हुमाकान्त पोखरेल
गुल्मी, ०४ पौष । गुल्मीको कालिगण्डकी गाउँपालिका अध्यक्ष वेद बहादुर थापा मगरले जिल्ला प्रशासन कार्यालय, गुल्मीको स्क्यानर फुटाएका छन् । बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालय गुल्मीको राहदानी शाखाको स्क्यानर फुटाएको आरोपमा उनी पक्राउ समेत परेका छन् । थापाले स्क्यानर फुटाएपछि शुक्रबारको राहदानी सेवा समेत अवरुद्ध हुन सक्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।
स्क्यानरको मुल्यबारे भने प्रशासनले केही बताएको छैन । ‘स्क्यानरको मुल्यभन्दा पनि सेवा नै प्रभावित हुने भयो ।’ प्रजिअ गौतमले भने, ‘पालिका अध्यक्ष अभद्र व्यवहारमा प्रस्तुत हुनुभयो ।’ प्रशासनमा पहिला आउने व्यक्तिले टोकन लिने र उसैले पहिले सेवा लिने भन्ने प्रावधान रहेको छ ।
तर अध्यक्ष थापाले कालिगण्डकी भुगोलका हिसाबले टाढा रहेकोले आफ्नो पालिकाका नागरिकलाई विशेष व्यवस्था गर्न माग गरेकोमा त्यसो नभएकोले स्क्यानर फुटाएको बताए । ‘आफ्नो पालिकाका नागरिकको न्यायका लागि जहाँ पनि जान तयार छु ।’ थापाले भने । प्रजिअ गौतमले घटनाको बिषयमा गृह मन्त्रालयलाई जानकारी गराएको बताए । घटनाको बिषयमा थापाले माफी मागेको र स्क्यानरको क्षतिपूर्ति पनि दिने सहमति भएपछि प्रहरीले उनलाई छोड्ने तयारी गरेको प्रजिअ गौतमले बताए ।