बासुदेव पोखरेल, गुल्मी — गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ६ धुरकोटस्थलका किसानलाई बाँदरको हैरानी कम गर्न गाउँपालिकाले पहिलो चरणमा ७ वटा भोटे कुकुरका छाउरा वितरण गरेको छ।
ढोरपाटनबाट ल्याइएका ती कुकुरहरु बाँदर धपाउनमा प्रभावकारी हुने विश्वासका साथ किसानलाई वितरण गरिएको हो। कृषकले लगाएको बाली बाँदरले नष्ट गर्दै आएको गुनासो बढ्दै गएपछि गाउँपालिकाले यसतर्फ विशेष पहल थालेको हो।
गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिँदै भन्नुभयो, “बाँदरका कारण किसानले निकै ठूलो क्षति भोग्नुपरेको छ। उनीहरूको पीडा कम गर्न गाउँपालिकाले भोटे कुकुर वितरण सुरु गरेको हो। पहिलो चरणमा ७ वटा वितरण गरिएको छ, अन्य वडामा पनि आवश्यकता अनुसार क्रमशः वितरण गर्दै जाने योजना छ।”
स्थानीय किसानहरू यस पहलप्रति खुसी भएका छन्। उनीहरूको विश्वास छ कि अब बाँदर आतंक केही हदसम्म कम हुनेछ र बाली संरक्षण गर्न सहयोग पुग्नेछ।