spot_imgspot_img

नेविसंघसँगको तालमेलबाट गुल्मीमा अनेरास्ववियुलाई घाटा

गुल्मी ।
चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि गुल्मीमा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)का विरुद्ध एमाले निकट अनेरास्ववियु र काँग्रेस निकट नेविसंघले गठबन्धन गरेका थिए । तालमेलअनुसार जिल्लामा रहेका ११ मध्ये छ नेविसंघ र पाँच क्याम्पसको नेतृत्व अनेरास्ववियुले लिने सहमति भएको थियो । तर यो तालमेलबाट अनेरास्ववियुले अपेक्षित उपलब्धि हाँसिल गर्न नसक्दा चार क्याम्पसमा घाटा व्यहोरेको छ ।

अघिल्लो पटक पाँच क्याम्पसमा नेतृत्व पाएको अनेरास्ववियु यसपटक भने दुई क्याम्पसमा खुम्चिएको छ । विगतका स्ववियुमा गुल्मीका अधिकाशं क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)बीच तालमेल हुने गरेको थियो । तर यो निर्वाचनमा एमाले मुल नेतृत्वले अनेरास्ववियु (क्रान्तिकारी)सँग तालमेल गर्न नमान्दा अनेरास्ववियुले घाटा व्यहोरेको हो ।

तालमेलबाट नेविसंघले पाँच क्याम्पसमा सर्वसम्मत नेतृत्व पाएको छ । नेविसंघले नेतृत्व पाएको सत्यवती बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले स्वतन्त्र रुपमा नेतृत्व चयन गरेपनि नेविसंघले आफ्नो नेतृत्व रहेको दाबी गरेको छ । समग्रमा अनेरास्ववियुसँगको तालमेलबाट नेपाल विद्यार्थी संघलाई भने फाइदा भएको छ । नेविसंघले रुद्रावती बहुमुखी क्याम्पसमा पनि सर्वसम्मत सचिव पाएको छ ।

मुख्य क्याम्पसमा अनेरास्ववियुलाई घाटा
जिल्लाको सबैभन्दा ठुलो रेसुङ्गा बहुमुखी क्याम्पसको स्ववियु अध्यक्ष नेविसंघलाई दिएको अनेरास्ववियुले धुर्कोट परमानन्द भण्डारी, रुद्रावती बहुमुखी र श्रृङ्गेश्वर बहुमुखी क्याम्पस लिएको थियो । तर तीनमध्ये धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा एमाले कार्यक्रता कपुर घिमिरेले स्वतन्त्र उम्मेदवार विष्णु घिमिरेको मनोनयनको फाइल क्याम्पस प्रशासन भित्रैबाट लगेकोले निर्वाचन प्रक्रिया अगाडी बढ्न सकेन ।

मंगलबार सम्पन्न निर्वाचनमा श्रृङ्गेश्वर बहुमखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाट उम्मेदवार बनेका अनेरास्ववियुका नेत्र प्रसाद ज्ञवाली अनेरास्ववियु (क्रान्तिकारी)को एकल प्यानलसँग पराजित भए । क्याम्पसमा खसेको कुल १०६ मतमध्ये क्रान्तिकारीका विशाल थापा ६५ मत ल्याउदैँ विजयी भए भने अनेरास्ववियुका ज्ञवालीले ४१ मत प्राप्त गरे । श्रृङ्गेश्वरमा विगत दुईवटा निर्वाचनमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) निर्वाचनमा भिडेपनि क्रान्तिकारीले जित निकालेको छ ।

विद्यार्थी संख्याको हिसाबले महत्वपूर्ण मानिएको रुद्रावती बहुमुखी क्याम्पसमा मतदान चलिरहेकै समयमा निर्वाचन प्रक्रिया स्थगित भयो । अनेरास्ववियुकी लक्ष्मी पुनद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा विद्यार्थीहरुले अरुको पनि परिचय पत्र राखेको भनी आरोप लगाइएको र पछि सर्वदलिय छलफलबाट समेत निष्कर्ष आउन नसकेपछि स्थगित गर्नुपरेको निर्वाचन अधिकृत लिलाधर आचार्यले बताए ।

क्याम्पसमा जनमोर्चा निकट अखिल (छैठौँ), अनेरास्ववियु (क्रान्तिकारी) र समाजवादी विद्यार्थी संगठनबाट अखिल (छैठौँ)का कर्ण नेपाली तथा अनेरास्ववियु र नेविसंघबाट अनेरास्ववियुका लक्ष्मी पुन अध्यक्षका उम्मेदवार थिए । अनेरास्ववियुका जिल्ला अध्यक्ष किसन पाण्डेले दुई ठुला संगठन मिल्दा पनि जित्न नसकिने भएपछि अनेरास्ववियुले चुनाव हुन नदिने बाहाना गरेको आरोप लगाए ।

अनेरास्ववियुले गत बर्ष जितेको सत्यवती क्याम्पसमा यो बर्ष स्वतन्त्र रुपमा स्ववियु गठन भयो भने मानका टिकाराम बहुमुखी क्याम्पसमा निर्वाचन नै भएन । अनेरास्ववियुले आफ्नो कोटामा परेको रिडी बहुमुखी क्याम्पस र दिगाम आदर्श बहुमुखी क्याम्पसमा भने जित निकालेको छ ।

रिडी क्याम्पसमा संयुक्त प्यानलबाट उम्मेदवार बनेका धन बहादुर कुमालले क्रान्तिकारीको प्यानललाई हराउदैँ स्ववियु अध्यक्ष जिते भने दिगाममा सर्वसम्मत नेतृत्व चयन भएको हो । गत निर्वानमा चारवटा क्याम्पस जितेको अलिख (क्रान्तिकारी) यो बर्ष एउटा क्याम्पसमा खुम्चिएको छ भने गत निर्वाचनमा दुईवटा मात्रै क्याम्पस जितेको नेविसंघ यो पटक जिल्लामा पहिलो संगठन बनेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा