गुल्मी ।
गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर १ मा सुविधासम्पन्न स्वास्थ्य चौकीको भवन बन्ने भएको छ । दिब्रुङ्गको सराङ्गमा बन्ने स्वास्थ्य चौकीको गाउँपालिका अध्यक्ष युवराज केसीले शिलन्यास गरे । पुरानो भवनबाट दिब्रुङ्ग स्वास्थ्य चौकीले सेवा दिइरहेको थियो । अब नयाँ भवन बनेसँगै सेवा प्रवाहमा सहज हुने वडाध्यक्ष घनश्याम खरेलले बताए ।
गाउँपालिकाका प्रवक्तासमेत रहेका उनले नागरिकको स्वास्थ्य अधिकारलाई ध्यानमा राखेर स्वस्थ्यचौकीको सुविधासम्पन्न नयाँ भवन बनाउने कार्य अगाडी बढाएको बताए । गाउँपालिकाका इन्जिनियर शिव बस्नेतका अनुसार गत बैशाख २१ गते भवन बनाउने सम्झौता भएकोमा ०८३ भदौ २१ गतेसम्म भवन निर्माण सम्पन्न गरिसक्नुपर्ने छ ।
भवनको कुल लागत भ्याटसहित एक करोड ६४ लाख ८२ हजार पाँच सय आठ रुपैँया ९१ पैसा रहेको छ । शिलन्यास कार्यक्रममा बोल्दै पालिका अध्यक्ष युवराज केसीले कम्पनीले तोकिएको समयमै काम सम्पन्न गर्नेमा आफु विश्वस्त रहेको बताए । ल्याब सेवा र बर्थिङ्ग सेन्टर समेत संचालनमा रहेको स्वास्थ्य चौकीमा कुल आठजना कर्मचारी छन् ।
भवन शिलन्यास कार्यक्रममा पालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिृकत बुद्ध प्रकाश पौडेल, स्वास्थ्य शाखा प्रमुख प्रकाश चन्द्र शर्मा, समाजसेवी, बुद्धिजिवी, विभिन्न जनप्रतिनिधि लगायतको उपस्थिति रहेको पालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले जानकारी दिए ।