हाम्रो जिवन प्लसको समन्वय बैठक तथा सामाजिक लेखापरीक्षण सम्पन्न

गुल्मी ।
हाम्रो जिवन प्लस गुल्मीले स्थानीय स्रोत परिचालनका लागि सरोकारवालाहरुको समन्वय बैठक तथा सामाजिक लेखापरीक्षणको प्रस्तुतीकरण सम्पन्न गरेको छ । शुक्रबार सदरमुकाम तम्घासमा सम्पन्न कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक पुष्पा गौतमले संस्थाले गरेका कामहरुको बारेमा जानकारी गराएकी थिइन् ।

उनले आफुहरु फिल्ड जाँदाको अवस्था, एच्आइभी एड्स संक्रमितको वर्तमान अवस्था, औषधी वितरणको अवस्था लगायतका बिषयमा जानकारी दिइन् । सामाजिक परीक्षक हुमाकान्त पोखरेलले गत आर्थिक बर्ष २०८०÷८१ को सामाजिक परीक्षणको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको परिचय, गत आर्थिक बर्षको संस्थाको वित्तीय अवस्था, संक्रमितहरुको अवस्था, संस्थाले गत आर्थिक बर्षमा गरेका मुख्य कामहरु लगायतको बारेमा जानकारी गराएका थिए ।

संक्रमितहरुलाई समाजमा हेयको दृष्टिले हेरिने गरेको, समाजमा एच्आइभी एड्सबारे गलत बुझाई रहेको, संक्रमितहरुलाई आय–आर्जनमुलक सीपको आवश्यकता रहेको, समाजमा एड्ससम्बन्धि जनचेतनामुलक कार्यक्रम आवश्यक रहेको जस्ता बिषय सामाजिक परीक्षक पोखरेलले राखेका थिए ।

त्यसैगरी संस्थाले समुदायकेन्द्रित कार्यक्रमलाई जोड दिनुपर्ने, संस्थाले गरिरहेको काम दाताको भर नपरेर पालिकाले स्वामित्व लिनुपर्ने, संस्थाको आर्थिक पक्ष थप अब्बल बनाउनुपर्ने, प्रति सेवाग्राही सेवा मूल्य बढाउनुपर्ने, संक्रमित बालबालिकाहरुलाई निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका सुझाव पनि पोखरेलले दिएका छन् ।

संस्थाले गत आर्थिक बर्षमा सामुदायिक हेरचाह केन्द्रबाट दुई सय ७३ जना, लक्षित समुहलाई आवासीय पोषण दुई सय ७२, उपचारका लागि प्रेषण १२ जना, लक्षित समुहलाई एआर टि चारजना, लक्षित समुहलाई मनोसामाजिक परामर्श सेवा दुई सय ६०, लक्षित समुहलाई सिएच्बिसीद्धारा नौ सय ७८ जनालाई सेवा दिएको छ ।

त्यसैगरी एक सय सात जनालाई कण्डम वितरण, एक सय चार जनालाई घरमै पुगेर मनोसामाजिक परामर्श दिइएको, दुई सय ३८ जनालाई अवसरवादी संक्रमण उपचारका लागि प्रेषण गरिएको, एक सय ६४ जनालाई भाइरल लोड काउन्टका लागि प्रेषण गरिएको, नौ जनालाई आकस्मिक उपचारका लागि सहयोग गरिएको, छ जनालाई अवसरवादी संक्रमण उपचारका लागि सहयोग गरिएको छ ।

त्यस्तै ५३ जनालाई टिभी उपचारका लागि सहयोग गरिएको, दुई पटक जिल्ला स्तरीय सरोकारवालाहरुसँग समन्वय बैठक गरिएको, एक सय ८१ जनालाई निशुल्क स्वास्थ्य बीमा गरिएको, एक सय ७४ जनाको सिएल्टि परीक्षण गरिएको तथा १८ बर्षमुनीका २६ बालबालिकालाई सामाजिक सुरक्षा सहयोग प्रदान गरिएको छ ।

गत आर्थिक बर्षमा हाम्रो जिवन प्लस गुल्मीबाट ५३ लाख तीन हजार चार सय ३७ रुपैँया ७९ पैसाको कारोबार भएको छ । जसमा आम्दानीतर्फ राष्ट्रिय एच्आइभी एड्स महासंघबाट ४४ लाख ३० हजार छ सय ८७ रुपैँया ७९ पैसा, एच्आइभी संक्रमित महिलाहरुको राष्ट्रिय महासंघबाट दुई लाख १६ हजार छ सय ५० एवं गुल्मीका विभिन्न सात पालिकाबाट छ लाख ८५ हजार प्राप्त भएको छ ।

पालिकामध्येबाट रेसुङ्गाबाट ५० हजार, गुल्मीदरबारबाट ८५ हजार, सत्यवतीबाट एक लाख ५० हजार तथा रुरुक्षेत्र, चन्द्रकोट, मदाने र मालिकाले एक÷एक लाख प्रदान गरेका छन् ।

खर्चतर्फ पालिकाबाट आएको रकम सम्बन्धित पालिकाका सेवाग्राहीलाई यातायात खर्चस्वरुप उपलब्ध गराइएको, कर्मचारीको तलब भत्तामा २३ लाख १९ हजार एक सय ९६ रुपैँया ५१ पैसा, घरभाडा, विद्युत, पानी, संचय कोष लगायतका शिर्षकमा १० लाख ८७ हजार एक सय दुई रुपैँया सात पैसा, विभिन्न तालिम तथा बैठक खर्चमा ७६ हजार सात सय ५०, एकल महिला, औषधी लगायतका शिर्षकमा पाँच लाख ९९ हजार दुई सय तथा पोषण लगायतका विविध शिर्षकमा ११ लाख ९२ हजार ३९ रुपैँया ७७ पैसा खर्च भएको छ ।

कार्यक्रममा जिल्लामा एड्स संक्रमितको अवस्थाबारे पनि छलफल भएको थियो । जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्रीले सबै मिलेर जनचेतनाका कार्यक्रम संचालन गरेमा आगामी दिनमा एचआइभी एड्स न्यूनिकरण हुने धारणा राखे । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले संस्थाले गरेको काम प्रशसंनीय भएको भन्दै सेवा प्रभावकारी बनाउनको लागि पालिकाको सहयोग आवश्यक रहेको बताए ।

संस्थाकी अध्यक्ष जुना ज्ञवालीले जिल्लाको इस्मा र कालिगण्डकी गाउँपालिका बाहेक अन्य पालिकाले संक्रमितहरुलाई औषधी लिन तम्घाससम्मको यातायात खर्च उपलब्ध गराउने गरेको जानकारी दिइन् । उनले पहिले नागरिकलाई बचाउन सके मात्रै सरकारले बनाएका सडक र भौतिक संरचना प्रयोग हुने भएकोले संक्रमितको पक्षमा बजेट बिनियोजन गर्न आग्रह गरिन् ।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, पत्रकार, संस्थाका पदाधिकारी तथा कर्मचारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाकी सिएच्बिसी परिचालक रञ्जना घर्तीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा