गुल्मी ।
गुल्मीको धुर्कोट गाउँपालिका–५ स्थित धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा आगामी चैत ५ गते हुने स्ववियु निर्वाचन स्थगित भएको छ । मंगलबार उम्मेदवारी दर्ताको क्रममा मनोनयन गरिएका फाइलहरु क्याम्पसको निर्वाचन डेक्सबाट अनाधिकृत ढंगले जफत भएपछि क्याम्पस प्रशासनले सुरक्षा चुनौती देखाउदैँ निर्वाचन स्थगित गरेको हो ।
क्याम्पस प्रमुख ऋषिराम पाण्डेद्धारा जारी गरिएको सूचनामा निर्वाचन कार्यक्रम संचालन गर्न असहज भएको भन्दै निर्वाचन समितिबाट सामुहीक राजिनामा दिइएकोले निर्वाचनका सबै कार्यक्रम स्थगित गरिएको उल्लेख गरिएको छ ।
यसैबीच माओवादी केन्द्रनिकट विद्यार्थीहरुको संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति गुल्मीले क्याम्पसमा घटेको घटनाप्रति आपत्ति जनाएको छ ।
मंगलबार नै संगठनका जिल्ला अध्यक्ष किसान पाण्डेद्धारा हस्ताक्षरित एक विज्ञप्तीमा ‘लुम्बिनी प्रदेशका कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीका स्वकिय सचिव समेत रहेका एमाले गुल्मीका सदस्य, युवा संघका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज कपुर घिमिरेको समुहले क्याम्पसमा भएका फाइल बलजफ्ति गरेर झिक्नु खेदजनक छ ।’ भनिएको छ ।
संगठनले यस्ता गतिविधिले जिल्लाभरको निर्वाचनको माहोल बिग्रने भएकोले सम्बन्धित निकायलाई निर्वाचनमा सहयोग गर्न पनि अपिल गरेको छ ।