गुल्मी, ३० असार ।
गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर १ नयाँगाउँ र वडा नम्बर ४ जैसिथोकका सबै घरमा खानेपानी पुगेको छ । जैसिथोकका ६१० र नयाँगाउँका ८७७ घरमा स्वच्छ पिउनेपानीको धारा पुगेपछि गाउँपालिकाले दुवै वडालाई ‘एक घर–एक धारा’ युक्त वडा घोषणा गरेको छ । २६ गते मंगलबार जैसिथोक र शुक्रबार नयाँगाउँलाई ‘एक घर–एक धारा’ युक्त वडा घोषणा गरिएको हो । जैसिथोकमा खानेपानीको लागि हालसम्म तीन करोडभन्दा बढी रकमबाट १० वटाभन्दा बढी आयोजना संचालन भएका छन् । आयोजनामध्ये चारवटा लिफ्टिङ र अन्य ग्राभेटी छन् । नयाँगाउँमा दुईवटा लिफ्टिङ र २० वटा ग्राभेटी गरी २२ वटा आयोजनामा संचालनमा रहेको गाउँपालिकाका वास संयोजक छविलाल विश्वकर्माले जानकारी दिए ।
पानी लिनकै लागि अधिकाशं समय खर्चेका स्थानीय घरमै पानी आएपछि भने हर्षित भएका छन् । ‘पानीकै लागि बिहान सबेरै उठेर पधेँरोमा जानुपर्ने अवस्थाको अन्त्य भएको छ, यसले समयको पनि बचत भएको छ ।’ होल्बाङ्ग बाङ्ग्रा तथा जैसिथोक खानेपानी योजनाका अध्यक्ष एवम् उपभोक्ता गोपाल कुँवरले भने, ‘अहिले स्थानीयको दैनिकी फेरिएको छ ।’ घर–घरमै खानेपानी पुगेसँगै विद्यार्थीहरु समयमै विद्यालय जान पाएको, पानीकै लागि घण्टौ धाउनुपर्ने अवस्थाको अन्त्य भएको, घरमा थोरै भएपनि तरकारी लगाउन पाएको जस्ता सुविधा पाएको कुँवरले बताए । गाउँपालिकाले अबको दुई बर्षभित्र पालिकाका सबै घरमा खानेपानीको धारा पु¥याउने लक्ष्य लिएको छ । अध्यक्ष भुपाल पोखरेलका अनुसार अन्य वडामा पनि विभिन्न आयोजनाहरु निर्माणाधिन रहेका छन् भने वडा नम्बर ६ रजस्थल आगामी बर्ष नै ‘एक घर–एक धारा’ युक्त वडा घोषणा हुनेछ ।