सम्पन्न भएको हो।
कार्यक्रममा कक्षा ८ मा अध्ययनरत २९ जना विद्यार्थीहरूलाई सहभागी गराई वित्तीय ज्ञान तथा व्यवहारिक सीप प्रदान गरिएको थियो। प्रशिक्षण कार्यक्रममा बैंकका तम्घास शाखा प्रमुख विष्णु केसी, अनिल मरासिनी लगायतका प्रशिक्षकहरूले सहजीकरण गरेका थिए।
कार्यक्रममा बैंकिङ सेवा, सेवा उपयोग गर्ने प्रक्रिया, बचतको महत्व तथा आर्थिक अनुशासन सम्बन्धी विषयमा विस्तृत जानकारी दिइएको थियो। साथै पछिल्लो समय बढ्दो डिजिटल ठगीका घटनालाई मध्यनजर गर्दै डिजिटल बैंकिङ प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे पनि सचेतना जगाइएको थियो।
सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभन देखाई पठाइएका लिंकहरू खोल्दा ह्याकरहरूको पहुँच पुग्ने जोखिम रहने भएकाले यस्ता गतिविधिबाट सचेत रहनुपर्नेमा जोड दिँदै शाखा प्रमुख केसीले सुरक्षित डिजिटल बैंकिङ अभ्यास गर्न आग्रह गरे।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल राजु कुँवर ले विद्यार्थीहरूका लागि यस्ता व्यवहारिक तथा ज्ञानमूलक कार्यक्रम अत्यन्त उपयोगी हुने उल्लेख गर्दै कार्यक्रम आयोजना गरेकोमा बैंकप्रति धन्यवाद व्यक्त गरे।
कार्यक्रमले विद्यार्थीहरूमा वित्तीय सचेतना अभिवृद्धि गर्नुका साथै सुरक्षित बैंकिङ अभ्यासतर्फ प्रेरित गर्ने विश्वास लिइएको छ।














