spot_imgspot_img

‘एक घर एक धारा’ले दैनिकी सहज

हुमाकान्त पोखरेल
गुल्मी, ३० जेठ । गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तु हर्रेका ४८ बर्षिय गाजली सुनारलाई पहिले–पहिले एक गाग्रो पानी ल्याउन घण्टौ धाउनुपथ्र्यो । पानी ल्याउनकै लागि उनी सोरपानी, दारेगौडा लगायतका स्थानमा पुग्ने गर्थिन । जाँदा बित्तिकै पालो पाइए कम्तिमा आधादेखि एक घण्टा समय खर्चनुपथ्र्यो । तर अहिले घरमै खानेपानीको धारा आएको छ । जसले गर्दा गाजलीको दैनिकी फेरिएको छ । ‘बिहानभरी पानीकै लागि समय खर्चनुपथ्र्यो, समय धेरै, पानी कम हुन्थ्यो ।’ उनले भनिन्, ‘अहिले घरमै पानीआउदा निकै सहज भएको छ ।’ गत वैशाख १ गतेदेखि उनको घरमाबिहान ६ बजेदेखि ९ बजेसम्म दैनिक तीन घण्टा नियमित पानी आइरहेको छ ।

वस्तुकै मखमली सुनारलाई पनि अहिले पानीकै लागि समय खर्चनुपर्ने बाध्यता छैन । घरमै पानी आएपछि पिउनको साथै खाना पकाउन, भाडा माँझ्न, नुहाउन, कपडा धुन, गाइबाख्रालाई दिन एवम् तरकारी लगाउन समेत सहज भएको सुनारको भनाई छ । ‘खोलाको पानी घरमा आउला भन्ने लागेको पनि थिएन ।’ उनले भनिन्, ‘पानी आएसँगै आधाभन्दा धेरै काम घटेको छ ।’

घरमा पानीआएसँगै घर गृहणी मात्र होइन्, विद्यार्थीहरुलाई पनि सहज भएको छ । पानीकै लागि घण्टौ समय खर्चिएका विद्यार्थीले अहिले नियमित पढ्न पाएका छन् । ‘पानी लिन जाँदा समयमा विद्यालय पुग्न सकिएको थिएन, राम्रोसँग पढ्न पनि पाइएको थिएन ।’ हिमालय माविमा कक्षा ६ मा पढ्ने छात्रा निशा विकले भनिन्, ‘अहिले पढाइमा धेरै राहत मिलेकोे छ ।’ घरमै पानीआएसँगै अहिले विद्यालय पोशाख समेत घरमै धुन पाएको विकको भनाई छ ।

वस्तुमा‘वस्तु लिफ्टिङ खानेपानीआयोजना (चिलिखोला, बिसानैना, पात्ला, हर्रे) सम्पन्नभएसँगै १०८ घरमा खानेपानीको धारा पुगेको छ । ‘विद्यार्थी समयमै विद्यालय पुगेका छन्, गृहणीको समय बचत भएको छ ।’ खानेपानी योजनाका उपभोक्ता समिति सह–सचिव चुरामणी घर्तीले भने, ‘घरमै पानीको धारा पुगेसँगै स्थानीयको दैनिकी फेरिएको छ ।’ उक्त योजना सम्पन्न गर्नको लागि धुर्कोट गाउँपालिकाको आठ लाख, प्रदेश तथा संघबाट ८६ लाख ४९ हजार ६२४ र उपभोक्ताको सात लाख नौ हजार गरी जम्मा एक करोड एक लाख ५९ हजार ३२४ खर्च भएको गाउँपालिकाकावास संयोजक छविलाल विश्वकर्माले जानकारी दिए । अहिले वस्तुमा मात्रै ५३३ घरमा खानेपानीको धारा पुगेको छ ।

गाउँपालिकाले आगामी दुई बर्षभित्र सबै घरमा खानेपानीको धारा पुर्‍याउने गरी विभिन्न आयोजना संचालन गरेको छ । ‘अहिलेसम्म पालिकाभरीका तीन हजार ६५० घरमा पानीको धारा पुगेको छ, दुईवटा ठुला आयोजना निर्माणधिन छन् ।’ गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले भने, ‘आगामी दुई बर्षभित्र सबै घरमा पानीको धारा पुर्‍याउने लक्ष्य छ ।’ उनले संघबाट बजेट घटेर आउँदा भने काममा समस्या आउन सक्ने बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा